Media Dabali

  • Ad
  • डिबी खड्का प्रकाशित : २०७३/७/८ गते
    ४०६ पटक
    yubraj1काठमाडौँ।

    युवराज चौलागाईं पाश्र्वगायनमा जमिरहेका गायक हुन् । फिल्म ‘नोभेम्बर रेन’ को ‘तिमीलाई के भनूँ’ले उनलाई राम्रो चर्चा दिलायो । ‘तिम्रो डोला डोला हातमा’ र ‘हारेँ म हारेँ’ पनि उनका मन पराइएका गीत हुन् । तेक्वान्दो खेलाडी, रेस्टुरेन्ट व्यवसायी हुँदै गायनमा आइपुगेका चौलागाईंसँग डिबी खड्काले अन्तरंग कुराकानी गरेका छन् ।

    जुँगा लामो राख्नुहुन्छ । कुनै कारण छ कि ?
    पिताको प्रभावले जुँगा पाल्न थालेको हुँ । लामो जुँगा पाल्ने शाही पहिरनमा ठाँटिने उहाँको व्यक्तित्वको प्रभाव सानैदेखि परेको हुनुपर्छ । उहाँ समाजसेवामा पनि सक्रिय हुने भएकाले धेरैले सम्मान गर्थे । यसले भविष्यमा म पनि बुबाजस्तै हुनुपर्छ भन्ने लाग्थ्यो । किशोरावस्थादेखि नै कहिले जुँगा राख्ने र कहिले फाल्ने गरिरहेको थिएँ । गायक भएपछि धेरैले मलाई जुँगा सुहाउँछ भन्ने प्रतिक्रिया दिए । त्यसपछि काटेको छैन ।

    जुँगासम्बन्धी रोचक कुरा केही छन् ?
    केही हप्ताअघि दुबई जाँदा फ्लाई दुबईकी एयरहोस्टेसले मसँग तस्बिर खिचाउन चाहिन् । अरू पनि कलाकार थिए । मैसँग तस्बिर खिचाउन चाहनुको कारण मेरो जुँगा थियो । उनले ‘जुँगासँग तस्बिर लिएको र राम्रो छ’ भनिन् । यसरी जुँगाकै मात्रै प्रशंसक पनि भेटिन्छन् । विदेशका कार्यक्रममा जाँदा धेरैसँग परिचय हुन्छ, नाम केही छिनमा बिर्सिन्छन् तर जुँगे गायक भन्ने सम्झिएका हुँदा रहेछन् ।

    भनेपछि ‘जुँगे गायक’को पहिचान बनाउन मन छ ?
    मान्छेले नाम भन्दा पहिले उसको चित्र दिमागमा राख्छन् । अभिनेता भुवन केसीलाई जुँगा पाल्ने र डिंगो जुत्ता लगाउने हिरोका रूपमा चिन्ने धेरै छन् । मैले पनि त्यसै गरी चिन्थेँ सानोमा । म त प्लेब्याक सिंगर हुँ । गीत मैले गाए पनि फिल्मको कथासँगै गीत बग्ने भएकाले हिरोले नै गाएको ठान्छन् दर्शक । कसले गाएको थियो ? भन्ने सोधखोज गर्न जरुरी हुँदैन पनि । त्यसैले गायकहरूको भीडमा मेरो जुँगाले फरक देखाउन सक्छ । कलाकार भएपछि फरक त देखिनु नै छ । यसकारण पनि जुँगालाई आफ्नो ‘सिग्नेचर’ बनाउने निर्णय गरेँ ।

