काठमाडौं- पुस १० गते तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले अब भाषणलाई भन्दा कामलाई प्राथमिकता दिने बताएका थिए । त्यसपछि पनि उनले पटकपटक जनताको सेवामा काम गर्ने भन्दै सानातिना विषयमा नअलमलिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।
गत पुसमा चितवनको एक कार्यक्रममा उनले अब काम गर्छु भाषण गर्दिन भनेका थिए । तर त्यसपछि उनी दिनहुँ औपचारिक कार्यक्रममा सहभागी भइरहेका छन् । पुस्तक विमोचनदेखि औपचारिक कार्यक्रमको आतिथ्य ग्रहण उनका लागि नियमित जस्तै छ । जहाँ उनले काम गर्छु भन्ने रटान लगाउन छाडेका छैनन् ।
निर्माण व्यवसायीको सम्मेलन उद्घाटनदेखि विद्यालय स्तरका कार्यक्रममासमेत प्रचण्ड सहभागी भइरहेका छन् । वैदेशिक रोजगार व्यवसायी संघदेखि आयुर्वेद कंग्रेसको कार्यक्रम उद्घाटनसम्म पुगेका छन् । यस्तै झिनामसिना कार्यक्रममा अलमलिँदा उनले आफूले भने जसरी काम गर्न सकेका छैनन् ।
राजनीतिक रुपमासमेत अप्ठ्यारो परिस्थितमा रहेका दाहालको ध्यान जनजीविकाका विषयसँगै जोडिनुपर्ने थियो । तर आवश्यकताभन्दा बढी औपचारिक कार्यक्रममा बिताएको उनकै दलका नेताहरू स्विकार्छन् । प्रचण्डलाई तीन महिनाभित्रै दुई दुईपटक विश्वासको मत लिनुपर्ने अवस्था आयो । दोस्रो पटक विश्वासको मत पाएको साता दिन बितिसक्दा पनि उनले मन्त्रिपरिषद् विस्तारसम्म गर्न सकेका छैनन् । न त सदनलाई पर्याप्त काम नै दिन सकेका छन् । बू उनी प्रधानमन्त्री कम, गृहमन्त्री बढी देखिएका छन् ।
यसबीचमा उनी गृहमन्त्री बनेर मन्त्रालयकै काममा धेरै अल्झिए । अर्थ मन्त्रालय नगए पनि विभिन्न मन्त्रालयका योजनामा छुट्याएका बजेट आफूखुसी रकमान्तर गरिरहेका छन् । बुढीगण्डकी आयोजनालाई छुट्याएको बजेट प्रचण्डले आफ्नी छोरी मेयर भएको भरतपुर महानगरपालिका र सुनकोसी मरिन डाइभर्सन परियोजनामा लगेका छन् ।
कांग्रेस, एमालेलगायतका दल सरकारमा सहभागी नभएको मौका छोपी राजनीतिक नियुक्ति, कर्मचारीको सरुवा, बढुवा, राज्यका विभिन्न निकायमा आफ्ना मान्छे सेटिङमै प्रचण्डको ध्यान गएको छ । जसकारण कांग्रेस अहिले प्रचण्डसँग रुष्ट बनेको स्रोतले बतायो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।