Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

केपी ओलीको प्रश्न : विदेशबाट नेपालीलाई आउन दिएर गाउँगाउँ कोरोना छर्न दिनुपर्छ ? (अन्तर्वार्ता)

केपी ओलीको प्रश्न : विदेशबाट नेपालीलाई आउन दिएर गाउँगाउँ कोरोना छर्न दिनुपर्छ ? (अन्तर्वार्ता)

  • मिडिया डबली

  • सोमवार, बैशाख ८ २०७७


  • विश्व यतिबेला कोरोना भाइरस संक्रमणको महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको संक्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले संक्रमणको भयावह स्थिति सामना गर्नुपरेको छैन । करीब डेढ महिना अघि मात्र मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि अहिले आरामको समय हो । तर उहाँ अस्पतालबाट डिस्चार्जपछि दैनिक यसै विषयमा केन्द्रित रहेर बिहान ६ बजेदेखि राति १२र१ बजेसम्म क्रियाशील हुनुहुन्छ । प्रस्तुत छ प्रधानमन्त्री ओलीसँग कोेरोना संक्रमण नियन्त्रण, संक्रमितको उपचार र बन्दाबन्दीका कारण विदेशमा रहेका नेपालीका सम्बन्धमा सरकारले गरिरहेको पहलका सेरोफेरोमा गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनाल, प्रबन्ध सम्पादक श्रीधर आचार्यसहित राज्यको स्वामित्वमा रहेका सञ्चार माध्यमहरूले गरेको विशेष कुराकानीको सम्पादित अंश :– विश्वका कतिपय मुलुकको तुलनामा नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमै देखिन्छ । तर पछिल्लो समयमा आएका रिपोर्टहरूले संक्रमितको संख्या बढेको छ । यसले कतै स्थिति भयावह हुने त होइन भन्ने मनोविज्ञानसमेत बनेको देखिन्छ । समग्रमा अहिले कोभिड–१९ को परीक्षण, रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासहरूको सम्बन्धमा प्रधानमन्त्रीज्यू स्वयंको मूल्यांकन के छ ? – कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वमा महामारीका रूपमा दावानलका रूपमा देखापरेको छ । डढेलोझैं फैलिइरहेको छ । करीब डेढ लाख मानिसको ज्यान लिएको छ । यो विश्वकै लागि चुनौती बनिरहेको छ । हामी विश्व परिवारको १ सदस्य राष्ट्र भएकाले हाम्रा निम्ति पनि चुनौतीरहित छैन । तर के स्पष्ट हो भने नेपालमा संक्रमित ३० जनामध्ये ३ जना निको भएर घर गएका छन् भने अरू उपचार गरी घर फर्किने क्रममा छन् । तीमध्ये १ जना मात्रै नेपालमा संक्रमित भएको र अरू बाहिरबाटै संक्रमित भएर आएका हुन् । तिनीहरूबाट अरूलाई सर्न नदिएर हामीले त्यो संख्यामा सीमित गरेका छौं । तर बाहिरबाट मात्र होइन, यहीँ संक्रमित भएकाहरू फेला पर्ने सम्भावना छ । किनभने कतिपय मानिस लुकेर बस्ने गरेको पाइएको छ । यसले केही गम्भीर संकेत गर्छ । केही मान्छे विभिन्न कारण हुन सक्छन्, पर्याप्त सचेत नभएको देखिन्छ । यो लुकेर लुकाउन सक्ने रोग होइन । लुक्यो भने झन् बढी विस्फोटक भएर आउने रोग हो । लुक्दा अरूलाई