कांग्रेस कहाँ छ ? चितवन, भक्तपुर र धरान गएर हेर्नुहोस् !

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं – उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘कांग्रेस कहाँ छ’ भनेर प्रश्न गर्नेहरूलाई कडा जवाफ दिएका छन् ।

प्रवक्ता शर्माले कांग्रेसलाई नदेख्नेहरूले नेकपाका अध्यक्ष केपी शर्मा ओलीको घर भएको भक्तपुर र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्षेत्र रहेको चितवनमा गएर हेर्न सुझाव दिएका छन् ।

नेपाल लाइफ

उपनिर्वाचनमा नेपाली कांग्रेसले भक्तपुरमा प्रदेशसभा र चितवनमा सबै वडाध्यक्ष जितेको थियो । दुईतिहाइ बहुमत प्राप्त कम्युनिस्ट सरकारका प्रधानमन्त्री र पार्टी अध्यक्षको गृहजिल्लामै कांग्रेसलाई सहजै देख्न सकिने जवाफ प्रवक्ता शर्माले दिएका छन् ।

सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले भनेका छन्, ‘कांग्रेस कहाँ छ भन्नेले प्रचण्डको चितवन, केपी ओलीको भक्तपुर गएर सोधे हुन्छ । त्यहाँ छ भन्ने आत्मबल उपनिर्वाचनले दिएको छ ।’ कम्युनिस्टको गढ मानिने धरानमा समेत कांग्रेसलाई देख्न सकिने कांग्रेसले जनाएको छ ।

कम्युनिस्ट सरकारले निर्वाचन निष्पक्ष गराउनेभन्दा पनि नेकपाका उम्मेदवारलाई जिताउने ध्यान दिएकाले कांग्रेस केही कमजोर देखिएको प्रवक्ता शर्माले बताए । चुनावको मिति तोकिएपछि प्रदेश प्रमुख नियुक्ति, मन्त्रिपरिषद् हेरफेर, प्रहरीका अधिकारीको सरूवा गरेर कम्युनिस्ट सरकारबाट निर्वाचन आचारसंहिता उल्लंघन गरिएको प्रवक्ता शर्माले बताएका छन् ।

उपनिर्वाचनको नतिजा हेर्दा २१ महिनासम्म कांग्रेसले प्रतिपक्षमा रहेर खेलेको भूमिकालाई पनि मतदाताले रुचाएको समेत प्रवक्ता शर्माले बताए । ‘उपचुनावमा मतान्तर घटेको छ । सांगठनिक आत्मबल बढाएको छ । बाहिर गति र भित्र अन्तरविश्वास बढाउ भन्ने सन्देश मतदाताबाट प्राप्त भएको छ । सांगठनिक कमजोरीको समीक्षा गर्छौं,’ उनले भनेका छन् ।