‘पाहुना प्रेमी’ मन्त्रीज्यू, कोरोनाको त्रास फैलिँदा किन यति गैरजिम्मेवार ?

– एकनारायण पौडेल प्रकाशित : मङ्लबार, चैत्र ४, २०७६

नेपाटप

कहिलेकाहीँ असहज परिस्थितिलाई सहज र सही तरिकाले नियन्त्रण, व्यवस्थापन र परिणाममुखी बनाउने हो भने त्यही असहज परिस्थिति नै सफलताको हतियार बन्न पुग्छ ।

कोरोनाको संक्रमणको नियन्त्रण र व्यवस्थापन नै २ वर्षसम्म जनतामा उभार भएको सरकारको आलोचना र अलोकप्रियतालाई मत्थर गर्ने योभन्दा अर्को कुनै अवसर र मौका नहुन सक्छ ।

नेपाल लाइफ

कोरोनाको सन्त्रासले भयभीत जनतालाई विश्वास दिलाउँदै आवश्यक नियगमन र अनावश्यक तडकभडक निषेध गर्ने, सम्भावित संक्रमणलाई ध्यान दिँदै संक्रमित व्यक्तिको उपचारार्थ अस्पतालहरू आवश्यक तयारीमा राख्ने र हवाई उडान, डान्सबार, दोहोरी साँझ, महोत्सव, सम्मेलन, राजनैतिक भेटघाट, सम्मेलन, उद्योग, कलकारखाना, विद्यालय तथा कलेज, फिल्म हल, ठूला शपिङ मल, ब्रतबन्ध, भोजभतेर, पिकनिक जस्ता कार्यहरू केही समयको लागि निषेध गरौं ।

अप्ठ्यारो परिस्थितिमा हुँदा पनि कालोबजारी र जनता चुस्ने केही व्यापारिक घराना र स्थानमा हस्तक्षेप गरेर कारबाही गर्ने हो भने सरकारको आलोचना र विरोध धेरै हदसम्म मत्थर हुनेछ ।

विश्वभर कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा अन्य देशका प्रमुख वा मातहतका मन्त्रीहरू नागरिकलाई सचेत बनाउँदै उच्च सतर्कता अपनाइरहेका छन् । कतिपय स्थान र संक्रमणको अवस्था हेरेर विद्यालय, बैंक, कम्पनी, हवाई उडान, फिल्म हल तथा शहर ‘लकडाउन’सम्म गरिरहेका छन् ।

संक्रमणको सबैभन्दा जोखिम माध्यम विमानस्थलमा चेकजाँच कडाइ गरेका छन् । विभिन्न स्प्रे, थर्मल चेक तथा अटो स्क्यान इन्डिकेटर सहितको आधुनिक चेकजाँच शुरूवात गरिसकेका छन् । विभिन्न रेस्टुरेन्ट, बैंक, सुपरमार्केट र कम्पनीमा काम गर्ने कमदारलाई मास्क, ग्लोभ तथा सेनिटाइजर, डिस्पेन्सरहरू समेत व्यवस्थापन गर्न निर्देशन समेत दिएका छन् तर हाम्रो देशका स्वास्थ्यमन्त्री जस्तो महत्त्वपूर्ण र जिम्मेवार व्यक्तिले राष्ट्रिय मिडियाको सरकारी तयारी र सूचनालाई नागरिकसमक्ष पुर्‍याउन गरेको आग्रहलाई लत्याउँदै ‘पाहुना प्रेमी’ बन्छन् ।

हो, हामी पाहुनाको अतिआदर, सत्कार गर्छौं । तर जिम्मेवार मन्त्रीले आम जनताको अपेक्षालाई उपहास गर्न मिल्छ ? आम जनतामा सरकारी तयारी र व्यवस्थापनको सही सूचना दिँदा नकारात्मक असर गर्छ र ?

हामीलाई हाम्रो क्षमता, दक्षता, जनशक्ति र अर्थतन्त्र के कस्तो अवस्थामा छ थाहा छ । स्वार्थी, पापी र दुष्टहरूको मनोवृत्ति पनि थाहा छ । रेमिट्यान्सले टेको लगाएको अर्थतन्त्रलाई करको डोरीले जेलेको पनि थाहा छ । सय, पचास, हजार, लाख, करोडबाट मात्रै सहमति होइन, अर्ब र खर्बबाट सहमति हुन थाल्यो भन्ने पनि थाहा छ ।

हामी नेपाली असाध्यै भाग्यमानी हौं भन्ने थाहा छ । आफ्नै देशको सुन छोडेर लसुन किन्न खाडी धाएका छौं भन्ने पनि थाहा छ । हामी अलि भावनामा बहकिन्छौं भन्ने पनि थाहा छ र त धुर्मुस–सुन्तलीका हरेक हिम्मत र आँटलाई देशविदेशबाट फत्ते गरिदिन्छौं । स्वेता खड्काको साहसिक प्रयासलाई मर्न दिँदैनौं भने रवि लामिछानेको कदमलाई हातेमालो गर्छौं । हो, हामीलाई थाहा छ हामी गरीब पक्कै छौं तर मनका मनकारी छौं । हामीलाई देशमा काठमाडौं, पोखरा, धरान, विराटनगर, हेटौंडा, नारायणगढ, इटहरी, बुटवल र भैरहवा जस्ता शहर र तुलनात्मक सम्पन्न जनताहरूको बसोबास स्थल हो भन्ने पनि थाहा छ । सँगसँगै देशमा कालिकोट, रोल्पा, रुकुम, डोल्पा, मुगु जस्ता पिछडिएको अर्को भूभाग पनि छ भन्ने कुरा राज्यका शासकहरूलाई थाहा नभएपनि हामी जनतालाई थाहा छ ।

हामीलाई चिन्ता हाम्रो मात्रै होइन, सरकार ती दूरदराजका चिथोरिएका जनताको हो । पिछडिएका जनताहरूको हो । क्षमता हुने र ऋणपान गर्न सक्नेले सरकारको मुख अवश्य पनि ताक्ने छैन । आफ्नै खर्चमा उपचार गराउनेछ । ऋण धन गरेर पनि जनता उपचार गर्न बाध्य हुनेछ ।

कालिकोट, जुम्ला, मुगु, डोल्पा, रोल्पाका कतिपय ग्रामीण भेगका जनताहरू शिक्षा, चेतना र आर्थिक अवस्थाले गर्दा सामान्य ज्वरोले थलिएर मृत्युलाई स्वीकार्न बाध्य छन् भने कथमंकदाचित यो संक्रमण यी दूरदराजका ग्रामीण भेगबाट देखिए कति भयावह होला ? इटलीको भयाबह अवस्थाले के हामीलाई जगाउँदैन ? के हामीलाई सताउँदैन ? सरकारी स्तरमा हुने लापरबाही, गैरजिम्मेवार र अदूरदर्शिताले निम्त्याएको भयाबहको तस्बिर इरान र इटलीझै हाम्रोमा पनि नहोला भन्न सकिन्न ।

परिस्थिति नियन्त्रण बाहिर हुनु अगावै आम जनताको सहयोगी भूमिका पनि त्यति नै महत्त्वपूर्ण छ । हामी जनता पनि त्यतिकै सजग, संयमित, सहयोगी र जिम्मेवार नहुने हो भने सरकारले जति नै तयारी गरेपनि परिस्थिति नियन्त्रण बाहिर जानेछ ।

(लेखक चितवनका वासिन्दा हुन् ।)