आज अर्काे ठूलो निर्णय गर्ने तयारीमा सरकार, आवतजावत पनि बन्द !

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र ८, २०७६

नेपाटप

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्नका लागि सरकारले आज शनिवार अर्र्काे ठूलो निर्णय गर्ने भएको छ ।

सरकारले छिमेकी देशसँगका सबै नाकाहरूमा आवतजावत बन्द गर्ने तयारी गरेको छ ।

नेपाल लाइफ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शनिवार साँझ ५ बजे कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बोलाइएको छ ।

शुक्रवारको समितिको बैठकमा मानिसको आवतजावतले संक्रमणको डर हुने भन्दै सबै नाकाहरूमा रोक लगाउने विषयमा छलफल भएको र शनिबार निर्णय लिइने जनाइएको छ ।

शुक्रबारको बैठकपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नाकाहरू सबै बन्द गर्ने निर्णय हुन लागेको बताए । शनिबारको बैठकले नाकाहरू कहिलेदेखि र कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय लिने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द, चैत १० देखि लामो दूरीका यातायात बन्द गर्ने लगायत घोषणा गरेका थिए ।