लकडाउनको बेला तपाईंको अत्यावश्यक काम पर्‍यो ? बाहिर जान यस्तो उपाय निकाल्नुस् !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, चैत्र १३, २०७६

नेपाटप

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सरकारले देशभर लकडाउनको घोषणा गरेको छ ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक अवस्थाबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक काम परेका व्यक्तिले कसरी घरबाहिर निस्किने त ?

नेपाल लाइफ

पूर्व जानकारी र अनुमति विना घरबाहिर निस्किएका सवारीसाधन र व्यक्तिलाई प्रहरीले कारवाही गर्र्ने गरेको छ । कारवाहीबाट बच्न सरकारले सर्वसाधारणलाई उपाय समेत सुझाएको छ ।

सरकारले सर्वसाधारणलाई घरबाहिर निस्कनैपर्ने गरी गम्भीर समस्या परेमा नजिकको प्रहरी तथा जनप्रतिनिधिलाई खबर गर्न अनुरोध गरेको छ । खाद्यवस्तु, औषधि उपचार वा बिरामी परेमा तत्कालै नजिकको प्रहरी वा हटलाइन टेलिफोनमा सम्पर्क गरी सहयोग लिन सकिने जनाइएको छ ।

गृह मन्त्रालयले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैलालगायत आवश्यक उपभोग्य वस्तुहरूको कारोबार गर्ने पसलहरू बन्द नहुने र सदाझैं निर्बाध रुपमा सञ्चालन गर्न गराइदिन आग्रह गरेको छ ।

पूर्व जानकारी र अनुमति विना घरबाहिर निस्किए प्रहरीले कडा कारवाही गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले अत्यावश्यक कामबाहेक आफूखुशी सडकमा निस्केकालाई नियन्त्रणमा लिई कारबाही गर्ने र अटेर गर्नेमाथि बल प्रयोग गर्न निर्देशन दिएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीले अप्ठ्यारो परेकालाई सोधपुछ गरी छोडिदिने र अन्यको हकमा नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन भएको बताएका छन् ।

मन्त्रालयको निर्देशन अनुसार सञ्चारकर्मीका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । स्वास्थ्यकर्मी तथा मेडिकलजन्य उपकरण तथा औषधि ढुवानीकर्ताका लागि परिचयपत्र भए पुग्ने छ । मलामी, बिरामी कुरुवा र बिरामी व्यक्तिका लागि नजिकको प्रहरीसँग समन्वय गर्न भनिएको छ ।