Media Dabali

  • Ad
  • सुबिन भट्टराई प्रकाशित : २०७३/८/२२ गते
    १२७३० पटक
    subin-bhattraiकाठमाडौँ , २१ मङ्सिर

    सुन्दरे र मेरो मिसनै थियो— रामेश्वरको बिहेमा कोही न कोही केटी पट्याउने । त्यसैले हामी गिद्धे आँखा लिएर मिसनमा लागिपरेका थियौं ।
    मलाई बिहेमा जान मन पर्ने एउटै कारण थियो— राम्री केटी भेटिने सम्भावना ! अक्सर बिहेमा जाँदा मलाई यस्तो लाग्थ्यो— बिहेमा केटाकेटी एक–अर्काप्रति आकर्षित हुन्छन्, चुम्बकको नर्थ पोल र साउथ पोलजत्तिकै ।

    बिहेको माहौलमा मलाई मन पर्ने गीतमा नाचिरहेकी जुनसुकै केटी पनि राम्री लाग्थी । जो–जो केटीलाई म हेर्थें, तिनलाई पनि म ठीकठाक लागेको हुँदो हुँ । किनभने तिनीहरू लुकी–लुकी मस्किँदै मलाई हेरिरहेका हुन्थे ।

    तर, बिहेको स्यानो माहौलमा टुसाउन खोजेको अव्यक्त प्रेमले ठूलो आकार लिन कहिल्यै सकेको थिएन ।

    रामेश्वरको बिहेमा उसलाई पहिलोपल्ट देखेको । अरू केटीझैं उसले अनुहारमा धेरै लिपपोत गरेकी थिइन । न उसको शरीरमा थियो गर्‍हुँगा साडी वा लेहेंगा । न नाक, कान वा घाँटीमा झुन्ड्याइएको थियो सुनौला गहना । ऊ गुलाबी साडी र सुनौलो चोलोमा थिई । आँखामा कालो फ्रेम भएको चस्मा थियो । बिहेमा आएको होइन, स्कुल पढाउन जान लागेजस्ती देखिन्थी ऊ ।

    साडी जीउमा टमक्क मिलेको थियो । कपाल फुक्का छाडेकी थिई तर, कुमसम्म मात्र आउने । करिब ५ फिट ५ इन्च हाइट । लौकाजस्तै लरक्क परेकी । एकपटक ऊ निहुरिँदा उसको पनिरको ढिक्काजस्तो स्निग्ध पेटको भागमा मेरो आँखा पुग्यो ।

    ऊ जेरी र दहीको लाइनमा हुँदा म दस–पन्ध्र कदम पर प्लेटमा मासु र पुलाउ हालिरहेथें । मलाई प्लेट त्यहीँ छाडिदिएर जेरी र दहीको लाइनमा जान मन भयो, तर बिहानैदेखि पेट यति खाली थियो, केही नखाई उसको पछिपछि लाग्न मनले मानेन ।

    म प्लेट लिएर उसलाई प्रस्ट देख्न सक्ने टेबलमा गएर बसें । बीचबीचमा मनिसहरू ओहोरदोहोर गर्दा ऊ छेकिन्थी । भोक पनि उत्तिकै लागेको थियो । म कपाकप खान थालें । मासु र पुलाउ पेटमा पुग्न थालेपछि मभित्रको लभ हार्मोन, अक्सिटोक्सिन र भ्यासोप्रेसिनको मात्रा बढ्न थाल्यो ।

    म परबाट देखिरहेथें— अलिकति हावा चल्दा पनि फरफर गरिरहेथ्यो उसको साडीको आँचल । त्यति हलुका थियो । त्यति सिम्पल थिई ऊ ।
    ब्यान्ड बाजावालाहरू केही पर नेपाली फिल्मका गीतको धुनमा बाजा बजाइरहेका थिए । मलाई बिहेको मन नपर्ने कुरा चाहिँ यही थियो— बाजागाजा † प्याँप्याँ र प्वाँप्वाँको आवाज । यतिखेर बजिरहेको थियो, सिम्पल–सिम्पल कान्छीको… । के ब्यान्डवालाहरू उसैलाई हेरेर त्यही अनुरूपको गीतको धुन बजाइरहेका थिए ?

