Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२८ गते
    ७८४ पटक
    heart-attacks-618897काठमाडौँ ।

    विश्वमा मृत्युको प्रमुख कारणका रूपमा रहेको हृदयाघात एसियाली मुलुकमा पनि बढ्दो अवस्थामा रहेको छ । यसरी हृदयाघात हुने रोगीहरूको संख्या बढ्नुमा धुम्रपान तथा मधुमेह, उच्च रक्तचाप, मोटोपना आदि भए तापनि मौसमको बदलावले पनि हृदयाघातसँग सम्बन्ध राख्दछ । चिसो मौसममा हुने तनावका कारण मानिसका शरीरमा विभिन्न असर पर्छ । यसबाट हृदयाघात बढ्ने गर्छ ।

    तथ्यांकलाई आधार मान्दा पनि जाडो याममा हृदयाघातबाट हुने मृत्युदर गर्मीयाममा भन्दा ५० प्रतिशतले बढी हुने गरेको छ । जाडो मौसममा हृदयाघातका कारक तत्वहरू पनि स्वतः बढ्ने हुनाले मृत्युदर बढ्नु स्वाभाविक हो । तर, मौसमको प्रत्यक्ष असरले पनि हृदयाघात बढ्छ । ब्रिटेनजस्तो विकसित देशमा पनि २ डिग्री फरेनहाइट ताप घट्दा दैनिक दुई सयले हृदयाघात बढेको भेटिन्छ ।

    मौसमको असरले गर्दा हृदयाघातका हरेक जोखिम तत्वहरू जस्तै– उच्च रक्तचाप, धुम्रपान, अस्वस्थकर आहारा पर्ने गर्दछ । वातावरणको तापक्रम घट्दा शरीरमा एड्रिनालिन नामक पदार्थको मात्रा बढ्छ । यसबाट मुटुको कार्यभार बढ्न जान्छ । साथै, जाडोमा शरीरको तापक्रम कायम राख्न पनि मुटुले बढी काम गर्नुपर्ने हुन्छ । फलस्वरूप अक्सिजनको मात्रा अपर्याप्त हुन गई हृदयाघातको सम्भावना बढ्छ ।

    ब्रिटेनमा गरिएको अध्ययन अनुसन्धानअनुसार ५ मिलिमिटर मर्करी औसत रत्तचापमा वृद्धि हुँदा हृदयाघातको दर २१ प्रतिशतले बढ्ने हुन्छ । ठन्डी मौसमको प्रभाव मानिसले लगाइरहेको लुगा, उसले काम गर्ने र बस्ने घर–कोठाको तापक्रम आदिमा पनि निर्भर हुन्छ । त्यसकारण न्यानो लुगा लगाउने र काम गर्न बस्ने ठाउँलाई पनि न्यानो बनाएर राख्न आवश्यक छ । वैज्ञानिकहरूका अनुसार जाडो याममा विकिरणहरूको प्रभावले पनि केही हदसम्म हृदयाघात बढेको पाइन्छ ।

    जाडो मौसमको अप्रत्यक्ष प्रभाव मानिसले दैनिक खाने खानेकुराहरूमा पनि पर्ने गर्दछ । यो मौसममा चिल्लो खानाको सेवन केही बढी गर्ने गरिन्छ । यस समयमा बढी भोक लाग्ने र अरू वेलाभन्दा बढी रुच्ने पनि हुन्छ । त्यसकारण कोलेस्ट्रोल र वजन पनि बढ्ने हुन्छ । स्वस्थ मुटुका लागि शरीरमा भिटामिन डीको आवश्यकता पर्छ । यो सूर्यको किरणबाट प्राप्त गरिन्छ । घामको किरणको सम्पर्क नभएको अवस्थामा शरीरमा कोलेस्ट्रोल उत्पादन बढी हुन्छ ।

    त्यसकारण जाडो याममा बढी समय घाममा बस्नु र भिटामिन डीयुक्त खाना माछा, भटमास, दूध, अन्डा आदिको सेवन आवश्यक हुन्छ । भिटामिन डीको मात्रा जाँच गरी ट्याब्लेटमार्फत पनि सेवन गर्न सकिन्छ । ठन्डीको समयमा शारीरिक व्यायाम गर्न अल्छी लाग्नु स्वाभाविक हो ।

    त्यसमाथि जाडोमा मर्निङवाक जानु हुँदैन भन्ने भ्रामक कुराहरूले पनि जनमानसमा अनुचित स्थान पाएको देखिन्छ । सधैँ गरिरहेको व्यायाम एक्कासि रोक्दा हृदयाघात हुने सम्भावना बढेर जान्छ । तथ्यांकअनुसार व्यायाम बन्द गरिएको दुई–तीन हप्तामै हृदयाघातको सम्भावना बढ्छ । त्यसकारण गरिआएको शारीरिक व्यायाम छोड्नु उपयुक्त हुँदैन । धेरै चिसोमा नगई अलि घाम झुल्केपट्टि जानु राम्रो हुन्छ । अर्को जान्नैपर्ने जरुरी विषय भनेको सधैँ गरिरहेको व्यायामभन्दा एकैपल्ट धेरै व्यायाम गर्नु पनि राम्रो हुँदैन ।

    चुरोट सेवन पनि जाडोमा धेरै गर्ने गरेको पाइन्छ । जाडोमा प्रभातकालीन व्यायामसँग चुरोट सेवन गर्नु त झनै खतरनाक हुन्छ । जाडो मौसममा रगतमा रातो रक्तकण र प्लेटलेट्सको मात्रा बढ्ने हुन्छ । त्यसबाट रगतको बाक्लोपना पनि बढ्ने गर्दछ । इन्फ्लुएन्जा भाइरसको संक्रमण पनि जाडोमा बढ्ने गर्दछ । त्यसको संक्रमणबाट पनि रगतमा केही तत्वहरू बढ्छ, जसले रगत बाक्लो बनाउँछ । यसको असरबाट हृदयाघातको सम्भावना बढ्छ । यसबाट बच्न इन्फ्लुएन्जाको भ्याक्सिन लिनु उपयुक्त हुन्छ ।

    यी सबै तथ्यलाई मनन गर्दा जाडो महिनामा बढी सतर्कता अपनाउनुपर्ने हुन्छ । धुम्रपानलाई त्याग्न जरुरी छ । घरकोठालाई न्यानो राख्ने, न्यानो कपडा प्रयोग गर्ने, गरिआएको नियमित शारीरिक व्यायाम नछाड्ने, कष्टकर व्यायाम जाडो महिनामा नगर्ने, खानपिनमा विशेष ध्यान दिने गर्नाले प्रतिकूल मौसमबाट हुने हृदयाघातलाई न्यून गर्न सकिन्छ ।

    नयाँपत्रिकाबाट

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page