Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/६ गते
    ४९६ पटक
    menuka-thapaकाठमाडौँ

    आज भोलि प्रत्येक पत्रपत्रिकामा यौनका समाचारहरु वा यौनव्यवसायका समाचारले पहिलेको भन्दा अलि बढि नै स्थान पाइरहेका छन् । जसले गर्दा आम पाठकले यसका बारेमा अझ बढि जानकारी पाएका होलान् भन्ने कुरामा आशा गर्न सकिन्छ । तर, यौन व्यवसायलाई वैधानिकताको वकालत गर्नु भन्दा पहिले यौन व्यवसाय भनेको के हो ? यसको कानुनी मूल्य र मान्यताहरु के–कस्ता छन् वा हुनसक्छन् ? यो व्यवसायलाई वैधानिकता किन र कस्का लागि ? भन्ने विषयमा नेपाली जनतालाई प्रष्ट पार्न सक्नुपर्छ ।

    यौन भन्ने शब्द साधारणतया सम्भोगको लागि मात्र प्रयोग गरिने हुनाले नेपालीहरु यसबारे चर्चा गर्न चाहदैनन् । यौन चाहना एउटा सामान्य शारिरिक प्रवृत्ति हो, यति हुदाँहुदै पनि हाम्रो नेपाली समाजमा यसका विषयमा त्यत्ति धेरै जानकारहरु छन् जस्तो लाग्दैन् । यो देश राजधानीमा बस्ने वा कुनै चर्चित शहरमा बस्नेहरुको लागि मात्र हैन । तसर्थ राजधानीमा बसेर कुनै पनि विषयमा, मुख खोल्नु भन्दा पहिला त्यो विषयका बारेमा यथेष्ट जानकारी हुनु जरुरी छ ।

    धेरै अगाडि नै चर्चा पाउनुपर्ने यो विषयले ढिलै भएपनि नेपाली समाजमा चर्चा हुनुलाई सकारात्मक मान्न सकिन्छ तर गहिरो अध्ययन एवम् अनुसन्धान बिना यहि नै ठिक हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । किनकि यौन व्यवसायी वा यौनकर्मी भन्ने बित्तिकै सबैको मानसपटलमा एउटी महिलाको आकृति हावि हुन्छ, जुन महिला वाध्यता एवम् विवशतताका कारण त्यहा“ सम्म धकेलिएकि हुन्छिन् भन्ने कुरा पर्दा पछाडी नै रहन्छ । एउटी महिला आर्थिक विपन्नताका कारण आफू र आफ्ना परिवारको पेट पाल्नका लागि यो पेशा अंगाल्न विवश हुन्छिन् भने उनको पुरुष ग्राहक घरमा भएका बालबच्चाको पेटमा लात हान्दै शारिरिक सुखको लागि जान्छ तर पनि पैसा तिरेर त्यस ठाउ सम्म धाउने ग्राहक (पुरुष) को चर्चा किन हुदैन ? जसले गर्दा वास्तवकि रुपमा मर्कामा परेका एव्म पितृसतात्मक सामाजिक संरचनाले हेपिएका एव्म चेपिएका नेपाली नारीको भावनामा ठेस पुग्न सक्छ भने सोझा सिधा महिलालाई उपयोग गरि आर्थिक लाभ लिने गिरोहले फस्टाउने मौका पाउदछ ।

    हालसम्म यस्ता व्यवसायमा अर्थात क्याविन रेष्टुरेन्ट, डान्सबार मसाजपार्लर एवम् गेष्ट हाउसहरुका नाममा जोखिममा परेका महिलाहरुले हाकाहाकी त्यहा भित्रका अवान्छनिय गतिविधिलाई नस्वीकारे तापनि विभिन्न संघसंस्थाको अध्ययन तथा प्रहरी प्रशासनको निरन्तर धरपकडको कारण बाहिरी आवरण एउटा भित्रि काम अर्कै भैरहेको छ भनेर बुझ्न गार्‍हो छैन तर त्यहाँ यौनजन्य गतिविधि भएकै आधारमा हचुवाका भरमा कुनै पनि कदम उठाइयो भने कालान्तरमा गएर उपयोगि नहुने देखिन्छ । झन् रेड लाइट एरिया दिने जस्तो अत्यन्तै संवेदनशिल विषयमा त यथेष्ट छलफल र सुझबुझ हुनैपर्छ ।