    तपाईं धार्मिक प्रवृत्तिको हुनुहुन्छ भन्ने सुनिन्छ । पूजाआजा खूब गर्नुहुन्छ रे ।
    आमाले सिकाएको संस्कार हो । बिहान उठेपछि भगवानको पूजाआजा  गर्नुपर्छ भन्नुहुन्थ्यो । हम्रो घर (चितवन) नजिकै ठूलो मन्दिर थियो । सबै पूजा गर्थे, मलाई पनि आमाले पूजा गर्न लगाउनुभयो । त्यो बानीका रूपमा विकास भयो । म कृष्णाष्टमीका दिन जन्मेकाले पनि पूजाआजा गर्नुपर्छ भन्ने छाप दिमागमा परेको छ । मेरो जन्मदिनमा बुबा कृष्णको जस्तै पहिरन लगाएर पूजा गर्नुहुन्थ्यो । अहिले पनि उठ्नेबित्तिकै घन्टी बजाएर पूजा गर्छु । जनै सधैँ लगाएको हुन्छु ।

    तपाईं तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो । खेल्न किन छाड्नुभयो ?
    मेरो दाइ ब्रुस लीका फिल्म खूब हेर्ने । दाइसँगै मैले पनि हेरेँ । मलाई ब्रुस लीजस्तै बन्ने रहर जाग्यो । दाइले तेक्वान्दो क्लासमा हालिदिनुभयो । सात वर्षजति खेलेँ । ब्ल्याकबेल्ट लिएँ । जिल्लास्तरीय प्रतियोगिता खेलेँ । साफ गेममा खेल्ने आकांक्षा थियो, पूरा भएन । त्यसपछि तेक्वान्दो खेल्न छाडेँ ।

    खेलाडी बन्ने सम्भावना सकिएपछि गायनमा लाग्नुभएको हो ?
    गायनमा त म सानैदेखि थिएँ । स्कुलमा पढ्दा शुक्रवार सरहरूले मेरा लागि महफिल जमाइदिनुहुन्थ्यो । फत्तेमान, भक्तराज आचार्य, नारायण गोपाल, नातिकाजीका गीत गाउनुपथ्र्याे । मलाई गायक नै बन्छ भनेर सबैले त्यतिबेलै भनिसकेका थिए । जिल्लास्तरीय कार्यक्रममा पनि गाएँ । सबैले प्रशंसा गर्थे । लाग्थ्यो, एउटा गीत रेकर्ड गराउनेबित्तिकै हिट भइहाल्छु, गायक बन्नु ठूलो कुरै भएन । त्यसैले यतातिर त्यति ध्यान दिइनँ । साफ गेमसम्म आफू पुग्ने सम्भावना नदेखिएपछि भने गायक बन्न काठमाडौँ आएँ ।

    गीत रेकर्ड गर्न आउनुभएको थियो काठमाडौँ ?
    गीत रेकर्ड गर्न आएको थिएँ तर त्यसअघि अलि–अलि सिकौँ जस्तो लागेर संगीत गुरु श्यामसुन्दर आचार्यकहाँ पुगेँ । त्यसपछि गीत रेकर्ड गर्नेबित्तिकै आफ्नै ब्रान्ड बनिहाल्ने भूत भाग्यो । मसँग गायक बन्नका लागि केही पनि छैन जस्तो भयो । गीत रकेर्ड गराउने रहर हापिदिएँ । लगभग पाँच वर्ष संगीत सिकेँ । त्यसपछि मात्रै गीत रेकर्ड गराउने आँट आयो । ‘यू फिल’ नामक एल्बम ल्याएँ । त्यसमा रहेको ‘मेरो मायालाई’ गीत स्रोताले मन पराए । ‘साँझ पख जब’ केही अवार्डको नोमिनेसनमा पनि पर्यो ।

