चीनको कोमिन्ताङ्गजस्तै नेपाली कांग्रेस लोप हुने हर्कत किन गरिँदैछ ?

दिलीप बाबु शिवा प्रकाशित : बिहिबार, पुस १७, २०७६

नेपाटप

चीनको पुरातन शासकीय व्यवस्थाविरुद्ध आधुनिक एकीकरणको विचार बोकेर ‘राष्ट्रियता, प्रजातन्त्र र समाजवाद’को मूलमन्त्रसहित चीनमा प्रजातन्त्र र राष्ट्रिय एकताको अभियान ‘सन यात सेन’ले चलाए ।

उनको पार्टी कोमिन्ताङ्गले चीनलाई आजको चीन बनाउन ठूलो योगदान गर्‍यो । कोमिन्ताङ्गमा उनको नेतृत्व रहुञ्जेल उनले चिनियाँ समाजमा प्रजातन्त्रको व्यावहारिक अभ्यास गर्ने प्रयास गरिरहे ।

नेपाल लाइफ

हजारौं वर्ष चलेको जहानिया शासनलाई परास्त गरेर चीनलाई गणतान्त्रिक राज्य बनाउन सफल भए । जब आमजनमानसको मन मुटुमा बसिसकेको कोमिन्ताङ्ग पार्टीभित्र ‘फुटाउ र राज गर’को बाटो अँगाल्ने र लोभीपापीले बिस्तारै कब्जा जमाउन थाले । उनका विश्वास पात्रहरूले उनलाई धोका दिएर आफू–आफू विभाजित हुने खेलहरू सुरू भए ।

सन यात सेनले राष्ट्रिय आवश्यकताका बेला ठूला त्याग गरे । सिद्धान्त नमिल्ने कम्युनिस्टसँग पनि सहकार्य गरे । प्रवासमा शरणार्थी भएर समेत क्रान्तिको तयारी गरे । उनको मृत्युपछि कोमिन्ताङ्ग उनले परिकल्पना गरेको जस्तो रहेन ।

भ्रष्टाचारले त्यसलाई गाज्दै गयो । गृहयुद्धमा जापानी सेनासँगको लडाइँमा पटक–पटकको हारले विक्षिप्त बन्यो । जनतामाझ रहेको लोकप्रियता बिस्तारै स्खलित हुँदै गयो । अन्ततः कुनै बेला पहाडी र विकट ईलाकामा सीमित बनेका कम्युनिस्टले जनताको आवश्यकतामा राजनीति गरे ।

कम्युनिस्टहरू प्रोपोगान्डा गर्न सिपालु थिए । जनतालाई जमिन बाँड्ने, एकात्मक राज्य दिने, पैसा सम्पत्ति बाँड्ने जस्ता नारा लिएर जनमानसमा लोकप्रिय बने । वैदेशिक हस्तक्षेपले विक्षिप्त बनेको नेसनलिस्ट आर्मी (कोमिन्ताङ्गका सेना) लाई परास्त मात्रै गरेनन्, सिङ्गो चीनमा कब्जा गरेर चिनियाँ क्रान्तिमा गौरवशाली ईतिहास बोकेको कोमिन्ताङ्ग पार्टीलाई चीनबाट लखेटेर ताईवान राज्यमा विस्थापित गराए ।

मुसाको आकारमा उदाएको कम्युनिस्ट पार्टी हात्तिको आकार लिएर सत्तामा स्थापित भयो । आज सिंगो चीनमा कम्युनिस्टको कब्जा छ र कोमिन्ताङ्ग कमजोर प्रतिपक्षको भूमिकामा छ ।

कोमिन्ताङ्गको अभियान विभिन्न आरोह–अवरोहहरूबाट जुध्दै अस्ताउँदै सेलाउँदै गयो । सबैभन्दा ठूलो कारण त पार्टीका नेता कार्यकर्ताले गुमाएको छवि नै हो ।

प्रजातन्त्रको सपना बोकेकाहरूलाई भित्तामा पुर्‍याएर अधिनायकवादी शासकहरूको हावी विशाल साम्राज्यमा हुनु दूर्भाग्यपूर्ण थियो । मोओत्सेतुङलाई नेपाल लगायत अविकसित र पछौटेपनले गाजेको देशका कम्युनिस्टहरूले भगवानको दर्जा दिने गर्छन् । लामो मार्चपासबाट ज्यान जोगाएर भाग्नुपरेका चिनियाँ कम्युनिस्टका लागि माओ भगवान नै हो तर सत्तामा स्थापित भएपश्चात माओ तानाशाही शासक भएर उदाए ।

