कोरोना महामारीमा युरोपेली देशमा फसे नेपालीहरू, विपत्तिको बेला सहयोग गर्न अपिल

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६
प्रतिकात्मक तस्वीर

नेपाटप

काठमाडौं – विना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्रलाई पत्राचार गरेको छ ।

दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो ।

नेपाल लाइफ

युरोपेली मुलुक स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै ख्याल गरिदिन आग्रह गरेको हो । गैरआवासीय नेपालीले दिएको सूचनाको आधारमा युरोपमा रहेको सबैजसो दूतावासबाट आ–आफ्नो क्षेत्रमा पर्ने मुलुकलाई त्यस्तो पत्राचार गरेको हो ।

कोरोना भाइरसको संक्रमण सुरू भएपछि एकअर्का मुलुकमा रहेका नागरिकलाई सबैखाले सहयोग र उद्धार गर्ने नीति अनुरुप नै त्यस्तो पत्राचार गरिएको पेरिस र जेनेभास्थित नेपाली दूतावासका अधिकारीले बताएका छन् ।

जेनेभास्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले स्वीट्जरल्यान्ड र इटाली सरकारलाई लेखेको छ भने पेरिसस्थित दूतावासले पोर्चुगल र फ्रान्सलाई लेखेको छ । स्पेनस्थित नेपाली दूतावासले पनि त्यहाँको सरकारलाई विशेष आग्रह नै गरेको छ ।

युरोपेली महासंघ (ईयू) का लागि नेपाली दूतावासले पनि त्यस्तै आग्रह बेनेलक्स मुलुकलाई गरेको छ भने डेनमार्कस्थित दूतावासले स्कन्डिभियन मुुलुकलाई गरेको छ । स्वीट्जरल्याण्ड र फ्रान्सका नेपाली दूतावासले यो कदम चालेपछि अन्यले त्यसलाई पछ्याएका हुन् ।

जर्मनी र बेलायतस्थित दूतावासले पनि त्यस्तो पत्राचार गरिसकेको छ । संक्रमणका बेला युरोपका सबैजसो मुलुक एकअर्कामा सम्पर्कविच्छेदझै छन् । त्यहाँ रहेका नेपालीले कुनै प्रकारको कठिनाइ भोग्न नपरोस् भनेर सरकारको निर्देशन अनुरुप दूतावासले पत्राचार गरेको जानकारी दिइएको छ ।

परराष्ट्रसचिव शंकरदास बैरागीले सबै नियोगलाई सबैखाले नेपालीको अवस्थामा ध्यान दिन निर्देशन गएको र त्यही अनुरुप काम गर्न उनीहरू स्वतन्त्र रहेको बताए । सबैले पठाएको कूटनीतिक नोटमा आइपरेको मानवीय समस्यामा भरथेग गरिदिन अनुरोध गरेका छन् ।

वैधानिक अवैधानिक जुन तरिकाले बसेका भएपनि मानवीय हिसाबमा उत्तिकै सहयोग आवश्यक पर्ने सचिव बैरागीले बताए ।

अहिले युरोपका कुुनै पनि मुलुकबाट स्वदेश फर्कन सक्ने अवस्था छैन । उनीहरूको आग्रहपछि त्यहाँको सरकारले पनि नेपाली नियोगलाई आफ्ना नागरिकलाई पनि नेपालमा ख्याल गरिदिन भनेका छन् । कूटनीतिमा रेसिप्रोसिटी रहने हुनाले यसमा नेपालले आफ्नै नागरिक सरह नै सहयोग गर्ने वचन दिएको छ ।

खासगरी नेपाली कागजी प्रक्रिया पूरा गर्ने क्रममा रहेका र भिसा नभएका मात्र होइन घुम्न आएकालाई पनि ध्यान दिन दूतावासले भनेको छ ।

इटाली, स्पेन, पोर्चुगलमा केही नेपाली कागजी प्रक्रियामा जोडिएका हुनसक्ने आकलन दूतावासको छ । तिनलाई घर बाहिर निस्कन मुस्किल मात्र होइन, पैसा अभावमा खान बस्न नै समस्या रहेको हुनसक्ने भन्दै त्यस्तालाई सहयोग गर्न दूतावासले पत्राचार गरेको हो । पछिल्लो समय साइप्रसमा रहेको नेपाली पनि त्यस्तै समस्यामा परेको अधिकारीको जानकारीमा आएको छ ।

साइप्रसमा अध्ययनका लागि जाने र घरायसी कामदारको रुपमा जानेहरु अहिले समस्याका परेको अधिकारीले बताए । इजरायलले त्यहाँ हेर्ने हुनाले इजरायलबाट त्यस्तो पहल गर्न परराष्ट्र मन्त्रालयले यसअघि नै निर्देशन दिइसकेको भए पनि अझै त्यहाँको विषयमा सरकार स्पष्ट हुन सकेको छैन । नेपाली पनि कागज नबन्ला भन्ने पिरले अझै बाहिर आएका छैनन् ।