चीनको ज्यानमारा भाइरस भ्रमण वर्षसँगै नेपाल भित्रिने जोखिम, कस्तो छ खतरा ?

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, माघ ५, २०७६

नेपाटप

काठमाडौं – छिमेकी मुलुक चीनमा फैलिएको निमोनिया जस्तै मानिसको मृत्यु हुने ज्यानमारा कोरोना भाइरसको संक्रमणबाट नेपाल उच्च जोखिममा रहेको छ ।

चीनमा फेला परेको खतरनाक भाइरसको डरले विश्वभरका अधिकांश देशमा कडा सावधानी अपनाउने गरिएको छ ।

नेपाल लाइफ

नेपालमा भ्रमण वर्ष सुरू भएको र विदेशी लगायत चिनियाँ पर्यटक समेत नेपाल आउने सन्दर्भमा भाइरस रोकथामका लागि नेपाल सरकारले पनि काम गरिरहेको छ ? गम्भीर स्वास्थ्य समस्या हुनसक्ने विषयलाई लिएर चिकित्सकहरू विभिन्न निकायसँग छलफल गरिरहेका छन् ।

हाल नेपालमा भ्रमण वर्ष २०२० चलिरहेको छ । पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्दो रहेकाले उनीहरूसँगै ज्यानमारा भाइरस लगायतको रोग पनि आउन नेपाल सक्नेतर्फ सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् । भ्रमण वर्ष २०२० प्रभावकारी भएपछि पछिल्लो केही महिनादेखि चिनियाँ पर्यटकहरूको वृद्धि भइरहेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशलाई कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै तयारी अवस्थामा रहन भनेकाले नेपाल सरकार चनाखो भएर तयार रहनुपर्ने चिकित्कहरूले सुझाव दिइसकेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले भने, ‘प्रकोप फैलिएको ठाउँबाट आएका बिरामीलाई निगरानीमा राखिएको छ । केही दिनअघि अध्ययनका लागि चीन गएका ३२ वर्षीय नेपाली विद्यार्थी काठमाडौं आएपछि रुघाखोकी र ज्वरो आए सरुवा अस्पताल आएका थिए । उनलाई कोरोना भाइरसको लक्षण देखिएपछि गत अस्पतालमा भर्ना गरेर विशेष निगरानीमा उपचार भइरहेको छ ।’

चीनको उहानबाट फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकको निगरानीमा राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार गरिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले समेत विज्ञप्ति जारी गर्दै एक स्कूले बालिकामा कोरोना भाइरस भएको पुष्टि भएको जनाइसकेको छ ।

ताइवानमा समेत भाइरस फैलिएकाले नेपाल यसको उच्च जोखिममा रहेको बताइन्छ । धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउनु सके देशको पहिचान फैलाउने सकिने सरकारको भनाइ छ । नेपालमा हालसम्म नदेखिएका प्राणघातक संक्रमण पर्यटकसँगै भित्रिने सम्भावना रहेको चिकित्सकहरूले बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कलाई अझ विस्तार, चुस्त र प्रविधियुक्त बनाउनुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ । चीनमा नयाँ भाइरसको संक्रमणबाट फैलिएको निमोनियाका कारण धेरैको ज्यान गइसकेको छ । थाइलाइन्ड, जापान र चीनमा देखिएको यो भाइरस मानिसबाट मानिसमा सर्ने गरेको छ ।

चीनमा ४४ जनामा भाइरसको संक्रमणपछि निमोनिया भएर अस्पतालमा उपचार गराइरहेका छन् । त्यसमध्ये ११ जनाको स्थिति चिन्ताजनक रहेको बताइएको छ । धेरैमा ज्वरो मात्र देखिएपनि कसैकसैलाई श्वासप्रश्वासमा कडा समस्या देखिएको छ ।

सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा मानिसमै देखिएको छ । यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सीएमडीएन)ले सात वर्ष लगाएर गरेको अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ ।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन् । सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डा. बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए ।

सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन् । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ । सार्स जनावरबाट मानिसमा सर्छ । तर नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने होरहोइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले बताएका छन् ।

के हो कोरोनाभाइरस ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसको ठूलो समूहको एउटा सदस्य हो । कोरोनाभाइरस भर्खरै पहिचान गरिएको हो । यो जनावरबाट मानिसमा सर्ने भाइरस हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसहरूमा केही साझा लक्षण देखिन्छन् । ज्वरो आउनु र खोकी लाग्नु, छिटोछिटो सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु, गम्भीर भएमा निमोनिया हुनु, सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु, मिर्गौलाले काम गर्न छोडेर मृत्युसमेत हुन सक्छ । जसले गर्दा यो भाइरसबाट बच्न नियमित रूपमा हात सफा गर्ने, मासु र अण्डा राम्रोसँग पकाएर खाने गर्नुपर्ने चिकित्सकको सुझाव छ ।