काठमाडौं - नेपालको राजनीति तरल बनिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी ओलीबीच दुई घन्टा लामो भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न ओली सोमबार साँझ ७ बजे शीतल निवास पुगेका थिए । उनीहरूबीचको कुराकानी राति सवा ९ बजेसम्म लम्बिएको थियो । राष्ट्रपति भण्डारीसँग कुराकानीपछि ओली सोझै बालकोट फर्किएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई बोलाएर राष्ट्रपतिको निर्वाचनको मितिबारे जानकारी लिएका थिए । थपलियाले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गराउन सकिने जानकारी गराएका थिए ।
त्यो जानकारी पाएलगत्तै ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेको विश्लेषण गरिएको छ । भण्डारीलाई तेस्रोपटक राष्ट्रपतिमा उठ्न संविधानले नै वञ्चित गरेको छ । त्यसैले अहिले कसलाई राष्ट्रपति बनाउने भन्ने विषयामा भण्डारी र ओलीबीच गम्भीर परामर्श भएको शीतल निवास स्रोतले बताएको छ ।
नयाँ सत्तागठबन्धनअनुसार राष्ट्रपति एमालेको भागमा परेको छ । एमालेबाट चार–पाँचजनाको नाम राष्ट्रपतिका लागि चर्चामा आएको छ । ती नाममध्ये केही राष्ट्रपति भण्डारी र केही ओली निकट पनि छन् ।
एमालेले जसलाई राष्ट्रपतिको उम्मेदवार बनाए पनि त्यसमा भण्डारी निकट नै हुने एमाले नेताहरु बताउँछन् । स्रोतका अनुसार भण्डारी गोमा देवकोटा र डोरमणि पौडेलमध्ये एकजनालाई बनाउनुपर्ने पक्षमा छिन् ।
ओली भने ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङमध्ये एकजनालाई बनाउनुपर्ने मनस्थितिमा रहेको बताइन्छ । तर राष्ट्रपति भण्डारीको अडानमा ओलीको पनि केही जोड नचल्ने एमाले नेताहरूको बुझाई छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।