कलाकार र संगीतकर्मीको स्वास्थ्य उपचारसम्बन्धी प्रस्ताव ल्याउनुस् : गगन थापा — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२६ गते
    ३५९ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ ,२६ पुस ।

    स्वास्थ्यमन्त्री गगन थापाले संगीतकर्मी कल्याणकारी कोषलाई सहयोग पुग्ने गरेर कलाकारहरूको स्वास्थ्य उपचारमा राज्यले थोरै भए पनि सहयोग गर्ने बताएका छन् ।

    संगीत कला पत्रकार संघ र संगीतकार संघको संयुक्त टोलीसँग रामशाहपथस्थित मन्त्रालयमा सोमबार साँझ भएको भेटवार्ताका क्रममा कलाकारहरूको उपचार खर्चमा राज्यले थोरै भए पनि सहयोग गर्न तयारी रहेको थापाले बताएका हुन् ।

    भेटमा सहभागी संगीतकार सन्तोष श्रेष्ठले स्वास्थ्यमन्त्री थापासँगको भेटमा भएको कुराकानीबाट आफू उत्साहित भएको बताए । उनले कुराकानीका आधारमा कलाकार र संगीतकर्मीहरूलाई एउटा आधार बनाएर स्वास्थ्यमा राज्यबाट पाउने स्वास्थ्यसम्बन्धी सेवा पाउन सक्ने बताए ।

    संगीतकार श्रेष्ठले भने, ‘कलाकार र संगीतकर्मीहरू बिरामी पर्दा उपचार खर्च नपाएर समस्यामा पर्ने गरेको कुरा हामीले स्वास्थ्यमन्त्रीज्यूलाई जानकारी गरायौँ । उहाँले सबै कुरा सुनेपछि पहिला तपाईहरूको तर्फबाट प्रस्ताव तयार पारेर ल्याउनुस् । सल्लाह गरेर के गर्न सकिन्छ गरौँला । म छलफल गर्न तयार छु भन्नु भएको छ ।’

    संगीत कला पत्रकार संघका उपाध्यक्ष लोकराज अधिकारीले स्वास्थ्यमन्त्री थापासँगको कुराकानी सकारात्मक रहेकाले सरोकारवालासँग गृहकार्य गरेर छिट्टै स्वास्थ्यसम्बन्धी प्रस्ताव स्वास्थ्यमन्त्रालयमा लैजाने बताए । ‘कलाकारहरूका लागि उपचार खर्च सरकारले थोरै भए पनि ब्यहोर्ने भयो भने त्यो हाम्रा लागि धेरै ठूलो कुरा हुनेछ ।’

    संगीतकार संघले संगीतकर्मी कल्याणकारी कोषका लागि पहल गर्दै आएको छ । सो कोषमा रकम पनि संकलन हुँदै आएको छ ।संगीतकर्मीहरूको उपचार खर्चमा सहयोग गर्ने उद्देश्यसहित सो कोष स्थापना गरिएको संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषले बताए ।

    प्रतिकृया दिनुहोस्