विद्रोही समूहद्वारा १४ सर्वसाधारणको निर्मम हत्या

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, कार्तिक ३०, २०७६

नेपाटप

काठमाडौं – सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै अफ्रिकी मुलुक कंगोको युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेको छ ।

हत्याको घटना शुक्रवार रातिदेखि शनिवार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत २ हप्तामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपाल लाइफ

हत्याका घटनाहरू कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा भएका छन् । कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकूविरुद्ध आक्रामक सैन्य कारबाही गर्ने विषयमा गत महिना घोषणा समेत गरेको थियो । विद्रोहीको प्रभाव क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरूको समूह एलाइड डेमोक्रेटिक फोर्सेस (एडीएफ) सक्रिय रहेको छ ।

बेनीका प्रशासक डोनाट किबवानाले विद्रोहीले स्थानीयमाथि धारिलो हतियारले आक्रमण गरेर हत्या गरेको तथा घर र पसलमा लुटपाट समेत गरेको बताए । सरकारी फौजले गत अक्टोबर ३० मा स्थानीय क्षेत्रमा सक्रिय लडाकूहरूलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।

कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडीएफले विगत पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरिसकेको सञ्चारमाध्यमले जनाएका छन् ।

इस्लामिक स्टेट समूहले एडीएफले गरेका कतिपय आक्रमणको जिम्मेवारी समेत लिएको छ । हत्याको घटनापछि सेनाले गस्तीलाई तीब्र बनाएको छ ।