Media Dabali

  • Ad
  • सागर बुढाथाेकी प्रकाशित : २०७३/८/२७ गते
    ५२५६ पटक
    14333761_560960517427512_1167271426157197385_nकाठमाडौं।

    युनिसालाई प्रपोज गरेको पनि तीन दिन भइसकेको थियो । प्रपोज गर्दा त उ फुरुङ्ग भएकी थिइ, धेरै हिम्मत गरेर उसलाई प्रपोज गर्नु परेको थियो । उसले एकदुई दिनमा सोचेर भन्छुभन्दै टारेकी थिइ । एकदुई दिनसम्म रिप्लाई नआउँदा सामान्य लागेको थियो । सरपराईज दिन होला भन्ने सोचेर केही दिनदेखि प्रतिक्षा गरिरहेको । तीन दिनसम्म कुनै प्रतिक्रिया नआएपछि डर लाग्न थालेको थियो । प्रतिक्षाको सीमा रहेन चौथो दिन उसको घरमै पुग्नु पर्यो ।

    उसको भाषा सापटी लिएर भन्नु पर्दा उ ‘साच्चिकै सुपर साइको’ हो । निरन्तर चलिरहने समयभन्दा पनि धेरै चाडो चलेर हो, कि आवश्यकताभन्दा वढी पुगिसरी भएर हो, अझ भनौ सोचेको भन्दा पनि धेरै साथमा भएर हो, उसले धेरै माया गर्ने धेरैको मन दुखाएको छ । तोड्नै नहुने विश्वासहरुलाई तोडेको छ । आफ्नालाई पराई ठानेको छ । अजम्बरी नाता सम्बन्धहरुलाई खेलौना मानेको छ । एकै शब्दमा भन्नु पर्दा उसको शब्दकोषमा माया, प्रेम, नातासम्बन्ध, फ्रेन्डसिप सब ‘बकवास’ हो । उसको जिन्दगीमा यी कुराहरुले कहिल्यै मान्यता राख्दैनन् ।

    त्यसैको परिणाम होला आज यति ठूलो संसारमा साँधुरिनु परेको । मान्छेहरुको भिडभित्र पनि एक्लोएक्लो र रित्तो रित्तो भएको । अव उसँग बाँकी रहेको छ त केबल अतितका धुलमिल बाछिटाहरु । तिनै यादहरुलाई आधार मानेर आजसम्म चालिरहेछन् उसले गन्तव्यहिन पाइलाहरु ।

    सम्पन्न परिवारको एक्लो छोरो सुगमको कलेज जीवनको सुरुवातमा नै नराम्रो झड्का खानु परेको थियो । स्कूल स्तरको अत्यन्तै राम्रो विद्यार्थी ऊ कलेज सुरु एक्लो भएको थियो । मर्निङ सिफ्टको क्लास सकिएपछि दिन भरि एक्लो हुने सुगमको खाली दिमागमा साच्चिकै शैतानले बास गर्न थालिसकेको थियो । प्राय जसो अफिसमा नै व्यस्त हुने उसको ड्याड् ममले पैसाको कमी हुन नदिएता पनि उसलाई चाहिने माया, ममता, हेरचाहमा कमी भएको गहिरो महशुस गरिसकेको थियो । त्यसैले गर्दा होला उसको मनमा ड्याड् मम् प्रति भित्र भित्रै नकारात्मक भावना उब्जिसकेको थियो । उसकै शब्दमा भन्नु पर्दा ‘आइ हेट माई ड्याड मम ।’

    घरमा एक्लै हुन्थ्यो सुगम, छरछिमेक आफ्नै तालमा मस्त थिए । यता ड्याड् मम् आफ्नै काम बस्त । कसैलाई परवाह थिएन उसको । पैसा दिन र नचाहिदो काम गर्दा गाली गर्न बाहेक फुर्सद पनि थिएन उसको ड्याड् ममलाई । तर पैसाभन्दा पनि आमाको स्नेहपूर्ण हेरचाह र त्यो न्यानो हातको स्पर्ष चाहिएको थियो उसलाई । उसले जे सोच्यो त्यो उसले कहिल्यै पाएन । र, कहिल्यै पनि सोधेनन् उसको ड्याडममले कस्तो छ तलाई भनेर ।