    मैले पनि १३ वर्ष देखि क्याविन, डाँन्स, मसाज लगायत विभिन्न स्थानमा जोखिमजन्य परिस्थितिमा कार्यरत महिलासँग काम गर्दै आइरहेकि छु र हालसम्म सयौं महिलाले वैकल्पिक बाटो मार्फत नया जीवन पाइरहेका छन् भने हजारौ महिला आफ्नो अधिकार एवम् जिम्मेवारीका विषयमा सुसुचित र जागरुक भैसकेका छन् । यो १३ वर्षको अवधिमा चौबिसै घण्टा यिनै दिदीबहिनीको बिचमा बसेर एकदमै नजिकबाट उनीहरुको भावना र परिस्थिति नियाल्दा आज सम्म मैले एकजना महिला त्यस्तो भेटाएकि छैन, जो स्वेच्छाले आफ्नो शरिर बेच्न तम्सियोस् ।यस्ता व्यवसायमा संलग्न भएका अधिकांश दिदीबहिनी मर्यादित र दिगो वैकल्पिक बाटोको खोजिमा लालायित छन् । हरेक पेशा तथा व्यवसायको आ–आफ्नै मर्यांदा हुन्छ र कुनै पनि पेशा अाफैमा नराम्रो हुदैन तर पेशा-व्यवसायको खोल ओढेर अमर्यादित कार्य कहि बाट हुन्छ भने निश्चय नै त्यसलाई निर्मूल पार्नुपर्छ ।

    त्यस्तै, प्रारम्भमा रेष्टुरेन्ट, गेष्टहाउस वा मसाज संचालन गर्नुपूर्व सञ्चालकहरुले जे काम गर्छौ भनी वाचा गरेका थिए, त्यसलाई विर्सिदा र सरकारी निकायबाट त्यसको अनुगमन तथा निगरानी नभईदिदा विस्तारै छाडापन भित्रिएको हो । जसले छाडापन भित्रियाे उसले कहिल्यै सजाए“ पाएन । बरु, बिहान बेलुकाको छाक टार्नको लागि त्यसलाई रोजगारीको रुपमा अंगाल्न विवश अनपढ, अशिक्षित, बेरोजगार एवम् निर्दोष महिलाहरु नै घरपरिवार, टोल, छिमेक हुदै राष्ट्रबाट नै उपेक्षित हुदै गईरहेका छन् ।

    रक्षा नेपाल नामक सामाजिक संस्थाले सन् २००९ मा गरेको अध्ययन अनुसार ९० प्रतिशत महिलाहरु क्याविन, डा“न्स, मसाजको पेशा त्यागी वैकल्पिक बाटोको माध्यमद्वारा पूर्नस्थापित हुन चाहेको देखिएको छ भने १० प्रतिशत यो पेशामा आइहालियो यसलाई नै व्यवस्थित बनाइओस् भन्ने चाहाना राख्छन् । तर व्यवस्थित भनेको कस्तो हो ? उनीहरु प्रष्ट छैनन् । संसारमा कुन चाहि त्यस्तो देश छ ,जहाँ ९० प्रतिशतको भावनालाई कुल्चिएर १० प्रतिशतको भावनालाई सम्बोधन गरिन्छ ? त्यसैले बहुमतको आवाजलाई प्राथमिकता नदिइकन नेपालमा रेड लाइट एरिया दिन थाल्ने हो भने भोली अर्को दुर्घटना ननिम्तेला भन्न सकिदैन ।

    यसको अर्थ रेड लाइट एरिया दिनै हुदैन, त्यो गलत हो भन्न खोजिएको हैन । यसका राम्रा र नराम्रा पक्ष भविष्यमा केलाउँदै जाउँला, मेरो आशय यो हो कि विभिन्न पेशा व्यवसायका नामबाट शोषित हुन परेपछि नै उक्त महिलाहरुले त्यो भन्दा राम्रो र सुरक्षित पेशा अपनाउन चाहिरहेका छन् । यदि त्यहि पेशा ठिक थियो भनेत किन उनीहरुले वैकल्पिक बाटो खोज्दै हिड्थे र ? तसर्थ तत्काललाई यस्ता विषयहरुलाई थाति राख्दै एउटा राष्ट्रिय बहस नै थालनी गर्नुपर्छ । जसरी आज राष्ट्रिय रुपमा नेपालको संघियताको स्वरुप कस्तो हुने भनेर बहस एवम् छलफल चलाइरहेको छ, त्यसैगरि नेपालको सन्दर्भमा यौन व्यवसायलाई वैधानिकता दिन हुन्छ कि हुदैन ? भनेर छलफल चलाउनु अपरिहार्य छ । यसरी राष्ट्रिय रुपमा छलफल थालिएको खण्डमा प्रत्येक नेपालीले यस बारेमा जान्ने अवसर पाउनेछन् र यथेष्ट जानकारी पश्च्यात छान्ने अधिकार निश्चित छ ।

