स्व. रविन्द्र अधिकारीकी श्रीमतीले चुनावमा भिड्न खोज्दा झड्का ! उल्टियो सर्वसम्मत निर्णय

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक १३, २०७६

नेपाटप

पोखरा – आगामी मंसिर १४ गते हुने उपचुनावका लागि कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी कास्कीले सर्वसम्मत उम्मेदवार बनाएपछि चुनावी मैदानमा उत्रिने अपेक्षा गरिएकी स्व. रविन्द्र अधिकारीकी श्रीमती विद्या भट्टराईलाई झड्का लागेको छ ।

जिल्लाको निर्णयलाई प्रदेश कमिटीले उल्ट्याएपछि विद्या सर्वसम्मत सिफारिस गरिएको निर्णय परिमार्जन भएको छ । जिल्लाबाट रविन्द्रकी श्रीमती विद्या भट्टराईको एकल नाम सिफारिस गरिएको भएपनि प्रदेशले दुई जना नेताको नाम थपेको छ ।

नेपाल लाइफ

नेता सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी गुरुङ ‘करण’को नाम उम्मेदवारको सूचीमा थपिएपछि विद्यालाई नेकपाबाटै झड्का लागेको छ ।

जिल्लाले गरेको निर्णयलाई उल्ट्याउँदै प्रदेशले दुई जनाको नाम थपेर केन्द्रीय कमिटीमा पठाएको छ । नेकपा गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जिल्लाको निर्णय उल्ट्याएको नभइ सच्याएर पठाइएको प्रतिक्रिया दिएका छन् ।

‘केन्द्रले ३ जनाको नाम पठाउन भनेको थियो, हामीले त्यही अनुसार ३ जनाको नाम पठाएका हौं,’ उनले भने । नेकपा गण्डकी अध्यक्ष हितराज पाण्डेले केन्द्रकै नीति अनुसार तीन जनाको नाम सिफारिस गरिएको बताए । ‘१ नम्बरमा विद्या भट्टराई हुनुभयो, पार्टीमा गरेको योगदानका आधारमा प्यासीजी र आदिवासी जनजाति भएकाले राजकाजीजीको नाम सिफारिस गरिएको छ,’ उनले भने ।

विद्याको एकल सिफारिसमा दुई जना थपिएपछि केन्द्रले तीन जनामध्ये जुनसुकैलाई पनि उम्मेदवार बनाउन सक्ने विकल्प खुला भएको छ । पर्यटनमन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि कास्कीको उपचुनावमा विद्यालाई नै रविन्द्रको उत्तराधिकारीका रुपमा हेरिएको थियो ।

विद्यालाई एकल उम्मेदवार बनाउन नेकपा कास्की अध्यक्ष कृष्ण थापाले जिल्लाको बैठकमा प्रस्ताव गरे अनुसार निर्णय भएको थियो । बैठकमा ३८ जनाले प्रस्तावमाथि राय राखेको र ६८ जनाले निवेदन लेखेर धारणा राखेको कास्की जिल्ला सहइन्चार्ज भीम कार्कीले बताएका छन् ।

उपचुनाव हुने कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा यसको अधिकांश वडामा नेकपाले नै जितेको थियो । वडा नम्बर ४, ९ र ११ मा भने कांग्रेसले जितेको जनाइएको छ ।