कम्युनिस्ट शासनमा दिक्क भए कोरोना जाँच्ने डाक्टर, फकाउन खोज्दै केपी ओली !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुरक्षाका लागि पर्याप्त स्रोतसाधन उपलब्ध नगराएपछि डाक्टरहरू दिक्क भएका छन् ।

कोरोना भाइरसको संक्रमणले विश्वभर महामारीको रुप लिएका बेला कम्युनिस्ट सरकारले चिकित्सकका लागि व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को व्यवस्था गर्न नसकेको चिकित्सकको गुनासो छ ।

नेपाल लाइफ

कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि देशभरबाट चिकित्सकले आफू सुरक्षित हुँदै बिरामीको नमूना संकलन गर्नुपर्नेमा पीपीईको अभावमा कोरोना डाक्टरमा समेत सर्नसक्ने खतरा रहने डर चिकित्सकमा पाइन्छ । तर सरकारले पर्याप्त पीपीईको व्यवस्था देशभर गर्न सकेको छैन ।

सुरक्षाको प्रत्याभूति र उपकरण नभएपछि चिकित्सक दिक्क भएका बेला प्रधानमन्त्री ओलीले डाक्टरहरूलाई फकाउन खोजेका छन् । ओलीले चिकित्सक र स्वास्थ्य प्राविधिकहरूको मनोबल उच्च बनाउँदै कुनै चिन्ता नलिई उपचारमा खटिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीवार सामाजिक सञ्जालमा ट्विट गर्दै चिकित्सक र स्वास्थ्य प्राविधिकलाई चिन्ता नलिई उपचारमा संलग्न हुन आग्रह गरेका छन् । तर ओलीले पर्याप्त पीपीईको व्यवस्था नगरी चिन्ता नगर्न मात्रै आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले चिकित्सक र प्राविधिकलाई ‘साथीहरू’ भनेर सम्बोधन गर्दै हाल मौज्दात सामग्रीको अधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन आग्रह गरे । उनले ट्विटमा लेखेका छन्, ‘तपाईंहरूकै सिफारिसमा थप सामग्रीहरू उपलब्ध हुँदै छन् । धैर्य गरौं । कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं ।’

चिकित्सक र प्राविधिकलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘सरकार तपाईंहरूसँगै छ । चिन्तित नहोऔं ।’
प्रधानमन्त्री ओलीले बुधवार पनि सामाजिक सञ्जालमा लेखेका थिए, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरू पनि घरमै बस्नुस् ।’