    आफ्नो मान्छेको मायाभित्र मानिस कति सुरक्षित महसुश गर्दछ ? भन्नु पर्दा संसारमा जुनसुकै शक्ति आए पनि लछारपाटो लगाउन सक्दैन । त्यस्तो माया सुगमले कहिल्यै प्राप्त गर्न सकेन । आफ्नै मान्छेको माया नपाउदा मान्छे साच्चै नै कमजोर बनेको थियो । त्यसैले उ निसास्सिएको थियो आफ्नै जीवनदेखि । बिरत्तिएको थियो आफ्नै संसारदेखि । एक्लिएको थियो आफ्नै मान्छेदेखि । अनि रित्तिएको थियो आफ्नै सपनादेखि ।

    नयाँ भविष्यको खोजि, जीवनको परिकल्पना, इच्छा, जोश–जाँगरका साथमा कलेज प्रवेश गरेको सुगम आजकाल घाइते मन लिएर कलेज धाइरहेको थियो । कलेजपछिको उसको गन्तव्य कहिले ठमेल, असनका गल्लि, भत्तपुरको पाटी पौवा हुन थालेका थिए । घर छाडेर दिनदिनै विना गन्तव्य भौतारिनु उसको दैनिकी भएको थियो आजकाल ।

    यो जिन्दगीको यात्रामा कहिलेकाही हृदयभित्र सम्झनाको ज्वारभाटाले खिचातानी गरिरहेका हुन्छन् । सुगमको जिन्दगीमा हृदय र मस्तिष्कको अन्तर द्वन्द्वको खिचातानी चलिरहेको थियो । मन दोधारमा थियो न त उसलाई बिग्रिएर हिड्ने मन छ, न त राम्रोसँग पढलेख गरेर ड्याड् मम् जस्तो ठूलो मान्छे बन्ने सोख छ । त्यसैले पनि ऊ स्वतन्त्र हुन नसकेर चेपिएको छ । जिन्दगीदेखि थिचिएको छ । र, बिना सपना बाँचिरहेको छ ।

    जिन्दगीको गोरेटोमा यात्रा गर्ने विवेक नभएको मान्छे पनि होइन । तर, जिन्दगीको उकाली कहिलेकाहीँ थकाई लाग्छ । थकाइ मेटाउन चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ । अनि आँखा चिम्लिएर सपनाको संसारमा हराउन मन लाग्छ । जिन्दगी भनेको उचाइमा पुग्नका लागि हो तर वास्तविकता भने अर्कै हुन्छ । हामी सधै जसो उचाइमा मात्र पुगिरहेका हुँदैनौँ कहिलेकाहीँ ओरालो पनि झर्ने गछौँ । आफ्नो अन्तिम लक्ष्यमा पुग्नै पर्छ । क्रियाशिल मानिसको जिन्दगी निर्मल आकाश जस्तो हुन्छ । हेर्दा त्यहाँ केही देखिदैन तर अदृश्य हृदयमा वायुमण्डलमा जस्तै सप्तरङग लुकिरहेका हुन्छन् ।

    अचेल सुगम जीवनको उचाइमा पुग्नुभन्दा पनि ओरालो लागिरहेछ । उसको मानसपटलमा सानो छदाको ड्याडममको मायाको धुलमिल यादहरु नाचिरहेका छन् । जव, वर्तमानमा आउँछ उसलाई सब ‘बकवास’ लागे छ । किनकि अब उसको हिड्ने बाटो बेग्लै छ । लक्ष्यबिहीन र गन्तव्यहीन यात्रा कहाँ ठक्कर खाएर चक्नाचुर हुने हो थाहा छैन । विरक्तिएर भौतारिदा भौतारिदै सुगमको घाइते मन अर्को ‘दुखी आत्मा’ सँग ठोक्किन जान्छ ।

    कथा एउटै, व्यथा एउटै, भावना एउटै, लक्ष्य एउटै, एउटा बकवास व्यक्तिसँग, अर्को बकवासको दोस्ती गज्जब ले जम्ने नै भयो । बिरत्तिएको मनलाई शान्त पार्न दुःख पीडा भुलाउन, दन्दनी दन्किएको मनलाई शान्त पार्न, शान्तसँग निदाउन, सुगमलाई नशाको जरुरत पर्न थाल्यो । दिन प्रतिदिन उ नशामा यसरी डुब्यो कि चुरोटको सर्कोले हुँदै गोट्टिसँग मितेरी लगाई सकेको थियो । नशामा मस्त भएर साथीहरुसँग ऊ कहिले रत्नपार्कमा लर्खराउथ्यो त कहिले असनमा भौतारिन्थ्यो । यसरी सधै जसो नशाम भौतारिने क्रममा कयौ रात ठमेलको कन्याहरुको दर्शन गर्न पनि पछि परेको थिएन ।

