जब सपनाको झोला हरायो

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, पुस १४, २०७६

नेपाटप

काठमाडौं–पृष्ठभूमिमा गीत बजिरहेको छ, रुद्रे रातो टोपी लगाएर कालो झोला भिरेर सपनाको सहर काठमाडौंमा आइपुगेको छ । रुद्रले काँधमा भिरेको त्यो झोला साधारण झोला मात्रै होइन रुद्रको ‘सपनाको पोको’ हो ।

उसको अनि भोजपुरमा भएकी बुढी आमाको सपना अर्थात् कतार । कालो झोलामा सपनालाई गन्तव्यसम्म पुर्‍याउने हरियो पासपोर्ट, आमाले ऋण काढेर पठाएको ८५ हजार, भुटेको मकै, भटमास, एक जोर लुगा र डायरी छ ।

नेपाल लाइफ

तर गौशालाका बसपार्कमा ओर्लेर दाँत माँझी रहेका बेला उसको छेउमै राखेको सपनाको पोको हराएको छ ।

कालो झोलासँगै रुद्र र एक्ली आमाको सपना पनि तुहिएको छ । रुद्र उसलाई पार गरी गएका हरेक बटुवालाई आफ्नो झोला हराएको दुखेसो पोख्दै छ, उसको झोला खोजिदिने आशमा ।
तर, व्यस्त र स्वार्थी मान्छेको भिडमा उसको कुरा सुन्ने कोही छैन । उसको छेउबाटै मानिसहरू हिँडिरेहका छन् तर रुद्रे एक्लो छ यो काठमाडौंको भिडमा ।

अनामनगरस्थित मण्डला नाटकघरमा मंसिर २४ गतेदेखि मञ्चन भइरेहेको नाटक ‘झोला हराएको मान्छे’ ले रुद्रप्रसाद पोखरेलको कथा बोलिरहेको छ ।

स्लिम जीवनले तीन वर्ष अघि नै लेखेको यो नाटक अहिले दिपेन्द्र शाहीको निर्देशनमा पुस १७ गतेसम्म मञ्चन जारी छ । नाटकले नेपाली समाजमा व्याप्त रहेको बेरोजगारीको समस्यालाई उजागर गर्ने प्रयास गरेको छ ।

बेरोजगारीकै कारण रुद्र जस्तो सपनाको झोला बोकेर सात समुन्द्रपारि जान बाध्य तमाम युवाको मनोदशालाई पनि इंगीत गर्न खोजिएको छ ।

सपनाको सहर उडान गर्ने अघिल्लो दिन झोला हराएको छ । समय छैन यसैकारण रुद्र जो व्यक्ति भेटे पनि आफ्नो झोला खोजिदिन हारगुहार मागिरहेको छ । तर, उसलाई सहयोग गर्ने त कता हो कता उसको कुरा सुन्ने फुर्सद पनि छैन काठमाडौंका पैसा कमाउने ध्यानमा व्यस्त मानिसहरूलाई ।

काठमाडौंमा रुद्रेको मात्रै होइन हरेक व्यक्तिका केही न केही कुरा हराएका छन् । कसैको होस, कसैको परिचय, कसैकी प्रेमिका, कसैको आवाज, कसैको मुटु, प्रहरीको बर्दी त कसैको खेत हराएको छ ।

भारतले सिमाना मिचेर नालापानी, सुस्ता, टिस्टा आफ्नो नाममा पारेसँगै आफ्नो कमाइएको एकमात्रै स्रोत खेत हराएको भन्दै भारतलाई व्यंग्य गरेको छ ।

तर, स्वार्थ र जालझेलको राजधानी सहरमा रुद्रको विवशतालाई आफ्नो व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिरहेका छन् ।

एक लेखक जसले रुद्रको झोलाको बेलिविस्तारमा विवरण बुझ्छ तर खोजिदिएर सहयोग गर्न होइन आफ्नो नयाँ कथाका लागि ।

त्यस्तै फणिन्द्रले पनि उसको झोला खोजिदिने आश देखाएर कहिले आफ्नो होटलमा भाँडा माझ्न लगाए त कहिले फुटपाथमा लुगा बेच्न लगाए ।

यति धेरै आशामा भौंतारिरहेको रुद्रेले आफ्नो सपनाको झोला भेट्टाउन सफल हुन्छ त रु या रुद्रे सपनाको झोला बिर्सेर गाउँ फिरेर आफ्नै जन्मभूमिमा पसिना बगाउन तयार हुन्छ ?

