काठमाडौं – निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेका १९ पदमा माघ १२ गतेमा निर्वाचन गर्ने गरी निर्वाचन कार्यक्रम तथा कार्यतालिका स्वीकृत गरेको छ ।
आयोगले फागुन २० गतेबाट रिक्त हुने राष्ट्रिय सभातर्फका १९ पदमा माघ १२ गतेमा निर्वाचन गर्ने गरी मंगलवार निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।
स्वीकृत तालिकाअनुसार पुस २० गतेमा उम्मेदवारको मनोनयन दर्ता हुने मिति तोकिएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभातर्फ रिक्त हुन गइरहेको १९ पदमा १२ माघमा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरिएको बताए ।
उनले भने, ‘राष्ट्रिय सभातर्फ १९ पद रिक्त हुँदैछ, रिक्त हुनुअघि नै निर्वाचन गर्ने गरी आयोगले निर्वाचन कार्यक्रम र तालिका स्वीकृत गरेको छ । माघ १२ गते राष्ट्रिय सभातर्फ रिक्त हुने पदमा निर्वाचन हुन्छ, त्यसका लागि दल दर्ता गर्नुपर्छ । आयोगले निर्वाचन प्रयोजनका लागि सबै कार्यक्रम ल्याएको छ ।’
आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने दललाई पुस १–१० गतेसम्म दल दर्ता गर्न समय निर्धारण गरेको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । निर्वाचन कानूनअनुसार कुनै पनि निर्वाचनअघि निर्वाचन प्रयोजनका लागि दल दर्ता अनिवार्य रहेको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने गरी आयोगले निर्वाचन कार्यक्रम बनाएको जनाइएको छ ।
प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्न दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने सक्ने कार्यतालिका छ ।
आयोगका अनुसार पुस १८ र १९ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने तथा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम आयोगले तोकेको छ ।
पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।
राष्ट्रियसभा कानूनअनुसार पद रिक्त हुनु ३५ दिनअघि उपनिर्वाचन गरिसक्नुपर्ने प्रावधान छ ।
राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्, ७७ वटै जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख तथा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य समेत मतदाता रहन्छन् ।
आयोगका अनुसार स्थानीय तहमा रिक्त प्रमुख उपप्रमुखकको संख्या यकिन भएपछि मात्र मतदाताको संख्या तय हुनेछ । प्रदेश सभातर्फ भने १८ पद रिक्त भएको आयोगले बताउँदै आएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार माथि तोकिएका र हाल कायम संख्या मात्रै राष्ट्रिय सभा निर्वाचनमा मतदाताका रुपमा सहभागी भई राष्ट्रियसभा सदस्यको रिक्त पद चुन्ने प्रक्रियामा सहभागी हुन पाउने भएका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।