एसईई स्थगित : नैतिकता छ भने शिक्षामन्त्रीले राजीनामा दिउन्, प्रश्‍नपत्रको उचित सुरक्षा गरियोस्

मिडिया डबली प्रकाशित : बिहिबार, चैत्र ६, २०७६

नेपाटप

काठमाडौं – आजबाट सुरु हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । त्यसका लागि विद्यार्थीहरु परीक्षाकेन्द्र नजिकै पुगेसकेका थिए ।

विश्वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरसको त्रासकाबीच परीक्षार्थीहरुले आवश्यक तयारी गरिरहेका थिए । बुधबार बिहान शिक्षामन्त्री गिरिराजमणी पोखरेलले एसईई कुनै हालतमा नरोकिने घोषणा गरे । देशभरका विद्यार्थीहरु ढुक्क भए र ऋण जोहो गरेर परीक्षाकेन्द्र पुगे । कलिला विद्यार्थीहरुले लामो बाटोमा परेका हिउँ छिचोल्दे घण्टौं पैदल हिँडेर परीक्षाकेन्द्रसम्म पुगेका छन् ।

नेपाल लाइफ

जुन खुसीले विद्यार्थीहरु बाटो र पैसाको प्रवाह नगरी परीक्षाकेन्द्र पुगे त्योभन्दा दुई गुना भारी मन बनाएर उनीहरुले फर्किनुपर्ने बाध्यता सिर्जना भएको छ ।

तर, एकाएक सरकारले परीक्षा सञ्‍चालन हुनुभन्दा करिब १२ घण्टाअघि परीक्षा स्थगित भएको घोषणा गर्‍यो । परीक्षामा सहभागी हुनका लागि तयार भएका विद्यार्थीहरू निराश भएका छन् । विषेशगरि परीक्षा केन्द्रको नजिक डेरा लिएर बसिसकेका विद्यार्थीहरूले तयारी अनुसार परीक्षामा सहभागी हुन नपाएको भन्दै दुखेसो पोखेका छन्।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बुधवार एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

पूर्व जोखिम आकलन गर्न नसक्ने सरकारको अदुरदर्शी र अपिरपक्व निर्णयबाट सरकारले सच्चिनपर्छ । संकटका विषयमा यस्ता निर्णयहरु हुन्छन् । तर, यसबाट जनतामा पुगेको असरप्रति सरकार जवाफदेही भएर माफी माग्‍नैपर्छ ।

एक दिनमा के हुन्छ भन्‍नेसम्म आकलन गर्न नसक्ने शिक्षाक्षेत्रको सरकारी संयन्त्रको ठेक्का लिएका शिक्षामन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । उनलाई पदमा रहिरहने अधिकार यही अपरिपक्‍व निर्णयबाट गुमाएसकेका छन् । उनले शिक्षा क्षेत्रमा अरुसँग छलफल नगरी एकल ढंगले बोल्दा चार लाख परीक्षार्थीको भविष्यमा संकट पैदा भएको छ ।

परीक्षा हुनुभन्दा एक हप्ता अगाडि सरकारले यस्तो निर्णय गरेको भए विद्यार्थीहरुलाई दोहोरो दु:ख खेप्नु पर्ने थिएन । अन्तिममा आएर परीक्षा रोकिँदा विद्यार्थीहरु झन् समस्या परेका छन् । परीक्षा दिने ठाउँसम्म पुर्‍याउन गएका अभिभावकसमेत निराश भएर घर फर्कनु परेको विद्यार्थीहरूले बताएका छन् ।

समाचार नसुनेका कतिपय विद्यार्थीहरू परीक्षा केन्द्रसम्म पुगे । उनीहरुले परीक्षा स्थगित भएकोप्रति आश्चार्य प्रकट गरे । अब परीक्षा कहिले हुन्छ भन्‍ने अन्योलता एकतिर बढेको छ भने अर्कोतिर प्रश्‍नपत्रको सुरक्षा चुनौती थपिएको छ ।

सरकारले सम्पूर्ण परीक्षाकेन्द्रहरुमा प्रश्‍नपत्र पठाइसकेको छ। प्रवेशपत्रका लागि प्राधानाध्यापकले घुस मागेका समाचारहरु सार्वजनिक भइरहेका बेला प्रश्‍नपत्रको सुरक्षा थप चुनौतीपूर्ण बनेको हो । यस विषयमा सरकारले विशेष ध्यान दिन आवश्यक छ ।

सधैं स्थिति संकटपूर्ण रहिरहँदैन । आगामी मितिमा हुने परीक्षाका लागि अहिले पठाइएका प्रश्‍नपत्रहरु सुरक्षित फिर्ता मगाएर फेरि पठाउन सक्‍नु उत्कृष्ट विकल्प हुनसक्छ । यसो गर्न नसकेर फेरि प्रश्‍नपत्र बनाउन लगाउने हो भने थप खर्चिलो पर्न जान्छ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र नै संकटमा पर्ने स्थितिका बेला जसरी पनि अर्थतन्त्रलाई सघाउ हुने गतिविधिमा संगल्‍न हुनु हरेक नागरिकको कतर्व्य हो ।

यस संकटको स्थितिमा अवसरलाई दुरुपयोग गरेर लाभ लिनेभन्दा पनि सबैले सबैलाई सहयोग गरेर सघाउनु नै उत्तम विकल्प हुन्छ ।