कोरोना देखिएकी युवतीसँगै सयभन्दा बढी यात्रु आएका थिए काठमाडौं, खुल्यो रहस्य !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, चैत्र १०, २०७६
प्रतिकात्मक तस्वीर

नेपाटप

काठमाडौं – राजधानी काठमाडौंमा कोरोना भाइरसको संक्रमण भेटिएकी १९ वर्षीया युवतीसँगै कतार एयरवेजको विमानबाट सय जनाभन्दा बढी यात्रु काठमाडौं आएको पत्ता लागेको छ ।

ती नेपाली युवती कतार एयरवेजको विमानबाट काठमाडौं आएको खुलासा भएसँगै सयभन्दा बढी यात्रु त्यो विमानमा रहेका पाइएको छ ।

नेपाल लाइफ

नेपाल पर्यटन बोर्डले चैत ४ गते कतार एयरवेजबाट ती युवती नेपाल आएको पुष्टि गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार ती युवती काठमाडौं आएको दिन कतारबाट काठमाडौंका लागि ३ वटा उडान आएका थिए । ती जहाजमध्ये संक्रमित युवती कुन जहाजमा थिइन् भन्ने खुलेको छैन ।

चैत ४ गते कतार एयरवेका ३ जहाजमध्ये पहिलो जहाज क्यूआरर ६५२ जहाजमा २०५ यात्रु थिए, क्यूआर ६५० जहाजमा १०६ जना यात्रु थिए भने क्यूआर ६४४ जहाजमा १५३ यात्रु रहेका थिए । ती युवती यीमध्ये जुनसुकै विमानमा आएकी भएपनि सबै विमानमा सयभन्दा बढी यात्रु रहेका छन् ।

पर्यटन बोर्डले सार्वजनिक आह्वान गर्दै कतार एयरबाट काठमाडौं आएका सबै यात्रुलाई कडा क्वारेन्टाइनमा बस्न आह्वान गरेको छ ।

पर्यटन बोर्डले भनेको छ, ‘ चैत ४ गते (मार्च १७) कतार एरवेइजबाट नेपाल आएका एक जनामा कोरोना भेट्टिएको छ । त्यस फ्लाइटमा भएका सम्पूर्ण यात्रुहरू कडा आफैंलाई क्वारन्टाइन गर्नुहोस् र यदि तपाईंलाई रुघाखोकी वा ज्वरो आएमा जतिसक्दो चाँडो टेकू अस्पतालमा रिपोर्ट गर्नुहोस् ।’


चैत्र ४ गते फ्रान्सबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलनमार्फत पुष्टि गरेका छन् ।