कर अधिकृतलाई कार्यालयमै जिउँदै जलाइएर मारियो, बचाउन खोज्नेको पनि मृत्यु

हैदरावाद (भारत) – सम्पत्तिसम्बन्धी विवादमा दक्षिणी भारतको तेलंगना राज्यमा महिला कर अधिकारीलाई जीवितै आगो लगाएर जलाइएको छ ।
कर अधिकृत विजय रेड्डीलाई कार्यालयमै आगो लगाइएको थियो । उनलाई जोगाउन खोज्ने एक कर्मचारीको पनि आगोमा परेर मृत्यु भएको छ ।
रेड्डीलाई कार्यालयको ढोका बन्द गरी आगो लगाइएको थियो । रेड्डीले सहयोगका लागि याचना गरेको एउटा भिडियो सार्वजनिक भएको छ ।
आरोपितलाई भारतको प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो साढे १ बजे अदालतको सुनुवाइबाट फर्किएपछि कर अधिकृत रेड्डीमाथि सांघातिक हमला भएको हो ।
रेड्डीलाई बचाउने क्रममा कार्यालयका अन्य दुई कर्मचारी चन्द्रिहा र गुरुनाथम पनि जलेर घाइते भएका थिए । तीमध्ये गुरुनाथमको मृत्यु भएको छ । आफूले रेड्डीको कार्यालयबाट केही चित्कार सुनेको तर ढोका भित्रबाट बन्द गरिएको गुरुनाथमले मृत्यु हुनुअघि बताएका छन्
‘रेड्डी ढोका खोलेर बाहिर आउन सकिनन् । आगो फैलिनुअघि उनी भुइँमा ढलिन्,’ गुरुनाथमले भने । सुरेश पनि जलेको शरीरसहित कार्यालयको भवनबाट बाहिर दौडिएका थिए ।
प्रहरीले उनलाई उद्दार गरेर अस्पताल लगेको थियो । घटनास्थल तेलंगना राज्यको राजधानी हैदरावादबाट ३२ किलोमिटर टाढा अब्दुल्लाहपुरमा पर्छ ।