पनि लपेट्न अनुकूल वातावरण बन्छ । त्यसैले अरू पनि संक्रमित देखिन सक्छन् भन्ने अनुमान हो । विश्वमा यस्तो रेकर्ड दुर्लभ नै भन्नुपर्छ । हामी कहाँ यस रोगबाट कसैले पनि ज्यान गुमाउनुपरेको छैन । हाम्रो ध्यान कसैले पनि ज्यान गुमाउनुपर्ने परिस्थिति नबनोस्, राम्रो उपचारको प्रबन्ध गर्न सकौं भन्नेमा छ । कोरोना भाइरस संक्रमण बढ्न नपाओस् भनेर विश्व स्वास्थ्य संगठनको मापदण्ड र निर्देशन बमोजिम हामीले लकडाउन, सामाजिक दूरी अपनाउनुपर्ने जस्ता कुरा र अरू स्वास्थ्यसम्बन्धी सतर्कता अपनाउँदै आएका छौं । यो रोग हाम्रा पुर्खाले पनि नदेखेका हुँदा यसको उपचारको पूर्वतयारी कसैले गरेको थिएन । नयाँ भएकाले विभिन्न देशका अनुभव हामीले पनि अवलम्बन गर्ने हो । विश्वका ठूला र विकसित देशले पनि यससँग लड्ने तयारी गरेका थिएनन् । त्यसैले हामीले पहिलो बिरामीको परीक्षण हङकङमा गराउनुपर्‍यो । कोरोना भाइरससँग लड्न विश्व एकता, राष्ट्र राष्ट्रबीचको एकता आवश्यक भएको हुँदा हामी यसतर्फ पर्याप्त सतर्क छौं । हामी यसलाई नियन्त्रण, रोकथाम र उपचारका काममा सफलतापूर्वक अगाडि बढिरहेका छौं । अमेरिकालाई यो संक्रमणविरुद्ध लड्न हम्मेहम्मे परेको देखिन्छ, युरोपका केही देशको अवस्था त्यस्तै छ । अबको स्थिति कसरी अघि बढ्ला भन्ने आकलन गरिरहनुभएको छ ? – यसले नेपालमा विकराल रूप लिन सक्दैन । हामीले विकराल रूप लिन नदिनका लागि लकडाउन गरेका छौं, सामाजिक दूरी कायम गरेका छौं । जनतामा स्वास्थ्यसम्बन्धी चेतना जगाउने अभियान चलाएका छौं । सीमा क्षेत्रका प्रवेशद्वार तथा अन्य कुनै पनि अनौपचारिक बाटोबाट प्रवेश नदिने नीति लिएका छौं । तैपनि संक्रमित व्यक्तिहरू लुकीछिपी प्रवेश गर्ने कुरा यद्यपि छँदै छ । त्यस्ता मानिसलाई भरसक रोक्ने आइहाले परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनको अवधि सिद्धिएपछि मात्रै घर जान दिने काम हामीले गरेका छौं । हामीले परीक्षणलाई तीव्रता दिएका छौं । सतहत्तरै जिल्लामा परीक्षण गर्न सुरू गरिएको छ । साधनस्रोत, उपकरण र जनशक्ति सबै कुरा उपलब्ध गराएका छौं । सबै ठाउँमा खोजी खोजी बाहिरबाट आएका मानिसहरू, तिनका सम्पर्कमा रहेका मानिस र संक्रमितको सम्पर्कमा आउने सम्भावना भएका सबै मानिसलाई हामीले परीक्षण गरिरहेका छौं । परीक्षणको काम तीव्रताका साथ अगाडि बढेको छ । तसर्थ नेपालमा यो धेरै फैलने सम्भावना छैन । अब यसले हामीलाई झुक्याउन सक्दैन । अर्को कुरा अर्थतन्त्रमा परेको नकारात्मक असरका बारेमा कुरा उठिरहेको छ । मानिस बच्यौं भने मात्र अर्थतन्त्र काम लाग्छ । त्यसकारण मानवीय मूल्यलाई पहिलो महत्त्व दिनुपर्छ । मानव जीवनरक्षा पहिलो प्राथमिकता हो । अर्थतन्त्रमा यस वर्ष धक्का लाग्यो भने अर्को वर्ष उठाउन सकिन्छ । यस वर्ष मरेको मान्छे अर्को