Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

कालापानीको राग अलाप्ने राष्ट्रवादीले सुदूरका गरीबका लागि देशको ढोका किन गरे बन्द ?

कालापानीको राग अलाप्ने राष्ट्रवादीले सुदूरका गरीबका लागि देशको ढोका किन गरे बन्द ?

  • मिडिया डबली

  • आइतवार, चैत्र २३ २०७६


  • काठमाडौं – राष्ट्र भनेको भूमि मात्र होइन । राष्ट्र भनेको जनता पनि हो । ती जनताले सदियौं लगाएर निर्माण गरेको संस्कृति हो, रहनसहन र भेषभुषा हो । जनताको जस र अपजस सबै राष्ट्रको हुन्छ, चाहे ती संसारको जुनसुकै कुनामा किन न बसेका हुन् । त्यहीँ भएर एक नेपालीले बेलायतको गाउँस्तरको चुनाव जित्दा पनि सिंगो नेपालले त्यसको जस लिन्छ । तर कुनै नेपालीले विदेशमा कुकृत्य गर्‍यो भने हामी सबै नेपाली लज्जित हुन्छौं । त्यसैगरी जनताको सुख–दुख सबै देशको हुन्छ । त्यहीँ जनता जब विदेशमा खुन–पसिना कमाई विदेशी धन राष्ट्रमा भित्र्याउँछन्, हामी त्यसबाट कर उठाइ काठमाडौंमा चिल्लो सडकको निर्माण गर्छौं र आलिसान बंगलामा बसेर छिमेकीले कालापानी मिचेको चर्चा गर्छौं । समाजिक सञ्जालमा उर्फन्छौं र कालापानी जित्ने कुरा गरी थाक्दैनौं । तर विडम्बना ! कालापानी जितेर हामी गर्छाैं के त ? जब हामी त्यहाँका जनतामा विपद् आइपर्दा मुख फर्काइदिन्छौं । उनीहरूका लागि मुलुकको ढोका बन्द गरिदिन्छौं । हाम्रो काठमाडौंकेन्द्रित राष्ट्रवादले भूमि प्रधान हुन गएको छ । त्यहाँको भूमि चाहिन्छ । त्यस भूमिको दोहन गर्न पाउनुपर्छ । भूमिलाई देशको नक्सामा पारी देशलाई अझ ठूलो देखाइ सामाजिक सञ्जालमा पोस्ट गर्ने रहर छ तर त्यहाँको जनतासँग चाहिँ मतलब छैन । उनीहरू मरुन् कि जिउन् । यो काठमाडौं केन्द्रित राष्ट्रवादीको सरोकारको विषय नै होइन । विचरा ती सुदरपश्चिमका जनता । तिनलाई २ छाक टार्न समस्या छ । सुदूरपश्चिममा न त आर्थिक अवसरहरू नै छन्, न त कुनै उत्पादनको सम्भावना । त्यसकारण उनीहरू आफ्ना परिवारको लागि दालरोटीको जोहो गर्न मजदुरी गर्न सीमापारि जान्छन् । आत्मसम्मानका साथ श्रम गर्छन् र २ पैसा ल्याएर परिवार पाल्छन् । तर पनि गर्वले भन्छन् कि हामी नेपाली हौं । आज उनीहरूमाथि विपद् आइपर्दा हामी काठमाडौं केन्द्रित राष्ट्रवादीले उनीहरुका लागि नाका बन्द गरिदियौं । पूरा विश्व नै कोरोनाको चपेटमा परेका बेला संसारभरि अन्यत्र बसिरहेका सबै मुलुकका जनताहरू आ–आफ्नो घर फर्किन चाहेका छन् । यो चाहना स्वाभाविक हो । आखिर विपद् परेका सबै पुग्न चाहने भनेको उसको थातथलो नै हो । नेपालमै बसिरहेका विदेशी नागरिकलाई सरकारले उद्धार गरी घर फर्काएका छन् । तर हामीले भने हामी सुरक्षित रहन सकौं भनी सुदूरपश्चिम जनताका लागि मुलुकको नाका बन्द गरिदिएका छौं । वैदेशिक रोजगारीको सिलसिलामा भारतका विभिन्न ठाउँ गएका सुदूरपश्चिमका निमुखा जनताहरू आज सीमापारि अलपत्र परेका छन् । सीमापारिको जिल्ला उत्तराखण्ड प्रान्तको धार्चुलामा सयौं सुदूरपश्चिमेलीहरू आफ्नै देश फर्किन काठमाडौंको निर्णय कुरी बसिरहेका छन् । उनीहरू मर्नु परेपनि आफ्नै भूमिमा मर्न पाउ भनी इच्छा राख्छन् । तर उनीहरूलाई हामी नेपाल छिर्न दिन समेत तयार छैनौं । उनीहरू भोखै छन् । आफ्नै मुलुकले बेवास्ता गर्दा क्रोधित पनि छन् । आन्दोलित छन् । काठमाडौंले उनीहरूको वेदना सुन्दैन । कान थुनेर बस्छ । किन कि काठमाडौंलाई सुदूरपश्चिमको भूमि चाहियो, त्यहाँको जनता होइन । विचार भोकले छटपटिएका ती निमुखाहरू पुनः भारतर्फ नै फर्किन बाध्य हुन पुगे । भारतीय सिमावर्ति शहर पिथौरागढका अधिकारीहरूले उनीहरूलाई बस्ने खाने व्यवस्था मिलाइदिएका छन् । पिथौरागढको जिल्ला प्रशासन प्रमुख (डीएम) डा. विजय कुमार जोगदंडेले घार्चुला पुगेर उनीहरूलाई आफैं खाना बाडेर खुवाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । कामदारहरू सिमावर्ति क्षेत्रभित्र घेराबन्दीमा परेपछि त्यस क्षेत्रका डीएम जोगदंड, एडीएम शुक्ला, एसपी प्रिति प्रियदर्शनी पिथौरागढ जौलजीवी राहत क्याम्प पुगेको थियो । डीएम आफैंले पस्केर खाना खुवाएपछि सबै कामदारले केही राहत पाएका थिए । तर यो खुशी कति दिन ? प्रश्न अब यो उठ्छ कि के उनीहरू फेरि हामी काठमाडौंकेन्द्रित राष्ट्रवादीको सुरक्षाकवचलाई तोड्ने आट गर्ला । के क्रोध मिश्रित निराशाले पुनः आफ्नो थातथलोमा फर्किने तिनको चाहना आउला । यो समयले नै बताउने छ ।

    आइतवार, चैत्र २३ २०७६०७:५०:५७
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology