आज जनयुद्ध दिवसको सार्वजनिक बिदा कहाँ–कहाँ ?

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, फाल्गुन १, २०७६

नेपाटप

काठमाडौं – झण्डै १७ हजार नेपालीको ज्यान जाने गरी तत्कालीन नेकपा माओवादीले गरेको सशस्त्र द्वन्द्व ‘जनयुद्ध’ सुरू भएको स्थापना भएको दिन फागुन १ गतेलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनयुद्ध दिवसको रुपमा मनाउँदैछ ।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आज बिहीबार औपचारिक कार्यक्रम आयोजना गरिएको छ । पार्टीले मनाउने दिवसमा कतिपय नेकपाले नेतृत्व गरेका स्थानीय तहले भने सार्वजनिक बिदा नै दिएका छन् ।

नेपाल लाइफ

कुनै एउटा राजनीतिक दलले सञ्चालन गरेको हिंसात्मक द्वन्द्वको अवसरमा सरकारी निकायबाट बिदा दिइएको यसपालि पहिलो पटक हो । कालिकोट जिल्लाको पलाता गाउँपालिका र धनुषा जिल्लाको सहिदनगर नगरपालिकाले बिदा दिएका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सञ्चालन भएको जनयुद्ध पटक–पटक विवादमा समेत आउने गरेको छ । केही दिनअघि प्रचण्डले ५ हजार मान्छेको मृत्युको जिम्मा लिने अभिव्यक्ति दिएपछि विवाद भएको छ । विवादमा आउने जनयुद्ध र त्यो सुरू भएका दिनका अवसरमा स्थानीय सरकारले भने बिदा घोषणा गरेका छन् ।

पलाता गाउँपालिकाको माघ २५ गतेको बैठकले जनयुद्ध दिवसका लागि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको पलाता गाउँपालिकाका सूचना अधिकारी नवीन चौहानले बताए । जनयुद्ध दिवसका दिन गाउँपालिकाले सहिदको सम्झना गर्ने र सम्मानका लागि खेलकुद सहितका विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरिएको सूचना अधिकारी चौहानले बताएका छन् ।

यसैगरी, धनुषाको सहिदनगर नगरपालिकाले समेत सार्वजनिक बिदा दिएको छ । फागुन १ गते बिहीवार १० वर्षे जनयुद्ध दिवसको अवसरमा नगरपालिकाले बिदा दिएको छ ।

सहिदनगर नगरपालिका कार्यपालिकाको निर्णयबाट जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको निर्णय भएको बुधवार सूचना प्रकाशित गर्दै नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत नन्दकुमार झाले जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत झाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘महान् जनयुद्ध दिवस २०७६ को अवसरमा फागुन १ गते यस नगरपालिकाको कार्यालय र यस अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा गरिएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’ स्थानीय तहले घोषणा गरेका सार्वजनिक बिदा सम्बन्धित स्थानीय तहमा मात्रै लागू हुनेछन् ।