वर्ष पाउन सकिँदैन । बालबालिका टुहुरा भए भने तिनीहरूलाई अभिभावकत्व अर्को वर्ष दिउँला भनेर सकिँदैन । ज्येष्ठ नागरिकले सहारा गुमाउनु भयो भने फेरि हामीले सहारा उपलब्ध गराउन सक्दैनौं । त्यसकारण हामीले मानिस बचाउने कुरालाई प्राथमिकता दिएका हौं । लकडाउन घोषणाको २७ दिन भइसकेको छ । आगामी १५ गतेसम्मका लागि त लकडाउन घोषित नै छ । यो अझै कहिलेसम्म लम्बिन्छ ? यसको विकल्पमा अरू कुनै उपाय सोचिरहनुभएको छ कि ? – लकडाउन मात्र होइन, सीमा बन्द गरिएको छ, सामाजिक दूरी कायम गरौं, मास्क लगाऔं, अफवाह नफैलाऔं पनि भनिएको छ । सामाजिक दूरी कायम गरी एकबाट अर्कोमा सर्न नपाओस् भनेर लकडाउन गरिएको हो । लकडाउन जनताको जीवनरक्षाका लागि गरिएको हो । लकडाउनमा असुविधा हुन सक्छ तर यो रहरको विषय होइन । कतिपय मुलुकमा हेर्नुभयो भने खाल्टो खन्दै मान्छे पुर्दै गरेको अवस्था छ । हामी नागरिकलाई मर्न दिन्नौं । महामारीमा विभिन्न विधि अपनाएर बाँच्ने र फेरि सामाजिक जीवन चलाउने कि खाल्टा खन्दै मान्छे पुर्दै जाने कहर, रुवावासी, आतंकको बाटो अपनाउने ? हामीले क्वारेन्टाइनको व्यवस्था गरेका छौं । लकडाउनमा मात्र भर परेका छैनौं । लकडाउन एउटा विधि हो र सबैभन्दा प्रभावकारी विधि हो । सबै बिरामी भए भने उपचार गर्ने ठाउँ पनि हुँदैन । विकसित मुलुकले समेत अस्पतालमा भर्ना गर्न नसकेर बिरामीलाई घर पठाएका छन् । त्यस्तै स्थितिमा पुग्नुभन्दा हामीले जनता जोगाउनका लागि लकडाउन केही दिनका लागि गरिएको हो । जनतालाई दुःख दिइयो भनेर राजनीति गर्ने विषय होइन यो । लकडाउन यहाँ मात्र होइन, विश्वस्तरमै छ । अमेरिकामा जुन राज्यमा लकडाउन छ त्यहाँ संक्रमण कम छ, लकडाउन नभएको राज्यमा भयावह छ । त्यसैले यसलाई आर्थिक क्षेत्रमा पर्ने असरसँग जोड्नु हुँदैन । मानिस नरहे आर्थिक सुप्रिमेसी पनि खस्कन्छ । तसर्थ लकडाउन अनिवार्य कुरा हो । लकडाउन खुकुलो पार्ने मात्र होइन यसलाई अन्त्य नै गर्ने हो । लकडाउन अन्त्यका लागि पहिले हामी कोरोना मुक्त हुनुपर्छ । कोरोनाको यत्रो कहरमा अलिकति असुविधा त हुन्छ नै । कोरोना नियन्त्रण र निर्मूल पार्ने कुराको प्रत्याभूति भएपछि लकडाउन अन्त्य गर्ने हो । कोरोनाविरुद्ध हामीले सबै अस्त्र प्रयोग गरेका छौं । कोरोनालाई हामी नियन्त्रण गर्छौं, नियन्त्रणपछि हाम्रो देश स्वास्थ्य उपचार आदिको क्षेत्रमा एउटा ठूलो फड्को अगाडि गएको हुने छ । त्यस्तै जबसम्म विश्वमा कोरोनाको नियन्त्रण हुँदैन तबसम्म हामी प्रवेशद्वारप्रति सतर्क छौं । भावुक कुरा गरेर हुँदैन । आवागमन खुकुलो गरेर भुक्किएर पनि कोरोना प्रवेश गर्ने अवस्था सिर्जना हुन दिँदैनौं । कोरोना भाइरस संक्रमण विरुद्धको अभियानअन्तर्गत औषधि र उपकरण खरिदमा अनियमितताको चर्चा निकै सुनिएको छ । यसलाई यहाँले कसरी