    भनिन्छ समय अत्यन्त बलवान हुन्छ । यही समयले मान्छेलाई रोगी बनाउदछ र यही समयले मान्छेलाई जोगी बनाउँछ । त्यस्तै पराईलाई आफ्नो बनाउँछ, राती आफ्नै छायालाई पराई बनाउँछ । सुगम आफन्तदेखि टाढा त छँदै थियो अचेल त उ आफैसँग हराउन थालेको थियो । उसलाई आफ्नै घर मसानघाट जस्तो सुनसान लागिरहेको थियो । सास फेर्न गाह्रो भइरहेको थियो । किनकि उ खुल्ला आकाशमा पँन्छि जसरी उड्न चाहन्थ्यो । मध्य रातमा गल्लीका कुक्कुरहरुसँग मस्त गीत गाउन चाहन्थ्यो । अनि नशामा लाठ्ठ भएर संसार जितेको सपना देख्न चाहन्थ्यो ।

    तर, उसको सपनाको संसारमा बाँच्नलाई पनि त पैसाको जरुरत पथ्र्यो । कुबेरको भण्डार त एकदिन रित्तिन्छ भने नाथे सुगमको ड्याड मम ले दिएको ‘पकेट मनीले’ कतिन्जेल थेग्थ्यो ? पैसाको चरम अभाव हुन थालिसकेपछि मोबाइल, घडी, ल्यापटप लगायत अन्य सामानहरु बेचेर भए पनि नशा लिनै पर्ने खतरनाक ‘एडिग’ भइसकेको थियो । अझ भनौ नसा बिना बाच्नै नसक्ने एकछिन पनि टिक्नै नसक्ने गोटी र सिरिन्जको लागि मर्न र मार्न पनि तयार उ बेहोसि भई सकेको थियो ।

    उसको अगाडि गायक शिव परिवारको गीत बेहोसीपछि होसमा आउँदा क्यादामी भयो फेल भएको थियो । उसलाई होसमा भएको बेला अलिकति पनि दामि लाग्दैनथ्यो । उ झल्झली कलेज, परिवार, आफ्नो भविष्य सम्झेर आफैँलाई गाली गर्दथ्यो । अनि लास्टै तनाब भयो भन्दै तनाब भुलाउनको लागी गल्ली गल्ली सिरिन्जको खोजिमा भौतारिन्थ्यो ।

    जीन्दगीको यात्रामा धेरै साथीहरु भेटिन्छन् तर भेटिएका सबैलाई आफ्नो मन मस्तिष्कमा राख्नको लागि कहाँ सकिन्छ र ? तर, कोही मिठो याद बनेर भने, कोही विश्वास घात गरेर आदगार बन्छन् । सुगमको जिन्दगीमा दुःखी आत्माले ठूलै विश्वास घात गरेको थियो । उसले नै सुगमलाई चुरोटको सर्को तान्न उस्काएको थियो ।

    उजाड मरुभूमिरुपी उसको मनमा डडेलो लगाउने काम उसले नै गरेको हो । सुगम विरत्तिएको थियो जीवनदेखि, निसास्सिएको थियो आफ्नै संसारदेखि तर उसलाई मायाको जरुरत थियो । सहयोगको जरुरत थियो । साच्चै भन्नुपर्दा उसलाई एउटा असल साथीको जरुरत थियो । जसले उसलाई विपद्मा सहयोग गरोस । असल र खराब छुट्याएर जीवनको मार्ग निर्देश गरोस् ।

    एक पछि अर्को गल्ती । लाग्छ, गल्तीहरुकै श्रङ्खला हो, जीन्दगी । गल्ती गर्दा गर्दै पुरा जीन्दगी रितिन्छ सुधार्नु त कता हो कता प्रायश्चीत गर्न पनि समय हुदैन मान्छेसँग । छोराको जीन्दगी पुरा तहसनहस हुँदासम्म थाहा थिएन सुगमका बाबुआमालाई । यतीसम्म व्यस्त छन् की उनीहरु सायद आफ्नो संसारलाई बिर्सिसकेका छन् । दिन प्रतिदिन सुगमको हालत खराब हुदै गएको थियो । नत उसँग अहिले पैसा नै छ नत साथी नै । तर नशा बिना एकपल पनि बाच्न सक्दैनथ्यो ।

