यी मन्त्रीहरु डेन्जर जोनमा ? यस्तो छ नालीबेली

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार २५, २०७६

नेपाटप

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर विभिन्न प्रश्नहरू उठ्ने गरेका छन् । यही कारणले मन्त्रिपरिषद् मा प्रतिनिधित्व गर्ने मन्त्रीहरू हेरफेर हुने चर्चासमेत बेलाबेला चल्ने गरेको छ ।

यदि साँच्चै मन्त्रिपरिषद् हेरफेर हुने स्थिति आएमा पूर्वमाओवादी केन्द्रबाट को–को मन्त्री हेरफेर होलान् ? निश्चय नै यो जिज्ञासाको विषय हुन सक्छ । स्रोतको भनाइमा मन्त्रिपरिषद् हेरफेर हुने अवस्थामा विवादमा परेका र कार्यसम्पादनमा कमजोर कडी ठानिएका चार जना मन्त्रीहरू परिवर्तनको सूचीमा अग्रपंक्तिमा रहेको प्रचण्ड निकट स्रोतको दावी छ ।

नेपाल लाइफ

– बिना मगर :  मन्त्रिपरिषद् मा प्रतिनिधित्व गर्ने पूर्वमाओवादीका मन्त्रीहरूमा खानेपानी मन्त्री बिना मगर कामको मूल्याङ्कनमा कमजोर कडीको रूपमा चर्चित रहेकी छिन् । उनीमाथि मन्त्रालयमा कार्यसम्पादनमा कमजोर रहेको, अनुभवहीन, समन्वयकारी भूमिकाको अभाव, व्यक्तिगत स्वार्थ र कमिसनमा लिप्त रहेको आरोप छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’की बुहारी भए पनि प्रचण्डले चाहँदैमा पनि बिनाले मन्त्री पदमा निरन्तरता पाउन नसक्ने र पाएमा प्रचण्डकै व्यक्तित्वमाथि प्रश्न र प्रतिष्ठामा आँच पुग्न सक्ने चिन्ता ब्यक्त गरिएको छ ।

मन्त्री पदबाट बिनालाई हटाउनै पर्ने पारिवारिक, पार्टी र बाह्य दुवै खालको दबाब प्रचण्डले व्यहोरिरहेका छन् । पार्टी कार्यकर्ता र जनताको तहसम्मै बिनाको मन्त्री पदको कार्यशैलीलाई लिएर चर्को आलोचना भइरहेको छ । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने बिनालाई प्रतिस्थापन गर्न मन्त्रीको सम्भावित सूचीमा सोही प्रदेशका नेकपाका नेता लेखराज भट्टको नाम चर्चामा छ ।

– शक्तिबहादुर बस्नेत :  वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री बस्नेतको पनि निर्णय क्षमता र कार्यसम्पादन कमजोर कडी नै रहेको मानिन्छ । मन्त्रालयको व्यवस्थापन कार्यलाई छिटोछरितो र चुस्त–दुरुस्त राख्न र प्रभावकारीरूपमा नेतृत्व गर्न नसकेको आरोप उनीमाथि छ । परिवर्तित अवस्थामा मन्त्रालयलाई संस्थागत सुशासन र चुस्त व्यवस्थापनको नेतृत्व दिनुको साटो उनले मन्त्रालयका पदाधिकारीहरूलाई सरकारी भ्रमण निर्देशिकाविपरीत विदेश भ्रमण गराउन प्रोत्साहित गरिरहेका छन् ।

उनीमाथि छिटोछरितो रूपमा नीतिगत निर्णय गर्न नसक्ने र कम प्राथमिकताका कामलाई महत्यो दिने गरेको आरोप छ । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्री बस्नेतलाई हेरफेर गर्ने निर्णय भएमा उनलाई प्रतिस्थापन गर्न सोही प्रदेशका नेकपाका नेता जनार्दन शर्मा कस्सिएर बसेका छन् ।

– चक्रपाणि खनाल :  कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री खनाल समग्र कार्यसम्पादनमा त कमजोर नै छन् । त्यसका साथै प्रधानमन्त्री कृषि कार्यक्रमबाट अपेक्षित परिणाम हासिल गर्न असफल भएको, कृषि अनुदान वितरणमा विवादरहित हुन नसकेको, कृषिका लागि सरकारले अघि सारेका प्राथमिकता र अपेक्षा अनुसारको योजना कार्यान्वयन गर्न नसकेको आरोप छ । ५ नं. प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्री खनाललाई हेरफेर गर्ने निर्णय भएमा उनलाई प्रतिस्थापन गर्न डा। बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टी परित्याग गरी बाग्लुङबाट चुनाव जितेका नेकपाका नेता देवेन्द्र पौडेल तयारी अवस्थामा बसेका छन् ।

-मात्रिकाप्रसाद यादव : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव पनि आफ्नो कार्यशैली र कार्यसम्पादनमा कमजोर भएका कारण विवादित हुँदै आएका छन् । सरकारले गरेको अपेक्षा अनुसारको उपलब्धि हासिल गर्न चुकेको उनीमाथि आरोप छ । तर पार्टी अध्यक्ष प्रचण्डलाई खुसी बनाउन भने उनी माहिर ठहरिंदै आएका छन् । मन्त्रिपरिषद् मा भएका निर्णयहरू प्रचण्डकहाँ पुर्याउन उनी हरदम कस्सिएकै हुन्छन् । प्रचण्डलाई हरेक सूचना सुनाउन उनी सशरीर खुमलटार जाने गरेका छन् ।

सायद उनले मन्त्रालयको विभागीय जिम्मेवारभन्दा शक्ति–अभ्यासलाई रुचिको विषय बनाउँदै तोकिएको जिम्मेवारीलाई कम पो आँकेका हुन् कि ? उनको कार्यशैलीले यो प्रश्नको जवाफ भने अवश्य नै खोज्छ । मन्त्रिपरिषद् मा प्रदेश– २ बाट प्रतिनिधित्व गर्ने मन्त्री यादवलाई हेरफेर गर्ने निर्णय भएमा उनलाई प्रतिस्थापन गर्न सोही प्रदेशका नेकपाका नेता प्रभु साह र प्रदेश एकका अमनलाल मोदी सम्भावित मन्त्रीको चर्चामा छन् ।

( २०७६ असार २३ गतेको साँघु साप्ताहिकबाट साभार )