केपी ओलीलाई चढाइयो ‘प्लेटलेट्स’, यस्तो छ कारण

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, मंसिर १३, २०७६

नेपाटप

काठमाडौं – एपेन्डिक्सको शल्यक्रियापछि तीनयता मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीवार ‘प्लेटलेट्स’ चढाइएको छ ।

अस्पतालले प्लेटलेट्स चढाएकोबारे आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूले शल्यक्रिया र डायलसिसका कारण ओलीलाई प्लेटलेट्स चढाउनुपरेको जनाएका छन् ।

नेपाल लाइफ

प्लेटलेट्स रगतमा रहने कोषिका हो, जसले घाउँ वा चोटपटक लाग्दा रगतलाई बग्नबाट रोक्ने गर्दछ र क्षतिग्रस्त तन्तुलाई ठीक पार्न सघाउँछ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बिहीवार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको जनाएका छन् । एपेन्डिसाइटिससँगै पेरिटोनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि गत मंगलवार ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । संक्रमण नियन्त्रणमा राख्न हाल ‘बोर्ड स्प्रेक्टम एन्टिबायोटिक (विभिन्न संक्रमणमा प्रभावकारी हुने औषधि) प्रयोग गरिएको छ । सेकेन्डरी इन्फेक्सन (थप संक्रमण) को जोखिम कायमै रहेकाले उच्च चिकित्सकीय सतर्कता अपनाइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रधानमन्त्री ओलीलाई असहज नहोस् भनेर बेला–बेलामा अक्सिजन समेत दिइराखिएको छ । ‘उनलाई हाल अलिअलि तरल आहार मात्र दिइएको छ । ठोस आहारा दिन अझै समय लाग्ने छ,’ उपचारमा संलग्न चिकित्सकले भने, ‘बिहीवार चिकित्साकर्मीको सहयोगमा बेडबाट ह्वीलचियरमा राखेर आईसीयूमै केही समय मोबिलाइज (घुमाइएको) थियो । शल्यक्रियापछि पेटमा सिलाएको ताजा घाउमा दबाब पर्दा फुट्न सक्ने भएकाले सावधानी अपनाएर ह्वीलचियरमा राखिएको हो ।’

चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई डायलसिसको आवश्यकता पहिलेभन्दा बढेको छ । २४ घण्टामा १०० देखि १५० मिलिलिटर पिसाब भइरहेको उल्लेख गर्दै उनले भने, ‘डायलसिसको आवश्यकता अब झन् बढ्छ ।’

प्रधानमन्त्रीलाई मंगलवार र बुधवार आईसीयूमै कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी (अत्यन्त कमजोर बिरामीहरूलाई गरिने विशेष प्रकारको डायलसिस) गरिएको थियो । चिकित्सकहरूका अनुसार बिहीवार राति वा शुक्रवार पुनः डायलसिस गरिने छ ।