    उसलाई लाग्दथ्यो उसले आफू मात्र होइन आफूसँग जोडिएको हरेक सम्बन्धहरुको भविष्यलाई अन्धकारमा धकेलेको छ । हुन त कुनै पनि एकतर्फी सम्बन्ध कहिले आत्मिय बन्न सक्दैन । एउटा हातले मात्र माया र स्नेहको ताली बज्दैन । अरुको माया पाउन आफूले पनि त माया गर्न जान्नु पर्दछ । अहिले आएर उसलाई भित्री मनदेखि नै पश्चाताप लागिरहेको थियो ।

    उसको सपना, चाहना र कल्पनालाई मात्रै होइन आफ्नो ड्याड्मम्को सपना, संसार र विश्वासलाई समेत चकनाचुर पारेको थियो । यती धेरै जीन्दगीको सपनालाई तुहाउनु भन्दा उ आफैंबाट टाढा हुन चाहन्थ्यो अनि यो संसार देखि पनि । किनकि उ टुटी सकेको थियो आफै देखि, आफ्नै बोझले थिचिरहेको थियो आफैलाई, सायद टाढा भैसकेको हुन्थ्यो होला आफ्नै जीवनदेखि ।

    तर मान्छेको मन न हो एक पछि अर्को आशाको त्यान्त्रोमा बाच्दो रहेछ । कयौं दुःख, कष्ट र संघर्ष केहि पाउने आशामा पार गर्दछ । सायद सानो आशाको त्यान्द्रोले होला अस्ताउदो सूर्य जस्तै पश्चिम तिर लागेको उसको पाइला एका एक टक्क अडिन्छन् । उ एकाएक अडिन्छ र सम्झन्छ ती अतितका दिनहरुलाई । स्विाकार गर्न सक्दैन उ आफ्नो वास्तविकतालाई । न त अगाडी बढ्न नै सक्छ नत घर फर्कन नै । त्यो कालो चिसो रात उसको लागि छोटो हुन्छ । तड्पिदै, छटपटिदै र बर्बराउदै गर्दा उसलाई बिहनीको सूर्यको न्यानो किरणले स्पर्ष गर्छ । गरुङ्गो भएको मन रातभर रोएर होला हलुका भएको छ । जेलबाट छुटेको कैदिलाई जस्तै दिनले स्वागत गरिरहेछ ।

    उसलाई एकाएक अतितको त्यो पल स्मृतिमा छट्पटाउन थाल्यो । सम्झदा मात्रै उसलाई धेरै पछि एउटा छुट्टै आनन्द महसुस भयो । अनी धेरै समय अगाडी मुसलधारे पानी परेको बेलामा कलेज बाट फकर्दा एउटै छानामुनी दुबै जना भिजेर गरेको वार्तालाप सम्झेर झसङ्ग हुन्छ ।

    युनिसाका साच्चै माया गर्थी सुगमलाई कती धेरै ग्रिन ‘सिग्नल’ दिदा समेत सुगमलाई बाल थिएन उस्को मायाको । सायद ऊ व्यस्त थियो आफ्नै संसारमा । मस्त थियो आफ्नै जीन्दगीमा । तर आज बारम्बार याद आइरह्यो त्यो दिनको । उसलाई के गरौ र कसो गरौ हुन थाल्यो । यत्रो समय भै सक्यो के भन्लि युनिसाले फेरि सोच्ला, दुविधा मान्दे फोन डायल गर्छ । जती–जती फोनको घण्टी जान्थ्यो । त्यतीत्यती उ झसङ् झसङ् हुन्थ्यो । साच्चै अचम्मको डर लागिसकेको थियो आज उसलाई । केहि क्षणको रिंगपछि उसको कानमा मिठो स्वर ठोकियो
    ‘हेलो’

     युनिसाले अझै पनि निकै माया गर्छे । हिजोअस्ति व्यर्थ लाग्ने संसार उसलाई रमाइलो लाग्न थाल्यो । भित्रभित्रै कुडिएको मन मायाको जादुले होला चङ्गा सरि फुरुङ्ग हुन थाल्यो । साच्चै विश्वास गर्नै गाह्रो छ । मृत्युको नजिक पुगेको मान्छे पनि यति धेरै खुसी हुन सक्छ र ? एउटै मान्छेले दुईओटा नशा एकै साथ लिएर अघि बढ्न सक्दैन क्यारे । उ युनिसाको मायाको नशामा डुब्न थाल्छ । अव उसलाई सिरिन्ज र ट्याब्लेटको त्यति धेरै जरुरत नै पर्दैन ।

