सरकारी कर्मचारीका लागि आज अर्कै निर्णय हुँदै, यस्तो छ तयारी

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १०, २०७६

नेपाटप

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले सरकारी कर्मचारीका लागि आज छुट्टै निर्णय गर्ने भएको छ ।

समितिको आज साँझ बस्ने बैठकले भोलि मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने भएको स्रोतले जनाएको छ ।

नेपाल लाइफ

समितिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अत्यावश्यक सेवाका कर्मचारीलाई नियमित काममा बोलाउने र अन्य कर्मचारीको बिदा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

समन्वय समिति अन्तर्गत गठन गरिएका ६ वटा कार्यदलका संयोजकको बैठकले सरकारी कार्यालयमा बिदा दिने निर्णय गर्न सिफारिस गरेका छन् । कर्मचारी बिदामा भएपनि आवश्यक पर्दा हाईअलर्ट अवस्थामा राखिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपनि कार्यालय खुलै राखेका थिए । समितिले निर्णय गरेपछि कार्यालय पनि बन्द हुनेछन् ।