काठमाडौं - सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद दीपक मनांग अर्थात् राजीव गुरुङविरुद्धको ज्यान मार्ने उद्योगको मुद्दाको फाइल झिकाउने आदेश दिएपछि गुन्डा नाइकेहरू थर्कमान भएका छन् ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको बुधबारको इजलासले मनांगेको फैसलाको मिसिल माग गरेको हो ।
मनांगेविरुद्ध गुन्डा नाइके चक्रे मिलनको ज्यान लिने उद्देश्यले खुँडा प्रहार गर्दा घाइते भएपछि प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा लगाएको थियो ।
महाराजगन्जस्थित चुफाङ रेस्टुराँमा डिनर खाँदै गरेको अवस्थामा २०६१ वैशाख ३१ गते मिलन गुरुङ (चक्रे मिलन) माथि खुँडा प्रहार गरी देब्रे हात काटिदिएको भन्दै गुरुङ पत्नी इन्दिराको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङेसहितका प्रतिवादीविरुद्ध ‘ज्यान मार्ने उद्योग’ मुद्दा चलाएको थियो ।
मुद्दाको पुर्पक्षका लागि थुनामै रहेका मनाङे दुई वर्ष जेल सजाय हुनेगरी जिल्ला अदालतबाट भएको फैसलाअनुरूप कैद भुक्तान गरी २०६३ चैत १८ चैत गते थुनामुक्त भएका थिए ।
ज्यान मार्ने उद्योग मुद्दामा मनांगेसँगै मुछिएका काठमाडौं नक्सालका रेवत कार्की, सोही स्थानका रमेश सुनुवार, काभ्रे खहरे पागुका गणेश लामा र चितवन कविलासका उमेश लामाले भने जिल्ला तहदेखि नै सफाइ पाएका थिए । सर्वोच्चले त्यतिबेलाको फैसलाको मिसिल पनि बुझाउन आदेश दिएको छ ।
मनाङ प्रदेशसभाबाट निर्विरोध निर्वाचित भएका मनांगेविरुद्ध अदालतबाट तोकिएको कैद सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै उनी सांसदको उम्मेदवार बन्न अयोग्य रहेको रिट निवेदन परेको थियो ।
संवैधानिक इजलासले मनांगेविरुद्धको ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पाटनबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा कुनै निवेदन वा पुनरावेदन परेको÷नपरेको सम्बन्धी मिसिल अवलोकनार्थ साथै राखेर पेस गर्न पनि आदेश गरेको छ ।
जिल्ला अदालतबाट भएको फैसलाबमोजिम गुरुङले सजाय पूरा गरे पनि पाटन पुनरावेदन अदालतले सजायको अवधि बढाएर पाँच वर्ष पुर्याएको र त्यो भोग्न बाँकी रहेको रिट निवेदकको दाबी छ ।
यदि त्यसबेलाको सजाय पूरा गर्न बाँकी भएमा उनी जेल चलान हुनेछन् । ज्यान मुद्दा ठहर भएमा मनांगेको सांसद पद खारेज हुनेछ । उनी अहिले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।