    मायाको महासागरमा यति धेरै डुबिसक्दा पनि सुगमले युनिसालाई प्रेम प्रस्ताव राख्न सकिरहेको थिएन । कति कोशिस गर्दा पनि सक्दै सकेन, साच्चै हिम्मत नै आएन उसलाई, अनि उसले पुरानो जमानको जस्तै प्रेम पत्र लेख्न सुरु गर्यो यसरी ।

    अरुको नजरमा
    केहि हौँ ……
    या आंशिक हौ
    वा केहि पनि होइनौ ।
    तर मेरो नजरमा
    बाच्ने आधार ……
    मेरो संसार
    सबथोक हौ तिमी
    सबथोक हौ तिमी

    युनिसा म जस्तो व्याड, स्याड, लोन्ली र डिप्रेस मान्छेलाई साथी बनायौ । मेरो हेरचाह गर्यौ । अझ भनौ यो संसारमा पुनर्जन्म दियौ । सबभन्दा महत्वपूर्ण कुरा त भित्र भित्रै मरिसकेको मान्छेलाई बाँच्न सिकायौ । हाँस्न बिर्सिसकेको मान्छेलाई हास्न सिकायौ । साच्चि नै आभारि छु तिमी प्रति ……..

    केहि थिएन जीन्दगीमा पहिले
    केबल अर्थहिनता र निराशा
    नत थियो कुनै खुसी, न कुनै सहारा
    जब तिमी आयौ जीन्दगीमा
    लिएर दुनिया भरको प्यार
    मिठास त छायो जीन्दगीमा
    लाग्छ अब बदलिदै छ संसार

    हो……. युनिसा साच्चै माया गर्छु म तिमीलाई स्वार्थी नभन्नु मलाई बाँच्न सक्दिन म तिमिबाट टाढा भएर ।
    उही तिम्रो सुगम

    भनिन्छ बाँच्ने र मर्ने कुरा त भगवानले  माथिबाट नै फिक्स गरिदिन्छ मर्छु र मार्छु भन्ने कुरा न हो । सायद भावनाको महासागरमा डुबेर लेखेको प्रेमपत्र त्यस्तै त्यस्तै हुन्छ होला । यस्तो भित्री कुरा माया गर्ने मान्छेलाई मात्र थाहा हुन्छ । उसले मात्र अनुभव गर्छ माया प्रेमका दर्दनाक पीडाहरु ।

    प्रेम पत्र पाएपछि युनिसा त झन मख्ख पर्ने नै भई, ढुङ्गा खोज्दा देउता मिलेजस्तो भयो । हिजोसम्म कन्फ्युजमा प्रेम यात्रा गरिरहेका दुई यात्री आज खुसीले भित्रभित्रै गदगद थियो । प्रेम यात्रा झन झन झाङिदै गइरहेको छ । कसैलाई प्रवाह थिएन, भोली के हुन्छ भनेर । यति मात्र थाहा थियो छुटिएर अर्काबीना बाँच्न सक्दैनन् । घुम्ने डुल्ने क्रममा उनीहरु एकदिन यस्तो ठाँउमा पुग्दछन् । जहाँ बिशेष मायाप्रेम गर्ने जोडीहरु गरी जाने गर्दछन् । उफ् त्यो ठाँउ, त्यो संसार अनी ती दृश्यहरु साच्चै संकोच लागिरहेको थियो उनीहरुलाई, कोही गफ गाफमा नै व्यस्त कोही अँगालोमा बेरिएर चुम्बनमा मस्त युनिसा लाजले रातो पिरो भई । सुगमले उसलाई डोराउदै अलीकती शान्त ठाँउमा लिएर गयो ।

    सदा झै भावनाको कुरा, सपनाको कुरा, मनको कुरा जीवनको कुरा, अलीकती सुखका कुरा, अलीकति दुःखका कुरा, संघर्षका अनी माया प्रेमका कुरा गरेर उनीहरु मन हलुका पार्दै थिए । अकस्मात पानी पर्न थाल्छ । त्यो सिमसिमे पानीको उनीहरु भने एउटा छातामा ओत लाग्छन् । धेरै कुरा भइसकेको थियो । साच्चै केहि थिएन् बाँकी कुरा गर्नलाई कुरै कुरामा मन मिलिसकेको थियो । कता कता सुगमलाई भित्रभित्रै एउटा अनौठो मादकताले छोप्दै लगिरहेको थियो ।