हेरिरहनुभएको छ ? – वर्तमान सरकारको भ्रष्टाचार र अनियमितताविरुद्धको प्रतिबद्धता सबैलाई थाहा छ । म भ्रष्टाचार आफू पनि गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ । मसँग जुन घर–घडेरी थियो त्यो २/४ वर्ष अगाडि नै हामी श्रीमान् श्रीमती बाँचुञ्जेलसम्म भाडा नतिरी बस्ने र हाम्रो शेषपछि त्यो ट्रस्टका रूपमा सरकारको हुने गरी पास गरेर दान गरिसकिएको छ । मेरी श्रीमतीले ३३ वर्ष राष्ट्र बैंकमा जागिर खाएर जम्मा गरेको पैसा, घरजग्गा सापटी आदि इत्यादि सबै प्रयोग गरेर बनाएको घरजग्गा हो त्यो । त्योबाहेक अरू सम्पत्ति छैन । मेरो नक्कली प्रतिबद्धता हुँदैन । मुख्य कुरा मेरो प्रतिबद्धतामाथि भर गर्ने हो । ललिता निवासको जग्गा र वाइडबडीको छानबिन हुँदैछ, जसले गराए उनीहरू नै अहिले भ्रष्टाचार भयो भनेर कराउँदै छन् । सुन तस्करीको छानबिन गरी अहिले ७३ जना मानिस जेलमा छन् । हामीले अन्य भ्रष्टाचार र तस्करीका प्वाल टालिदिएका छौं । अहिले विशेष परिस्थितिमा यस्ता कुरामा जो कर्ता थिए उनीहरू नै बाजा बजाएर बसेका छन्, सबै उस्तै हुन् भन्ने पार्न । यस विशेष परिस्थितिमा सामान्य खरिद प्रक्रिया अपनाउँदा किन छिटो सामान आएन भन्ने अवस्था आउने एकातर्फ छ भने अर्कोतर्फ औषधि खरिद प्रक्रिया मन्त्रिपरिषद्मा आउने होइन तर यसमा मेरो समेत नाम जोडियो । मन्त्रालयअन्तर्गतको विभागको महानिर्देशकले एक तह माथिका अधिकारीलाई जानकारी दिएर खरिद गर्न सक्छ । भएको त्यही हो । अहिलेको प्रधानमन्त्रीले खरिद बिक्रीको डिलिङ आदि इत्यादि गर्दैन । प्रधानमन्त्री पैसा कमाउन हिँडेको होइन देश बनाउन हिँडेको हो । मेरो देश बनाउने प्रतिबद्धता हो । जहाँसम्म औषधि खरिदको ठेक्का छ, ठेक्का पाएकाले भने अनुसार गरेन भने पछि ठेक्का तोडिएको मैले पत्रकार सम्मेलनपछि जानकारी पाएँ । त्यो काम महानिर्देशकको हो । त्यो उपयुक्त छ छैन, भयो भएन छानबिन गरेपछि थाहा हुने कुरा हो किनभने मलाई सोधेर गर्ने कुरा पनि होइन र गरेको पनि होइन । यस्तो कोरोनाको महामारीको अवस्थामा पनि कसैले अनियमितता गर्छ भन्ने कुरा म कल्पना पनि गर्न सक्दिनँ । यस देशमा भ्रष्टाचार, अनियमितता नगर्ने र साँच्चै देश बनाउने प्रतिबद्धता बोकेका मानिस पनि छन् । तर भ्रष्टाचारबाहेक केही नदेख्ने केही मानिस आफ्नो अनुहार ऐनामा हेरेर भ्रष्टाचारको कर्कस धुन बजाएर बसिरहेका छन्, बजाइरहन्छन् । प्रधानमन्त्रीले भ्रष्टाचारको प्रतिरक्षा गरे भनिरहेका छन् प्रतिरक्षा होइन भ्रष्टाचारका विरुद्ध हामी एकदमै स्पष्ट छौं । छानबिन गरेर दोषी भए कारबाही गरिन्छ । जेमा पनि काम गर्न नदिने हतोत्साही बनाउन खोज्ने कुराले मलाई सतर्क र अझ दृढसंकल्पित बनाउँछ, कमजोर बनाउन सक्दैन । मन्त्रिपरिषद्, उच्चस्तरीय समन्वय समिति र सीसीएमसीबीचको