    गीत फेरियो । ब्यान्डवालाहरूले गाला रातै गाला रातै… गीतमा बाजा बजाउन थाले । कतै उसलाई हेरेर त बजाइरहेका छैनन् ? मेरा आँखा उसका गालामा पुगे । पिङ्क कलरको देखियो । रातो होइन रै’छ । ब्यान्डवालाको निसाना अन्तै कतै रहेछ ।

    उसलाई नजिकबाट हेर्न पाएको थिइनँ, तर टाढैबाट भए पनि ऊ भीडभन्दा अलग लागी, परीजस्तै लागी । घरीघरी ऊ पनि मतिर नहेर्ने होइन, तर जसै आँखा हाम्रो जुध्थे, उसले नजर मबाट हटाइहाल्थी । उसको छेवैमा जान अप्ठ्यारो लाग्यो, पर बसेर हेर्न खोज्दा भीडले उसलाई छेकिरहन्थ्यो । सुन्दरे वरपर हिँडिरहेको नियालिरहेको थिएँ । मैले हेर्दाहेर्दै उसले दुईवटी केटीसित बोल्न भ्यायो । धन्न, उसको आँखा मैले आँखा लगाएकी केटीमा परेको थिएन । नत्र सुन्दरेले ऊसँग पनि बोल्न भ्याइसक्थ्यो ।

    एकछिन ट्वाइलेट गएर फर्कंदा ती केटीलाई कतै देखिनँ । खोज्दै हिँडें । मानिसहरूको भीडभाड पन्छाउँदै । चारैतिर आँखा डुलाउँदै । न निक्लिसकी कि † यताउता कतैतिर देखिइन । हरेक केटीमा गएर आँखा अड्याउँथें, तर आँखाले लगत्तै धोका खान्थे । आँखाले धोका खाए पनि मनले हरेस खाएको थिएन । बिहेको जग्गेतिर गएर चार–पाँच फन्को मारें । हलमा खाना खाइरहेकाहरूको अनुहार चहार्दै गएँ । गेटमा गएर तीन मिनेट उभिएँ । गेटबाहिर पनि गएँ । परसम्म पुगेर फर्किएँ । ट्वाइलेट गै कि भनेर लेडिज ट्वाइटेलको सीधा अगाडि चार–पाँच मिनेट उभिए, तर अहँ उसलाई मैले देखिनँ ।

    ऊ मेरा आँखालाई तिख्र्याएर गएकी थिई । मुटुलाई रित्तो बनाएर गएकी थिई । धड्कनलाई जिस्क्याएर गएकी थिई । अक्सर यसरी नै गायब हुन्थे बिहेबाट केटीहरू । कहाँबाट आउँथे अनि कहाँ जान्थे, पत्तै हुन्नथ्यो । ब्यान्ड बाजावालाहरूले नाइँ नभन्नु ल बजाइरहेका थिए । केटी कहाँ अलप भैसकेकी थिई, केही भन्न पाएको भए पो ? के–को नाइँ नभन्नु ल ! ‘मनसुन’ उपन्यासको अंश’

     छुटाउनु भयो कि ?

    ३ करोड नेपालीका लागि दुखद खबर: नेपालमा फेरी ८ रेक्टर माथिको भूकम्प जानसक्ने खतरा

    बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

    नेता पाैडेलको प्रश्न, ‘संविधान संशोधन प्रस्ताव कसरी भयो राष्ट्रघाती ?’

    बिरामीको मृत्युपछि अस्पतालमा झडप, तीन प्रहरी घाइते

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page