    सायद वातावरण नै त्यस्तो भएर होला, युनिसाले पनि मौन स्वीकृति दिइसकेकी थिई । एकै क्षणमा उनीहरुको चार आँखा बन्द भए, दुई मुटु एक भए । अनी दुई शरीर एक भयो । सम्पूर्ण पर्खालहरु भत्किसकेका थिए । त्यो साँझ साच्चै बेहोसी भइसकेका थिए उनीहरु । अब ती सम्बन्धको पर्खालहरु जोगाउन कुनै जरुरी थिएन । बारम्बार भत्किन थाले ती पर्खालहरु, त्यसपछि प्रायजसो बेहोसी हुन थाले ।

    साच्चै जाँदु हुदो रहेछ, माया प्रेममा । सुगमको जीन्दगीमा पनि परिवर्तनको रेखाहरु स्पष्ट देखिन सुरु भइसकेको थियो । तर सुनौलो दिनहरुलाई कालो रातले स्वागत गरिराखेको हुन्छ । भेटिएपछि छुट्ने निश्चित छ । पारि क्षितिजमा हेर्दा त्यहाँ गएर सूर्य छुन सम्भव लागेता पनि वास्तवमा त्यो असंभव हुन्छ । के माया पनि यस्तै भ्रमहरुको यथार्थ हो त ? विश्व परिवेशमा एउटा भनाई चर्चित छ । “खाद्यान्न र पानी जस्तै यौन पनि प्राकृतिक आवश्यकता हो तर प्रत्येक यौन सम्पर्कले विवाहको लक्ष्य राख्दैनन्” ।अनी कता कता अन्तर आत्मामा एउटा प्रश्न गज्जबले घुमिरहन्छ । के प्राय किशोर किशोरीहरु प्रेमका नाममा भ्रमको खेती गरिराखेका त छैनन ? प्रश्न अनुत्तरित छ ।

    युनिसा अत्यन्तै खुसी थिई । किनकि उनको सपना पूरा हुदै थियो । उसले प्रत्येक रात देख्ने सपना संसारमा पुग्न लागि सकेको थिई । कहिले भावनामा डुबेर मख्ख पर्थी त कहिले कल्पनाको संसारमा नै रमाउन व्यस्त हुन्थे । किनकी अब उसको प्रतिक्षाको घडी सकिन लागि सकेको थियो । भित्र भित्रै उसको मन नाँचिरहेको थियो । वर्ष, महिना, हप्ता भन्दा भन्दै दिन गन्दा गन्दै अब त त्यो दिन आइसकेको थियो । त्यस दिनको व्यग्र प्रतिक्ष्यामा उ रातभर निदाउन सकेकी थिइन् । साच्चै कति धेरै चमक थियो उसको मुहारमा ।

    यता सुगम मिठो सपनामा सुन्दर भविष्य खोज्दा खोज्दै यति धेरै व्यस्त भएछ कि तिन दिन भइसकेछ युनिसालाई फोन नगरेको उ हत्तपत्त फोन डायल गर्छ । सायौ चोटी गर्छ तर लाग्दै लाग्दैन । अनी मनमा गरुङ्गोे भारी बोकेर, युनिसाको घर जाने बाटो तिर लाग्छ । किन किन आज उसको पाइलाहरु अघि बढ्न मानिरहेका छैनन् ।

    मनमा अनेक तर्क बितर्क गर्दै उ आफ्नो गन्तव्य तिर पाइला चालिरहन्छ । एकोहोरो भएर बाहिरी वाताबरणको प्रवाह नगरी । अकस्मात एउटा साथीले धाप मारेर बोलाउदछ । उ झसङ्ग हुदै झस्कन्छ । मानौ डरलाग्दो सपनाबाट बिउझिए जस्तो । अनी कानमा के फास् फुस् गरेर हातमा एउटा फोल्ड गरेको कागज थमाइदिन्छ । अकस्मात उसले केहि आँखा देख्दैन । संसार फन्फनि घुम्छ । अनी एउटा कुनामा गएर थच्च बसेर कागज पल्टाउदछ ।