समन्वय, कार्यविभाजन र कार्यान्वयन कसरी भइरहेको छ ? जति बढी संयन्त्र उति बढी अन्योलजस्तो पनि हुने गर्दछ । रेपिड रेस्पोन्स गर्ने यो बेलामा कार्यान्वयनको खास जिम्मेवारी चाहिँ कसको हो ? – खास जिम्मेवारी हामी सबैको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हरेक व्यक्ति एउटा सिपाही हो । यो साझा लडाइँ हो । भूमिका सबैका आफ्ना ठाउँमा हुन्छन् । मन्त्रिपरिषद्ले निर्णयहरू गर्छ र निर्देशन दिन्छ । मन्त्रिपरिषद्का निर्देशनहरू अरू सबै निकायले कार्यान्वयन गर्ने हो । उच्चस्तरीय समितिले समन्वय गर्छ । सीसीएमसीले सामग्री व्यवस्थापन, प्राथमिकता निर्धारण र सूचना आदानप्रदान गर्छ । सेना, प्रहरी र निजी चिकित्सकसमेतलाई परिचालन गर्छ । यसमा कसैको भूमिकामा दोहोरोपन हुँदैन । हामीले आवश्यक जनशक्ति तयार गरेर बसेका छौं । यी तयारी तमासा देखाउनका लागि होइन तर सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार सही छैन । यो नकारात्मकताको विम्ब हो । यथार्थ होइन । कोरोना संक्रमण नियन्त्रणको कार्यमा प्रमुख प्रतिपक्षले पनि भूमिका खोजेको जस्तो देखिन्छ । उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने आवाज पनि सुनियो ? त्यस्तो आवश्यकता देख्नुहुन्छ ? – विश्वका कुनै देशमा सरकारभन्दा माथि बसेर सरकारलाई मार्गदर्शन गर्ने उच्चस्तरीय संयन्त्र बनाइएको छ ? मैले त देखेको छैन । गुगलमा खोजें, पाइनँ । अमेरिका, बेलायत, जर्मनी, फ्रान्स कुन प्रजातान्त्रिक देशमा बनेको छ ? नेपालमा दुईतिहाइको सरकार छ, यसले जनताको म्यान्डेट अनुसार आफ्नो कर्तव्य निर्वाह गर्दछ । अर्को कुरा, सरकारले सबै राजनीतिक दल, संघसंस्था, नागरिक समाज र आम जनतासँग सहकार्य गर्नुपर्छ । सबैका कुरा सुन्नुपर्छ, राय सुझाव लिनुपर्छ । राम्रा सुझावलाई ग्रहण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । नेपाल सरकारले राजनीतिक दलहरूसँग कोरोना संक्रमणका सन्दर्भमा बैठक गरेको छ र परामर्श लिएको छ । नागरिक समाज भनेको को हो ? उच्चस्तरीय संयन्त्र आवश्यकै हो भने प्रधानमन्त्रीको अध्यक्षतामा सबै नागरिक सदस्य रहने गरी बनाउँ । त्यसो हुँदा पत्रकार, लेखक, कलाकार, बुद्धिजीवी सबैको प्रतिनिधित्व हुन्छ । यो सरकार संविधान र कानुन अनुसार चल्छ । जनताले सुम्पेको उत्तरदायित्व र आफ्नो कर्तव्य अनुसार चल्छ । कोरोना भाइरस सकेसम्म भित्रिन नपाओस् भनी सरकारले गरेको पूर्वतयारीका कारण नेपाल अहिलेसम्म त सुरक्षित नै देखिएको छ तर केही मानिसले सरकारले केही गर्न सकेन, तयारी केही भएन, असफल भयो जस्ता प्रचार निकै गरेको देखिएको छ । यो सरकारप्रतिको पूर्वाग्रह हो कि ? विकसित हुँदै गरेको नकरात्मकताको विम्ब हो ? यहाँलाई कस्तो लाग्छ ? – त्यस्तो आग्रहपूर्ण ढंगको विरोधले उनीहरूको सामाजिक