केपी ओलीले कलेजो प्रत्यारोपणबारे डाक्टरसँग बालुवाटारमै गरे छलफल

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक २९, २०७६

नेपाटप

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कलेजो प्रत्यारोपणबारे विशेषज्ञ डाक्टरसँग बालुवाटारमै छलफल गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको कलेजो प्रत्यारोपणको प्रशंसा गर्दै ओलीले सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

नेपाल लाइफ

प्रधानमन्त्री ओलीले कलेजो प्रत्यारोपणमा नेतृत्व गरेका डा. रमेशसिंह भण्डारी सहितको टोलीसँग शुक्रवार भेटघाट गरेर सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले करीब २० मिनेट प्रत्यारोपण सेवा र चुनौतीबारे चासो राखेका जनाइएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा डा. भण्डारीले दक्ष जनशक्तिका साथै पूर्वाधारको आवश्यकता रहेको जानकारी दिएका थिए । डा. भण्डारीले आवश्यक पूर्वाधार नभए कलेजो प्रत्यारोपण सेवालाई दीगो बनाउनु चुनौतीपूर्ण रहेको जानकारी समेत ओलीलाई दिएका छन् ।

अस्पतालले हालसम्म तीन जना व्यक्तिमा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिसकेको छ । भेटमा प्रधानमन्त्री ओलीले प्रत्यारोपण सेवालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।