    सबै बुझ्ने मान्छेलाई बुझाउन केही शब्द नै चाहिदैन । अति भयो लभ र रोमान्स अब म जीन्दगी सुरु गर्दै छु । मलाई लाग्छ तिमिले पनि यो यथार्थलाई स्विकार गरेर ‘गुडबाई फरेबर’ भन्छौ होला । तिमी सँग पनि मैले धेरै सपना देखेकै हो । तर संसार थिएन तिमी सँग संसार बिनाको सपना देखेर जीबनको यात्रा गर्नु साच्चिकै निस्साँसिदो, निरस र साँघुरो हुदो रहेछ । जहाँ सास फेर्न त के कोल्टे फेर्न पनि असम्भव हुन्छ । धेरै मान्छेहरु त्यो संसारमा पुग्न लालाहित छन् र संघर्ष गरिरहेका छन् । तर मैले त्यो अबसर सजिलै पाँए । गाह्हो होला तिमिलाई विश्वास गर्न ।
    म ग्रिनकार्ड होल्डर सँग बिहे गरेर सपनाको त्यो संसार अमेरिका जाँदै छु । तिमीले यो पत्र पाउदा सम्म पुगिसक्छु होला, धोकेबाज नभन्नु मलाई र दुःखी नहुनु किनकी छोटो जीवनमा धेरै यात्रा गर्नु छ । सायद अझैपनि मैले ‘टेक केयर’ भनी रहनु नपर्ला ।
    युनिसा

    पत्र पाइसकेपछि उसलाई चट्याङ परेजस्तो भयो । एकाएक धड्कन बढेर सास रोकिएला जस्तो भयो । किनकि उसको जीन्दगी तहस नहस हुने गरि महाभुकम्प गएको थियो । माया प्रेमको प्रतिक्षामा भौतारिदा भौतारिदै कहाँ पुर्यायो उसलाई मायाले । साच्चै यो माया त उ जस्तो अति संवेदनशील मान्छेको लागि तनाब उत्पादन गर्ने कारखाना बन्यो । पाउदा पनि तनाब दिने, नपाउदानी तनाब दिने । उ मनमनै गनथन गर्छ हिजो पनि सुपर साइको थिए आज पनि ‘सुपर साइको’ नै छु । कहाँ जाउ के गरु सबैको नजरमा गिरिसकेको मान्छे ।

    त्यो दिन धेरै रात छिप्पिसक्दा पनि उ निदाउन सक्दै सक्दैन । सदा झै मन र मस्तिष्कको अन्तर द्वन्द्वमा रुमल्लिरहन्छ । तर हातमा लाग्यो शून्य हुन्छ । तनाबले उसको सुख, चयन, भोक, निन्द्रा सबथोक खोसी सक्यो । मान्छेलाई तनाब बढीे र निन्द्रा कम भयो भने उसले केही सोच्न सक्दैन । अझ यस्तो बेलामा एक्लोपन असाध्यै खतरनाक हुने रहेछ । बिहान तिन बजे उ एक्कासी जुरुक्क उठ्छ, पूर्वबाट सूर्य उदाउने प्रयासमा थियो । अझ भनौ धेरै समय थियो उज्यालो हुनलाई, शून्य मन लिएर पाइलाहरु अस्ताउन लागेको सूर्य जस्तै पश्चिम तिर लम्कन्छन् ।

    घडीले बिहानको आठ मात्र बजाएको थियो । दिनले बिस्तारै मुस्कुराउने चेष्ठा गरिरहेता पनि आकाशमा लागेका कालो बादलहरु बादक बनिरहेको थियो । मान्छेहरुको दैनिकी भर्खर सुरु हुदै थियो । बाटोमा मोटरहरु गुडिरहेका थिए । कोही यात्राको सुरुवात गर्दै थिए त कोही गन्तव्यमा पुगिसकेका थिए । यता सुगमको घरमा भने एक्कासी खैला बैला मच्चिन्छ । रुवाबासी चल्छ एकै छिनमा भिड जम्मा हुन्छ । सबैको आँखाहरु उत्सुक देखिन्छन् तर घटना केही छैन । रातीदेखि हिडेको सुगम फर्किएको थिएन । अनी सबैभन्दा महत्वपूर्ण कुरा त एउटा कागजमा लेखिएका शब्दहरु थिए ।