मनोदशा, सांस्कृतिक स्तर देखाउँछ । अन्य देशमा कोरोना संक्रमणले दिनमा ४ हजारसम्म मानिस मरिरहेका छन्, संक्रमित हुनेहरूको संख्या बढिरहेको छ । हामी त्यसका विरुद्ध गम्भीर हुनुपर्ने, सतर्क हुनुपर्ने, एकजुट भएर लड्नुपर्नेमा मान्छे मरेनन् भनेर चिन्ता गर्ने ? विदेशबाट कोरोना भाइरस बोकेर आउन दिनुपर्छ, गाउँगाउँ छर्न दिनुपर्छ भन्ने ? मैले नेपालीहरू रहेका थुप्रै देशसँग कुरा गरेको छु । भारत सरकारसँग प्रधानमन्त्री मोदीजीसँग कुरा भएको छ र हाम्रो राम्रो समझदारी छ । हाम्रो अन्तरसम्बन्धको दुरुपयोग भई कोरोना नियन्त्रणमा समस्या नबनोस् भन्नेमा हाम्रो दृढ समझदारी छ । त्यसै गरेर यूएईमा मैले उपराष्ट्रपतिसँग कुरा गरेको छु । त्यहाँ रहेका नेपालीलाई जागिर गएको छ भने पनि खाने, बस्ने र उपचारको प्रबन्ध त्यहाँका नागरिकसरह सरकारले गर्ने छ भनिएको छ । त्यसै गरेर कुवेत, ओमान, बहराइन, कतार र अरू विभिन्न मुलुकसँग मैले कुरा गरेको छु । उहाँहरूले नेपालीलाई आफ्ना नागरिकभन्दा भिन्न व्यवहार गर्दैनौं भन्नुभएको छ । लकडाउन लम्बिँदै जाँदा कतिपय मजदुर, श्रमिक र अन्य बेरोजगार बनेका असंगठित क्षेत्रका मजदुर र स्वरोजगारहरू स्वदेश र घर फर्किने चाहनाले लामो दूरीको यात्रा पैदलै तय गरिरहेका देखिन्छन् । यसो गर्दा पक्कै पनि कष्ट त हुने नै भयो । यस स्थितिलाई व्यवस्थित गर्न सरकारले के सोचिरहेको छ ? – सञ्चारकर्मी र सञ्चारमाध्यमहरूलाई म अनुरोध गर्न चाहन्छु– कुनै ठाउँमा अघिल्लो दिन मानिस अलपत्र परेको भिडियो भोलिपल्ट साँझ मात्र प्रसारण हुन्छ । त्यस्तोमा मेरो आग्रह अनुरोध छ सरकारलाई जानकारी गराउनुस् न । सरकारका निकायलाई जानकारी गराउँदा अघिल्लै दिन व्यवस्थापन भइसक्थ्यो । नेपाल टेलिभिजनले पनि जनताका कुरा सुन्ने टेलिफोन सेवा सुरु गरोस् त्यसो भयो भने सरकारलाई समस्या समाधानमा सहयोग पुग्ने छ । सरकारले त्यसरी बाटोमा हिँडिरहेका, समस्यामा परेका मानिसका लागि जहाँ पुगेका छन् त्यहाँ खाने बस्ने व्यवस्था गरेको छ, गर्छ तर एउटा कुरा अचम्म लाग्छ स्थानीय प्रहरी, प्रशासन र सरकारलाई मानिस समस्यामा परेको जानकारी हुँदैन, पत्रकार कति छिटो हर्ररै त्यहाँ पुग्छ । पत्रकारहरू पनि समस्या समाधानका लागि रचनात्मक भइदिएर एउटा टेलिफोन गर्दिए हुन्थ्यो । मानिसको बिजोगसँग रमाइलो गर्ने गरी मिडिया प्रस्तुत भएको पनि देखिन्छ । औपचारिक अनौपचारिक क्षेत्रमा काम गर्ने कोही पनि अप्ठ्यारोमा परेको छ भने सरकारले खाने बस्ने उचित प्रबन्ध गर्छ । यो सरकारले कोरोना भन्दा अघिदेखि भन्दै आएको हो – कोही खान नपाएर मर्नु पर्दैन, मर्दैन । अरू कुरामा पनि जनतालाई असुविधा अवश्य भएको छ । हामीले लकडाउन हुनुभन्दा अघि नै मानिसलाई कहाँ जानुपर्ने छ जानका लागि प्रेरित गरेका थियौं । चैत ९ गतेको