    सबै भन्दा प्रमुख कुरा त रेड लाइट एरिया कस्को लागि र के का लागि ? भनेर ति महिलाले जान्न पाउनु पर्छ अनि मात्र उनले निर्णय गर्न सक्छिन् । निश्चय पनि रेड लाइट एरिया भन्ने बित्तिकै देहव्यापार हुने स्थल भन्ने बुझिन्छ र देहव्यापार भन्ने बित्तिकै एउटी अवसरबाट बञ्चित महिला हो भनेर बुझ्नुपर्छ । जो, अन्त केहि अवसरको खोजिमा भौतारिरहेकी हुन्छिन् र त्यो महिला तपाई हाम्रै दिदी, बहिनी, छोरी वा श्रीमती हुनसक्छिन् । यहि प्रसंगमा म सम्पूर्ण सचेत नेपालीलाई मेरो मनको प्रश्न राख्न चाहान्छु,

    कुन चाहि आमा, बुबाको चाहाना होला आफ्नी छोरीले शरीर बेचेर ल्याएको पैसाले सिटामोल खाएर बाँच्ने ? अनि कुन दाजुभाईको मन होला, दिदी बहिनीको शरीर बेचेर भएपनि मोजमस्ति गर्ने ?

    यस विषयमा प्रत्येक नेपालीले एकपटक ठण्डा दिमागले सोच्नै पर्ने हुन्छ । सतहि हिसाबले यो ठिक वा बेठिक भन्नु भन्दा पनि गहिरो अध्ययन अनुसन्धान गरि निर्णय लिनुपर्छ । रेड लाइट एरिया दिएर विकसित मूलुकले यो फाइदा गर्‍यो, उ फाइदा गर्‍यो भन्नु भन्दा पनि नेपाली मन लिएर र नेपाली माटोको परिवेश हेरेर नेपालको लागि रेड लाइट एरिया कत्तिको सान्दर्भिक छ ? जहाका जनता एक रुपैयाँको सिटामोल नपाएर असमयमै मृत्यूको मुखमा धकेलिएका छन् । २१ औ शताब्दीका हामी, स्वतन्त्रता, समानता एवम् मानवअधिकारका कुरा गछौ तर यहा शरिर बेचिन्छ एउटाको बेच्नको लागि वकालत गछौ अर्कोले ! अनि यसलाई चाहि मानव अधिकारको हनन भनिदैन ?

    १४ औ शताब्दी देखि यौनदास भएर जीविका चलाउन वाध्य नेपालकै वादी महिलाहरुले पनि २१ औ शताब्दिमा आएर यौन पेशाबाट मुक्ति मागी वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारलाई दवाव स्वरुप २०६४ साल भदौमा ४८ दिन सम्म ऐतिहासिक आन्दोलन गरेका थिए । उनीहरुको अर्धनग्न आन्दोलनले सरकारलाई चुनौती दियो र उनीहरुको माग माथि सम्बोधन गर्न कर लाग्यो । त्यो आन्दोलन न त राज्यका हरेक अंगमा ३३ प्रतिशत आरक्षण सुरक्षित गर्न थियो न त पुरुष बराबर अंश पाउनका लागि थियो । त्यो आन्दोलनले आम नेपाली महिलाहरु सरह आफ्नो अस्तित्व र गरिमा प्राप्तिको माग मात्र गरेको थियो ।

    यसरी सदियौ देखि यौन पेशालाई नै जिविकोपार्जनको प्रमुख श्रोत बनाउदै आइरहेका वादी महिला त यौन पेशा चाहिदैन भनि जुर्मुराइ रहेका छन् भने आन्तरिक रुपमा विस्थापित भएर तथा घरेलु हिंसाको सिकार भएर अनि गरिबि, बेरोजगारी र अशिक्षा लगायतका कारणले बाच्नकै लागि शहरमा अव्यवस्थित रुपमा खुलेका क्याविन रेष्टुरेन्ट, डान्स बार, गेष्ट हाउस एवम् मसाज सेन्टर सम्म धकेलिएका महिलाहरुको चित्कार, रोदन, वाध्यतालाई सम्बोधन नगरी उनीहरुलाई यौनव्यवसायिको परिचय दिइयो भने नेपाली समाजमा अर्को विद्रोहले जन्म लिनेछ, तसर्थ रेड लाइट एरिया दिने विषयमा हतार गरिहाल्नु हुदैन अन्यथा यसको मूल्य भारी पर्नेछ ।

    मेनुका थापा (अध्यक्ष) रक्षा नेपाल

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page