श्रीमानको हत्या गर्नेसँग ३ लाख रुपैयाँ लिएर घटना गुपचुप राख्ने श्रीमती !

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

भोजपुर – आफ्नै श्रीमानको हत्या भएपछि हत्यारासँग पैसा लिएर घटना गुपचुप राखेको आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

हत्यारासँग पैसा लिएर घटना लुकाएको आरोपमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दाँवाकी मिना मिजार प्रहरीको फन्दामा परेकी हुन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा अन्य पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

नेपाल लाइफ

२०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले स्थानीय चम्पिरा खोलाको भीरबाट धेकेलेर हत्या गरेको प्रहरीको भनाइ छ । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना गुपचुप राख्न अभियुक्तसँग ३ लाख रुपैयाँ मागेको बयानमा उल्लेख छ ।

केही समयपश्चात् मृतककी श्रीमती मिनाले पनि मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुलेको डीएसपी नरबहादुर सलामीमगरले बताए । घटनामा आरोपी स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र बिष्णु बयलकोटीले श्रीमती मिनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेका थिए ।

मुख्य अभियुक्त रम्तेलसँग मृतकका पत्नीले २ लाख रुपैयाँ नगद लिएको डीएसपी मगरको भनाइ छ । आफ्नै पतिको हत्याराबाट लिएको रकमले सदरमुकामस्थित सहकारी संस्थामा जम्मा गरेको खुलेको छ ।

सहकारीमा १ लाख ७० हजार र बाँकी ३० हजारको आफ्नी सासूलाई भैंसी किन्न दिएको मिनाले बयान दिएकी छन् । जिल्ला प्रहरीमा आएको बेनामे पत्रबाट अभियुक्तलाई पक्राउ गरिएको डीएसपी मगरले जानकारी दिए । बेनामे पत्रमा भिरबाट लडेर मरेको भनिएका पूर्णबहादुर सयललाई छिमेकी मोहनबहादुर रम्तेलले धकेली हत्या गरेको भन्ने विवरण उल्लेख थियो । श्रीमानका हत्यारालाई कारवाही गराउनुको सट्टा पैसा असुलेर घटना लुकाएको अनौठो घटना देखिएको छ ।