साम्यवादको अभ्यासमा लाखौं–करोडौं निर्दोष मारिएका छन् । त्यसको हिसाव खोज्ने फुर्सद चिनियाँ जनतासँग छैन । तथ्यांकगत हिसाबले चीन ठूलो र समुन्नत राष्ट्रमा गनिएपनि जनता बहुत दुःखी छन् । चीन छोडेर पलायन भएका आमनागरिक सम्भव भएसम्म आफ्नो देश फर्किन चाहँदैनन् । कारण त्यहाँको शासकीय व्यवस्था र जनतामाथि संस्थागतरुपमा राज्यद्वारा भएको अत्याचार नै हो ।

कोमिन्ताङ्ग पार्टी सानो आकार र भूगोलमा सीमित भएपनि आफूलाई चिनियाँ क्रान्तिको अग्रणी नेतृत्वकर्ता भएको दावी गर्छ । तर आजको युगमा ईतिहासको रटानले मात्रै जनमत बटुलिँदैन । जनताप्रति उत्तरदायी, स्पष्ट नीति र नेताहरूको छवि स्वच्छ नभएसम्म जनताले कुनै अमुक व्यक्तिलाई नेता मान्दैनन् । जमाना महत्वाकांक्षी छ, हिजो के गरेको थिए भन्दा पनि भोलि के गर्दैछु भन्ने कुराले राजनीतिमा ठूलो अर्थ र भूमिका राख्छ ।

कोमिन्ताङ्गको इतिहाससँग नेपाली कांग्रेसको तुलना

नेपालको राजनैतिक र सामाजिक क्रान्तिमा नेपाली कांग्रेसको योगदान अतुलनीय छ । जहानिया शासकहरूको जंजीरबाट देश र जनतालाई स्वाधीन बनाउन नेपाली कांग्रेसका योद्धाहरूले ठूलो त्याग र बलिदानी गरेको कुरा लेखिरहनु र बताइरहनु पर्दैन ।

प्रजातन्त्रबाट गणतन्त्रसम्मको सफल अवतरणमा यात्राको जस लिन खोज्ने र आफूलाई महानायक भन्न पछि नपर्ने खलनायकहरूले हजारौं प्रोपोगाण्डा र झुट बाँडेर कांग्रेसलाई जनताको नजरमा गिराउन सफल भएका छन् । हामीले हिजोबाट आजसम्म निरन्तर संघर्ष गरेको, विभिन्न कठिन परिस्थिति र प्रहारबाट देशलाई जोगाएको भन्न सकेनौं ।

ईतिहास मसीले कागजमा लेखिने दस्तावेज होइन । ईतिहास योगदानले जनताको मन–मुटु र मस्तिष्कमा लेखिन्छ । जब जनताले गरेको अपेक्षा घट्दै जान्छ स्वर्णिम भनिएको ईतिहासको पाटो पनि बिस्तारै धमिलिँदै जान्छ ।
जुन ठाउँबाट कोमिन्ताङ्गको ईतिहास र योगदान धमिलिन सुरू गरेको थियो । आज त्यही मोडमा कांग्रेस गुज्रिँदैछ ।

ईतिहासकै कमजोर आकारमा कांग्रेस पुगिसक्दा समेत हामी आफू–आफू भित्रको लडाइँ सकिएको छैन । बरु झन् असरल्ल र उदाङ्ग भएको छ । हरेकलाई मसिहा बनेर पार्टीभित्र व्यक्तिगत आधिपत्य जमाउनुछ । विधि र विधान नामको चिज फगत कागजको टुक्रा बनेको छ । जनतामा कांग्रेसप्रति बढेको निशासा र अविश्वासलाई चिर्ने सामूहिक प्रयासमा हामी एक डेग चलेका छैनौं र यस्तो नाजुक परिस्थितिमा समेत एकले अर्काको अस्तित्वलाई मिचेर अथवा कुल्चिएर व्यक्ति बन्ने सानो खेलमा रुमल्लिरहेका छौं ।

सिद्धान्त र योगदानका हिसाबले नेपालका कुनै दलसँग नेपाली कांग्रेसको तुलना हुँदैन भन्नुपर्दा कांग्रेसबाहेक अरु राजनीतिक अभ्यास गर्ने दल नै छैनन् । बस गिरोहहरू छन् । जुन बाहिरी एजेन्डा र स्वार्थपूर्तिका लागि शर्तमा बाँधिएर नेपाललाई प्रयोगशाला बनाएर काम गरिरहेका छन् । बीपी, सुवर्ण, गणेशमान र किशुनजी जस्ता महापुरूषहरूको पसिना र रगतको जगमा बनेको पार्टी आज ‘बिचरा !’ भनिदिनुपर्ने अवस्थामा आइपुग्दा समेत हामी निहीत स्वार्थमा रुमल्लिन्छौं र जनतामाझ आफ्ना योगदान र एजेन्डा बताउन सक्दैनौं । एक हुनैपर्ने परिस्थितिमा पनि एक हुन सक्दैनौं भने हामीलाई नियाल्ने जनताले हामीलाई कोमिन्ताङ्ग जस्तो कहिल्यै नउठ्ने गरी नलडाउलान् भन्ने के आधार छ हामीसँग ?