    ममी…. ड्याडी…. म सानो छँदा हजुरहरुले धेरै माया गर्नु भयो । अक्षरहरु सँग मित लगाइदिनु भयो । आज मलाई यि अक्षरहरुले सहनै नसक्ने गरि नमज्जाले डस्छन् । सम्बन्धहरुको पहिचान र अर्थ बताईदिनु भयो । आज मलाई यिनै सम्बन्धहरुले उठ्नै नसक्ने गरि थिच्छन् । म बामे सर्दे गर्दा हात समाएर हिड्न सिकाउनु भयो । ठेस लागेर लड्दा उठ्न सिकाउनु भयो ।

    धन्य छु म तपाईहरुको माया प्रति तर आज पनि उठ्नै नसक्ने गरि ठेस लागेर लडेको छु । हिड्न त के बामे सर्न पनि सकिरहेको छैन । आज मैले बाटो बिराएको छु फेरि फर्कन नसक्ने गरि, तर आज मेरो हात समाएर हिड्ने मान्छे छैनन् मलाई समाल्ने कोही छैनन् ।

    साच्चै मलाई बाटो देखाउने कोही छैनन् । एक्लो एक्लो, रित्तो रित्तो, छु म यो विशाल संसारमा भित्री हृदय देखि नै क्षमा माग्दछु म तपाईहरुको लायक बन्न सकिन र नालायक भएर बाँच्न त झन सक्दै सक्दिन । फेरि पनि माफी माग्दछु किनकि म तपाईहरुको बुढेसकालको लाठी बन्न सकिन ।

    युनिसा ….. यतिबेला तिमी खुसीसँग मस्त हौली तिम्रो सपनाको संसारमा, केही गुनासो छैन तिमी प्रति किनकी मरि सकेको मान्छेलाई बाच्न सिकायौ । कति कोशिस गरे तिमीलाई भुल्न तर प्रत्येक सासमा तिम्रो याद आउदछ । अब तिमी नै भन तिम्रो याद रौकौ कि आफ्नै सास ? असम्भव छ तिम्रो याद रोक्न, न त तिमिलाई बिर्सन नै सक्छु न त सम्झेर बाँकी जीवन काट्न नै, हो म तिम्रो यादको रापले पल पल मरिरहको हुन्छु ।

    प्रत्येक पल मर्दै बाँच्नु भन्दा एकै चोटी मर्नु नै ठिक होइन र ? खुसी रहनु सधै भरि अब त पायौ होला तिमीले तिम्रो ‘गुड बाइ फरेबरको रिप्लाइ’ तिमिले नै सिकाएको हो नि ‘एभ्रिथिङ्ग इज फेयर लभ एण्ड वार’…….हो जीवनभरलाई पुग्ने गरि देखेका सपना र इच्छाहरु लाई प्रत्येक दिन भत् – भति पोल्ने गरि छाती भित्र जलाएको छु मसानघाटको मुर्दा जस्तै, तिमी नै भन म मसान घाटको मुर्दाभन्दा के कुरामा फरक छु ।

    सुगमको घरको भिड साम्य भएको थिएन मान्छेहरु झन झन बढ्दै थिए । कोही सहानुभुति देखाउदै थिए त कोही प्रश्न प्रति प्रश्नमा व्यस्त थिए । त्यतिकैमा साझ परिसकेको हुन्छ तर सुगमलाई भेटिदै भेटिदैन । मान्छेको भिड सँगै रुवाबासिको आवाज झन् झन् चर्किन्छ । त्यतिकैमा कता कता बाट खबर आउछ सुगमलाई भेटियो अनि त्यो भेट मोडिन्छ उतैतिर, त्यताको हालत पनि त्यस्तै थियो । गाडीको घाइघुँइ, मान्छेको भिड, पुलिसको मुचुल्का अनि फेरि त्यही रुवाबासी रात झन झन छिप्पिदै गएको थियो ।

    एउटा पुलमुनि सुगम धेरै दिनपछि मस्त निदाइरहेको भेटिएको थियो । निदाएर होला आज उसलाई निकै नै शान्त देखिएको थियो । भत्त भत्ति पोल्ने उसको छातीले शितलता पाइरहेको थियो । तनाबले दुख्ने टाउको ठिक भइसकेको थियो । निन्द्रा नलाग्ने आँखाहरु निदाइृरहेको थियो । उसलाई प्रवाह थिएन त्यो भिडको, त्यो आँसुको किनकि आज उ धेरै पछि मस्त निदाएको थियो ।कथा

    प्रतिकृया दिनुहोस्
    Loading...