केपी ओलीको गृहजिल्लामा बम विस्फोट गराएपछि …

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

झापा – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपामाथि प्रतिबन्ध लगाएपछि देशभर बम विस्फोटका घटना सुनिन्छन् । स्वयं ओलीकै जिल्लामा बम विस्फोटका थुप्रै घटना भएका छन् ।

बम विस्फोटका घटना नियन्त्रण हुन नसक्दा सर्वसाधारणमा त्रासको अवस्था छ । यसैबेला विभिन्न स्थानमा बम विस्फोट गराएको आरोपमा प्रतिबन्धित नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल लाइफ

झापाको बिर्तामोड नगरपालिका–७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयसहित अन्य स्थानमा प्रेसर कुकर बम विस्फोट गराएको आरोपमा आईतबार एकैपटक ठूलो संख्यामा प्रहरीले विप्लव कार्यकर्ता पक्राउ गरेको छ ।

प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार झापाको दमकबाट पाँच जना र अर्जुनधाराबाट एक जना गरी ६ जनालाई पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पाँचथर जिल्ला इन्चार्ज र मेची ब्यूरो सदस्य २९ वर्षीय राजु दास, ताप्लेजुङका जिल्ला इन्चार्ज ३४ वर्षीय सागर लिम्बू ‘सक्कल’, मेची ब्यूरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी ५६ वर्षीय नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य ३८ वर्षीय योगेश लिम्बू र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी मेची, कोशी संयोजक २४ वर्षीय गणेश कार्की छन् । सबै ताप्लेजुङ स्थायी ठेगाना भएका हुन् ।

डीएसपी श्रेष्ठले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा दमक नगरपालिका–६ स्थित न्यु कञ्चन होटेलबाट पक्राउ गरेको बताए ।

प्रहरीले साउन ३० गते अर्जुनधारा नगरपालिका–३ बस्ने ५० वर्षीय प्रेम चापागाईँलाई पक्राउ गरेको थियो । चापागाईं नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यकर्ता भएको प्रहरीले दाबी गरेको छ ।

झापा प्रहरीले जिल्लाभरबाट हालसम्म विप्लव नेकपाका २३ जना नेता तथा कार्यकर्ता पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकले देखाएको छ ।

गत साउन २७ गते सोमबार बिहान साढे ४ बजे विप्लवका कार्यकर्ताले बिर्तामोडको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको थियो । त्यसपछि प्रहरीले विप्लवका कार्यकर्ताको खोजीलाई अझै तीब्रता दिएको थियो ।

बिर्तामोड र भद्रपुर नगरपालिकाले १८ जना विदेशीलाई नागरिकता बेचेको भन्दै बम विस्फोट गराएको विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मनिषले स्थानीय सञ्चारकर्मीलाई फोन गरी घटनाको जिम्मेवारी लिएका थिए । सरकारले देशभर विप्लवका नेता कार्यकर्तामाथि धरपकड गरिरहेको छ ।