लोकतन्त्रमा नेतृत्व सधै अस्थायी हुन्छ । जनमत जता कोल्टिन्छ, नेतृत्व समयावधि अनुसार त्यतै फर्किन्छ । वर्तमान परिप्रेक्षमा हिजो मुसाको आकारमा रहेका कम्युनिस्ट आज बिरालोको आकारमा आएका छन् र बिरालोकै व्यवहार पनि दोहोर्‍याइ–तेहेर्‍याई गरिरहेका छन् । राज्य ढुकुटीको ब्रह्मलुट, संस्थागत भ्रष्टाचार, अपराध र अपराधीको संरक्षण, सुशासनमा असफलता, अर्बाै–खर्बाै घोटाला, असफल न्यायिक प्रणाली, महंगी, अभाव र अलौकिक सपनालाई ढाकछोप गर्ने, एकमाथि अर्को झुट, दैवत्वकरणमा राज्यकोषको दोहन जस्ता असंख्य कमजोरीहरू विपक्षीले बार–बार गरिरहँदा समेत हाम्रो ध्यान त्यही कमजोरीमा प्रहार गरेर जनतामा भएको वितृष्णालाई नविन आशामा परिणत गर्दै कांग्रेसलाई पुनः हराभरा र जवान बनाउनुको सट्टा अमुक व्यक्ति र पात्र केन्द्रित हुनु दुर्भाग्यपूर्ण कदम हो । यसले हामीलाई थप ठूलो क्षतितर्फ डोर्‍याउन सक्छ र जसको भरपाई गर्न एउटा सिंगो पुस्ताले बहूमुल्य समय खर्च बलिदानीमा बिताउनुपर्ने हुनसक्छ ।

समाज र पर्यावरणलाई हेरेर क्षतिहरूको अनुमान र न्यूनीकरण गर्न सक्नु मानव प्रजातिको विशेषता हो ।

कोपिन्ताङ्गलाई बिम्ब मानेर हामीले पाठ सिकेनौं र आपसी लडाइँमा फुट्दै, टुक्रिँदै गयौं भने हामी पनि कोपिन्ताङ्ग बन्दैनौं भन्ने ग्यारेन्टी कसैले लिन सक्दैन ।

यो बेला सानातिना असमझदारीलाई बिर्सेर, सानोतिनो लोभलालच त्यागेर सबैले आ–आफ्नो क्षेत्रबाट कांग्रेसलाई पुनःस्थापनका निम्ति बलिदान, त्याग र कसरत गर्ने अत्यन्तै संवेदनशील बेला हो । कांग्रेस भन्न गर्ब गर्नेहरूलाई समेत शरमबोध गराएर हामी आगामी चुनावमा कुन मुख लिएर जनतामाझ जाने ?

यो विषयमा केन्द्रदेखि मैदानसम्मका कांग्रेसजनले गहन र गम्भीर भएर सोच्नुपर्छ । पार्टीलाई परिवार बनाएर र संगठनका साथीहरूबीच भातृत्व बढाएर हामी अघि बढेनौं भने भोलि हाम्रो भविष्य र सिंगो देशको भविष्य धरापमा पर्नेछ ।

हाम्रोसामु देश र परिवेश बदल्नुपर्ने विशाल चुनौतीहरू छन् । जसको सामना गर्न हामी आफू बदलिनुपर्ने नितान्त जरुरत छ । कांग्रेस देश र माटोको आवश्यकता हो, व्यावहारिक राष्ट्रवादको पहरेदार हो । लोकतान्त्रिक संस्कारको उल्लंघन गरेर अराजक तरिकाले आफूलाई स्थापित गर्छु भनेर कसैले उत्कण्ठा पाल्नुभएको छ भने आजैबाट आफूलाई सुधार्नुस् ।

हामी फेरि मौलाएर, गाँजिएर आउने वा अझै झरेर ठुटो मात्रै हुने तपाई हाम्रै व्यवहार अनुसार जनताले निर्धारण गर्ने हो । कांग्रेसका विविध संगठन र शुभेच्छुक भातृ संस्थाका नौजवान र उदयमान नेताहरूले जोशमा होस गुमाएर विपक्षीले ताली पिट्ने माहोल बनाइदिनुअघि कोमिन्ताङ्गलाई सम्झने गर्नुहोस् ।

कोमिन्ताङ्गका बारेमा धेरै खोजतलास गर्नुहोस् । कांग्रेसलाई भीरतिर जानबाट रोक्नुहोस् । अन्यथा हामीसँग रामराम भनेर तालु समाउनुबाहेक केही विकल्प बाँकी रहने छैन ।