निर्णयपछि पनि हामीहरूले लकडाउन हुँदैछ आवागमन रोकिन्छ भनेका छौं । यो सामान्य अवस्था त होइन त्यसैले केही असुविधा त हुन्छ । तर सरकार जनताका यथोचित समस्या समाधान गर्न तत्पर छ । रोगले नभई भोकैले मरिने भो भन्ने जस्तो स्थिति होइन । कोही भोकै नपरुन् भनेर अहिलेसम्म करिब ८० करोड रुपियाँको राहत बाँडिएको छ । रोजगारीका अवसरका लागि पनि सरकारले सोचिरहेको छ । एकातिर लकडाउन लम्बिइरहेको र यसलाई प्रभावकारी बनाउनुपर्ने अवस्थामा दैनिक उपभोग्य सामानको आपूर्ति व्यवस्था नियमित गर्नपर्ने दायित्वलाई पूरा गर्न कस्तो प्रबन्ध भइरहेको छ ? – आपूर्ति व्यवस्थाका लागि विभिन्न ठाउँमा बिक्री केन्द्रहरू खोलिएको छ । मूल्यवृद्धि हुन दिएका छैनौँ । इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको छ । मुलुकमा अनिकालको स्थिति छैन । अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही गरिएको छ । ग्यासको खपत स्वाभाविक रूपमा घटेको छ । तरकारी, दाल, चामल आपूर्तिमा कमी छैन । आपूर्ति व्यवस्थामा समस्या छैन । आपूर्ति व्यवस्था मात्र होइन क्रयशक्रि नभएका व्यक्तिका लागि पनि सरकारले क्रयशक्तिको व्यवस्था गर्छ । यस देशमा कोही भोकै पर्दैन, कोही भिखमङ्गा हुनुपर्दैन, सडक बालबालिका हुुनुपर्दैन । यो सरकार हुने खानेको मात्र नभई गरीब निमुखा अशक्त सबैको सरकार भएको हुनाले सबैको आधारभूत बाँच्ने स्थितिको निर्माण गर्छ । नेपाल–भारत सीमामा अलपत्र नेपालीहरू आफ्नै देशमा आउन नपाएको गुनासो छ । यस्तै विदेशमा खासगरी खाडीमा रहेका कामदारको अवस्था झन् संवेदनशील बन्दैछ । विद्यार्थीको समस्या पनि बढ्दैछ । यसमा सरकारले के गर्न सक्छ ? उनीहरूलाई ल्याउने, वैकल्पिक रोजगारी दिने वा अरू वैकल्पिक व्यवस्था मिलाउने ? – आफ्नो देशमा जान पाइएन भन्ने कति जना ? देशभक्ति उम्लिने कति जना ? यतिबेला देशभक्ति उम्लिएर ल्याउने परिणाम के ? अहिले कोरोना बोकेर आउन पाउनुपर्छ गाउँ गाउँमा फैलाउनुपर्छ, मान्छे सोत्तर पार्न पाउनुपर्छ भन्ने हो ? त्यसो गर्न नपाउँदा पनि जेसुकै होस् भनेर छाडेको छ त ? भारत सरकारले २१८६ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको छ । होटलमा बस्नुस् भन्दा दसगजामा बस्ने, अलिकति सामाजिक दूरी कायम गर्नुपर्छ भन्दा हैन हामी समूहमा बस्छौं भन्ने ? सीमा क्षेत्रमा लम्पसार पर्दिने ? होटलमा बस्नुस् भन्दा नमानेर दसगजामा लाइन लाग्नुलाई अलपत्र कसरी भन्ने ? भारतमा दिनदिनै संक्रमण बढिरहेको छ, नेपालीहरू दिनहँु घर फर्कने कुराले नेपालमा संक्रमणको सम्भावना के हुन्छ ? विद्वान्हरू नेपालमा संक्रमण नफैलिएकोमा चिन्ता जाहेर गर्दै अनागरिक बनाउन पाइन्छ ? देश फर्किने अधिकारबाट वन्चित गर्न पाइन्छ ? भनिरहेका छन् । परिस्थिति बुझेर आग्रहहरू राख्न पाइन्छ कि