के कोरोनाबारे चीनले दिएको जानकारी पत्याउन सकिन्छ ?

मिडिया डबली प्रकाशित : सोमवार, माघ २७, २०७६

नेपाटप

काठमाडौँ- चीनमा कोरोना भाइरसको कारण ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको भने हजारौं संक्रमणको जोखिममा छन । चिनियाँ अधिकारीहरूले सार्वजनिक जमघटहरुलाई निरुत्साहित गर्दै प्रकोप नियन्त्रण गर्ने प्रयासहरू तीव्र पारेका छन । यता ग्लोबल टाइम्सले भाइरसबारे हल्ला फैलाएको आरोपमा धेरैलाई पक्राउ गरिएको रिपोर्टहरु सार्वजनीक गरेको छ ।

राजनीतिक रूपले चीन संवेदनशील जानकारीहरु लुकाएर राख्ने प्रकृतिको भएकोले विश्वका प्रतिष्ठित सञ्चारमाध्यहरुले चीनले यसबारे बास्तविक जानकारीहरु लुकाउन सक्ने भनी चिन्ता जनाएका छन् । बेइजिंगले यसअघि पनि २००३ मा श्वासप्रवास सिन्ड्रोम (सार्स) को प्रकोपबारे पनि यसरी नै विश्वलाई गुमराहमा राखेको थियो ।

नेपाल लाइफ

२००३ मा महामारीको कारण झण्डै ८ सय जनाको मृत्यु भइसकेको थियो जबकी चिनियाँ अधिकारीहरूले यो तथ्यलाई लुकाएर राखेका थिए । बीबीसीको एउटा रिपोर्टअनुसार चीनले संक्रमित व्यक्तिहरूको बास्तविक तथ्यांक भन्दा निकै कम सार्वजनीक गरेको थियो ।

राष्ट्रपति सी जिनपिंगले आपत्कालीन स्वास्थ्य संकटलाई सम्बोधन गर्ने सरकारको प्रयासमा पारदर्शिता कायम राख्नुपर्छ भने भनिरहदा पनि बेइजिंगले शुरूदेखि नै सुचनालाई नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छ । कम्युनिष्ट पार्टीको केन्द्रीय राजनीतिक र कानूनी आयोगले पनि आफ्नो टिप्पणी यो प्रकोपलाई सार्स त्रासदीको रुप उल्लेख गर्दै जनतालाई धोका नदिन सम्वन्धित अधिकारीहरूलाई चेतावनी दियो । यद्यपि विगतमा यस्ता धेरै उदाहरण देखिएको छ जहाँ चीनमा गहिरो सामाजिक–राजनीतिक समस्याहरूको बारेमा जानकारीहरु फिल्टर गरी मात्र सार्वजनिक गरिएको छ । तसर्थ पार्टीका निर्देशनहरू केवल जनताको खपतको लागि हो भने बुझ्न गाह्रो पर्दैन ।

यसपालि प्रकोपको समयलाई ध्यानमा राख्नु निकै महत्वपूर्ण छ किनभने अहिले चीनमा नयाँ वर्ष र वसन्त महोत्सव मनाउने समय हो जसको अर्थ चिनियाँ जनता ठूलो संख्यामा छुट्टीको लागि घरतिर मात्र नभई विदेश यात्रामा पनि गईरहेका छन् । थाईल्याण्ड र जापानले पहिले नै संक्रमणको घटनाहरू फेला पारिसकेका छन् । अस्ट्रेलिया जस्ता देशहरूले पनि यात्रा सल्लाह जारी गर्दै एयरपोर्टमा स्क्रीनिंग गर्न थालिसकेका छन् ।

यसको अलाबा पूर्वी एसियाली स्टक बजारमा पनि चीनमा हुनसक्ने सम्भावित मन्दीका कारण गिरावट आएको छ । चीनले भर्खरै संयुक्त राज्य अमेरिकासँग व्यापार युद्ध अन्त्य गर्ने पहिलो चरणको सम्झौता गरेको छ र अहिलेको उसको पहिलो प्राथमिकता व्यापार युद्धको कारण चीनले २०१९मा व्योहोरेको घाटाको पुर्ति गर्दै आम चिनियाँको अपेक्षा पुरा गर्नु हो ।

त्यसकारण सम्भावना रहन्छ की बेइजिंगले भाइरसको प्रकोपसँग सम्बन्धित जानकारीलाई नियन्त्रण गर्न कडा कदम चालोस । यदि त्यस्तो गरियो भने यसले छिमेकी देशहरू र क्षेत्रीय बजारमाथि गम्भीररुपले दीर्घकालीन असर पार्नेछ ।

स्मरण रहोस की बाँकी विश्वसँग चीनको कनेक्टिविटी सार्स प्रकोपको बेला भन्दा धेरै गुणा बढी छ तसर्थ यदि समयमै कारोनाबारे बास्तविक जानकारी अरु देशहरूलाई दिइएन भने यसबाट विश्व समुदायले ठुलो क्षति व्योहोर्नु पर्ने स्पष्ट छ ।