    हिट हुन त त्यसपछि पनि १० वर्ष कुर्नुपर्यो है ?
    म धार्मिक प्रवृत्तिको मान्छे हुँ । त्यसैले कर्म र भाग्यको मिलन भयो भने मात्रै सफलता पाइन्छ भन्ने लाग्छ । कर्म र भाग्यको मिलन हुन मेरा लागि लामो समय लाग्यो । ती गीत हिट भएपछि हराउन पनि हराइनँ, अहिलेजस्तो हिट पनि भइनँ । थुप्रै कलेक्सन एल्बममा गाएँ । रिमेकको लहर चलिरहेका बेला रियाज म्युजिक ‘टुङ्नाको धुनमा’को रिमेकका लागि इन्द्रजीत मिजारको जस्तै बोल्ड स्वर खोज्दै मकहाँ आइपुग्यो ।  आफूले बच्चादेखि नै धेरै गुनगुनाएको गीत थियो त्यो । भगवानले जुराएकै आभास भयो  । यति एक्साइटेड भएर गाएँ कि २५ मिनेटमै रेकर्ड सकियो । सामान्यतया एक गीत रेकर्ड हुन एक÷डेढ घण्टा लाग्थ्यो । त्यो गीतले प्लेब्याकका लागि अफर आयो तर मैले गाएका गीत हिट भएनन् ।

    यही बीचमा हो रेस्टुरेन्ट व्यवसायी बनेको ?
    त्यसअघि दाइले पठाइदिएको खर्चले काठमाडौँमा बाँचिरहेको थिएँ । गीत गाउने अफर पनि आउन नछाड्ने तर हिट पनि नहुने अवस्थामा भविष्यका लागि केही सोच्नुपर्छ जस्तो लाग्यो । आरआर क्याम्पसको पछाडि आफैँले फास्टफुड चलाएँ । यसले मलाई संगीतमा संघर्ष गर्न सजिलो बनायो । पछि रेस्टुरेन्टका कारण संगीतमा समय दिन बाधक बनेको महसुस भएपछि बेचेँ ।

    करिअरको टर्निङ प्वाइन्ट ‘नोभेम्बर रेन’को  ‘तिमीलाई के भनूँ’ नै हो ?
    यो फिल्मको टिमले मलाई मुख्य गीतका लागि योग्य ठह¥यायो । संगीतकार ताराप्रकाश लिम्बू र फिल्मका निर्देशक दिनेश राउतले दिएको यो मौका मैले खेर जान दिइनँ । सक्दो राम्रो गाउने प्रयास गरेँ । यसैगरी यही टिमको दोस्रो फिल्म ‘क्लासिक’मा पनि मैले मुख्य गीत गाउने मौका पाएँ, त्यो पनि हिट भयो । जसका कारण अहिले पाश्र्वगायनका लागि मलाई सम्झिने बढेका छन् ।

    संगीतमा तपाईंका सपना अब पूरा भए ?
    म पाश्र्वगायनमा अहिले व्यस्त छु । तर, म एल्बमबाट गायनमा आएको हुँ । शास्त्रीय संगीतको विद्यार्थी हुँ । यसैले केही सपना छन्, संगीत क्षेत्रमा आफ्नो पहिचान बनाउने । ती बिस्तारै पूरा हुँदै जान्छन् । मान्छेले मलाई चिनून् भन्ने सपना अब पूरा भइरहेको छ । मैले आफ्नो करिअर र गीतसंगीतको सपना निदाउँदा पनि देख्छु । निदाएर देखिएको सपना पूरा हुन्छ तर ढिलो हुन्छ । जब पूरा हुन्छ, त्यसपछि यो सपना त मैले दुई वर्षअघि वा एक वर्षअघि देखेको थिएँ भन्ने लाग्छ ।

    गायक कसको प्रभावले भइयो जस्तो लाग्छ अहिले ?
    मेरी आमा तारादेवी र पुराना गायिकाका गीतहरू गाउनुहुन्थ्यो । मेरा दाइहरूको पनि निकै मीठो स्वर छ । उहाँहरू पनि गाउनुहुन्थ्यो । मैले जस्तो अवसर नपाएर गायक बन्न सक्नुभएन । घरपरिवारकै प्रभावले गायक बनेको जस्तो लाग्छ ।
    पछिल्लो समय धेरै अवार्ड पाउने गायकमा दरिनुभएको छ । कति पाउनुभयो अवार्ड ?
    अघिल्लो वर्ष आठवटा पाएँ । यो वर्ष चारवटा पाइसकेँ । शुक्रबार

    प्रतिकृया दिनुहोस्
    Loading...