मन्त्रीले एकाएक दिए राजीनामा, प्रधानमन्त्रीलाई झड्का !

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, कार्तिक १४, २०७६

नेपाटप

काठमाडौं – विगत एक हप्ताको अन्तरालमा एकपछि अर्काे गर्दै दुई जना मन्त्रीले राजीनामा दिएपछि जापानका प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले आज बिहीवार राजीनामा दिएका छन् । कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लंघन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

नेपाल लाइफ

जापानी साप्ताहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ वर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि ५६ वर्षीय न्यायमन्त्री कावाईले राजीनामा दिएका छन् ।

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको पत्रिकाको अनलाइन संस्करणमा छापिएको छ । पत्रिकाले सार्वजनिक गरेको तथ्यांक अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानुनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराइएको थियो ।

मन्त्री कावाई समेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप समेत पत्रिकाले लगाएको छ ।

प्रधानमन्त्री आवेलाई राजीनामा बुझाएपछि आज बिहीबार पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौं । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।’

हिरोसिमाको निर्वाचन क्षेत्र नम्बर ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्हेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन् ।

गत शुक्रबार पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उनले पनि राजीनामा दिएका थिए ।

जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमायाचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमायाचना गर्छु,’ उनले भने ।