रवि लामिछानेबारे नेकपा र कांग्रेसबीच भयो सहमति ! अब के हुन्छ ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, भदौ १, २०७६

नेपाटप

चितवन – होटलमा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा रवि लामिछाने लगायतलाई पक्राउ गरिएपछि भइरहेको प्रदर्शनलाई निरुत्साहित गर्न चितवनका प्रमुख राजनीतिक दल सहमत भएका छन् ।

पुडासैनी आत्महत्या प्रकरणमा भइरहेको अनुसन्धानलाई असर नपार्न र प्रशासनलाई सहयोग गर्नसमेत जिल्लाका प्रमुख दलका नेताहरूले आम जनसमुदायमा अपिल गरेका छन् ।

नेपाल लाइफ

साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले साउन ३० गते न्यूज २४ का सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

रवि लामिछाने पक्राउ परेपछि उनका समर्थकहरूले रिहाइको माग गर्दै साउन ३१ गतेदेखि भरतपुरमा दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा तोडफोडका घटनासमेत हुन थालेको भन्दै आईतबार चितवनमा सर्वपक्षीय बैठक बोलाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले दैनिक जीवन र न्याय सम्पादनमा असर पुग्ने काम कहीँकतैबाट हुन नदिनेतर्फ सचेत रहन अपिल गरेको छ ।

बैठकमा सत्तारुढ नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचिव उत्तम जोशीसमेत सहभागी रहेका थिए । बैठकमा चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल पनि सहभागी थिए ।

जिल्ला प्रशासन कार्यालयमा आईतबार साँझ बसेको सर्वपक्षीय बैठकले पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निरुत्साहित गर्ने निर्णय गरेको छ । बैठकपछि जारी अपिलमा उल्लेख छ, ‘जनताको दैनिक जीवनमा असर पुग्ने गरी एवं शान्ति सुरक्षा र स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी हुने प्रदर्शन, तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने ।’

अदालतबाट म्याद लिई हिरासतमा रहेका व्यक्तिका सन्दर्भमा स्वच्छ र निश्पक्ष छानविन गरी न्याय निरुपण कार्यमा सहयोग पुर्‍याउन प्रमुख दलका जिल्ला नेताहरूले अपिल गरेका छन् ।

शान्ति सुरक्षा कायम गर्नेजस्ता संवेदनशील विषयमा सहयोग गर्न आम जनसुमदायमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार लगायत सबै क्षेत्रमार्फत् अपिल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित ३ जनाको सम्बन्धमा स्वच्छ र निश्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नलाग्नसमेत सर्वपक्षीय बैठकले अपिल गरेको छ । बैठकमा सहभागी नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने भएपनि उच्छृंखल गतिविधि गर्न कसैलाई छूट नभएको बताए । उनले जिल्लालाई शान्तिपूर्ण बनाउन आफ्नो दल कटिवद्ध रहेको प्रतिवद्धता जनाएका छन् ।