यो कुरा थाहा पाउन भने नाटक नै हेर्नुपर्ने हुन्छ । नाटकमा थुपै सहायक पात्रमार्फत काठमाडौं सहर र यहाँ सपना बोकेर पस्ने थुप्रैका व्यथा र विवशतालाई उतार्न खोजेको ।

जसमा पूजा र उसको ग्याङ एक प्रतिनिधि पात्रका रूपमा उभ्याइएको छ । पूजा मार्फत् आफ्नो पारिवारिक बेमेलका कारण गाउँछोडेर सहर आएर देहव्यापार गरी खान बाध्य बनेका थुपै दिदीबहिनीहरूको कथा प्रस्तुत थर्न खोजएको छ ।

भने उनीहरूमार्फत् नै कसरी यो बिरानो सहरमा आफ्नो भोको पेट पाल्न चोरी र थाकेको ज्यान बिसाउन सडकका पेटी र गल्लीको सहार लिनुपर्छ भन्ने कुरा पनि चित्रण गर्न खोजिएको छ ।
सपनाको झोलामा रुद्रको विगतले भरिएको डायरीमार्फत् जनयुद्धका क्रममा सहिद भएका परिवारहरूको पीडा पनि पोख्न खोजेको छ ।

गणतन्त्र ल्याउन भनेर जनयुद्धका क्रमाम रुद्रका बुबाजस्तै हजारौँ सहिदहरूले बलिदान दिए ।

गणतन्त्र आएपछि जनयुद्धमा नेतृत्व गर्ने कयौंले सरकारकाको नेतृत्व र सरकारमै सहभागिता जनाउन पाएँ । तर, जसको बलिदानले गणतन्त्र आयो । तिनीहरूको परिवारले भने आफ्नो परिवारका एक सदस्य गुमाउनुबाहेक केही उपल्ब्धि पाएनन् ।

कथाको मागअनुरूप समयसमयमा नेपथ्यमा बजिरहेका गीत, तथा बाजाका धुनले दर्सकलाई अझै नाटकभित्र डुब्न मद्दत गरिरहेको हुन्छ । करिब डेढ घण्टा लामो नाटकमा रुद्र जस्तै दर्शकलाई पनि रुद्रको झोला अब भेटिन्छ कि अब भेटिन्छ कि भन्ने आश र कुतूहलताले बाँधेर राख्न नाटक र पात्रहरूको अभिनय सफल भएको छ । सँगै एक दृश्यलाई अर्को दृश्यसँग जोड्ने आख्यानकर्ताले पनि नाटकलाई अझै प्रष्ट पार्छ ।

तर, नाटकमा कहिले काहीं सुनिने आवाज र आख्यानकर्ताले दृश्य कथनका क्रममा बोलेको चर्को आवाजले दर्शकलाई कथाबाट दिग्रभ्रमित बनाउँछ । साथै केही पात्रले प्रयोग गरेका अपशब्दले परिवारसँग नाटक हेर्न गएका दर्शकले अप्ठ्यारो महसुस गर्न सक्छन् । एउटै नाटकमा धेरै कथा समेट्न खोज्दा दर्शक अन्योलमा पर्छन् ।

नाटकमा चन्द्र नेपाली, विकाश लामा, सुनिशा बजगाईं, सन्जितप्रताप मल्ल, सविना थापा, नवीनचन्द्र अर्याल, गणेश पौडेल, जयराम ढकाल, स्लिम जस्वन, मणिराज पौडेल, विशाल श्री, आनन्द महत, मोहन राई, अरुण सिंह पौडेल, संजीव योगीको अभिनय छ ।

नाटक सोमबारबाहेक बिहीबारसम्म हरेक दिन  ५ बजे मञ्चन भइरहेको छ ।