बुझ्दै नबुझिकन । के धार्चुलाका मानिसहरू खानै नखाइकन २०/२५ दिन त्यसै बसेका होलान् ? खाने बस्ने प्रबन्ध गरिएको छ । हामी एक जना पनि संक्रमित व्यक्ति भित्रिन दिँदैनौँ । सुदूरपश्चिमलाई कोरोनाको इमिसेन्टर हुन दिइँदैन । नेपालमा कोरोना नियन्त्रणमा आएपछि लकडाउन हट्न वा खुकुलो हुन सक्छ तर भारतमा कोरोना भाइरसको स्थिति के हुन्छ त्यसलाई नहेरी सीमा खोल्न सकिँदैन । खोल्यौं भने यो प्रोसेस कहिले पनि टुङ्गिँदैन । विश्वले भाइरस संक्रमणको सुरु सुरुमा आवागमनलाई कडाइ नगरेका कारण अहिलेको स्थिति पैदा भएको हो । विदेशमा रहेका नेपालीका सन्दर्भमा मैले माथि पनि भनेँ, मैले र परराष्ट्रमन्त्रीले कुरा गर्दा राम्रो समझदारी भएको छ । उहाँहरूले आफ्ना नागरिकसरहको व्यवहार गर्छौं ढुक्क हुनुस् भन्नुभएको छ । साइप्रसको विषयमा हामीले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई पैसा पठाउन उनीहरूका अभिभावकलाई डलर सटहीको सुविधा उपलब्ध गराएका छौं । मैले त्यहाँका राष्ट्रपतिसँग पर्सि बुधबार कुराकानी गर्दै छु । संवाद सकारात्मक हुने छ भन्ने मैले विश्वास गरेको छु । विदेशमा रहेका नेपालीहरू कोरोनासहित होइन, कोरोनारहित भएर फर्कनुपर्छ । यस्तो विषम स्थितिमा सरकार र पार्टी नेतृत्व एकताबद्ध र समन्वयात्मकरूपमा अघि बढ्नुपर्नेमा सरकार एकातिर पार्टी अर्काेतिर जस्तो देखिएको छ । एकतापछि पार्टीमा पूर्वसमूह वा अन्य खेमामा नाममा विवाद कायमै देखिन्छ ? – सरकार एकजुट छ । एकताबद्ध छ । सरकार एउटै लय र तालमा अघि बढिरहेको छ । हाम्रो प्रणालीमा पुरानो ढाँचाको कर्मचारी संयन्त्र भएकाले हाम्रो गतिसँग अभ्यस्त हुनमा विलम्ब भएको हुनसक्छ । यद्यपि म कर्मचारीलाई दोष दिन चाहन्न । उहाँहरूले नयाँ स्पिरिट समात्न समय लागेको हुनसक्छ । पार्टी पनि एक छ । सरकारको काममा सबै नेताको समर्थन र साथ छ । केहीले व्यक्तिगत कुण्ठा, अन्योल र दिशाहीनताले सदाबहार कराउने प्रवृत्ति देखिन्छ । हुटिट्याउँ प्रवृत्ति छ । ती कुराहरू कति सान्दर्भिक छन् ? तिनले आफैंलाई असान्दर्भिक बनाउँछन् । तिनले बिरामी प्रधानमन्त्रीले देश चलायो भन्छन् । मबाट योभन्दा बढी के अपेक्षा गर्ने ? आफैं बिरामी भएर पनि देशलाई संक्रमणबाट जोगायो भन्न पनि सकिन्थ्यो । मेरो काम गर्ने बानी छ, गरिरहन्छु । म अहिले पनि दैनिक १८ घण्टा काम गर्छु । मलाई जश लिनुपर्ने वा मूल्याङ्कन होस् भन्ने भावना पनि छैन । बफादारिताका साथ देश र जनताका लागि काम गर्ने हो । अराजकतालाई लोकतन्त्र ठान्ने प्रवृत्ति ठीक होइन । त्यस्ता प्रवृत्तिले पार्टीलाई नोक्सान नगरी सम्बन्धित व्यक्तिलाई नै नोक्सान गर्छ । (आजको गोरखापत्र दैनिकबाट साभार)

    सोमवार, बैशाख ८ २०७७०६:१८:३४
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology