संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन एमालेको चुनौति — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१७ गते
    २२३ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ ,१७ पुस ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारलाई संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन चुनौति दिएको छ। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधानको किटानी व्यवस्था विपरीत सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गराएको हेर्न आफूहरु आतुर रहेको टिप्पणी गरेका छ्न्।

    सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चाको साथ लिएर सोमबार संविधान संशोधन प्रस्ताव संसदमा पेस गर्ने तयारी गरिरहेको छ। महासचिव पोखरेलले आइताबार काठमाडौंमा प्रेस चौतारीले गरेको एक कार्यक्रममा बोल्दै संविधान संशोधन विधेयक संविधानको धारा २७४ को किटानी व्यवस्थाविरुद्ध रहेको उल्लेख गर्दै संवैधानिक व्यवस्था विरुद्ध सरकार आफै गएको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिए।  ‘अवाञ्छित किसिमले प्रस्तुत गर्न खोजिए प्रतिवाद गर्छौँ’, पोखरेलले भने।

    उनले सरकार कसरी संवैधानिक व्यवस्था विरुद्ध उभिँदो रहेछ भनेर हेर्न आफूहरु प्रतिक्षारत रहेको पनि स्पष्ट पारे। महासचिव पोखरेललले संविधानको रक्षा गर्दै देश र जनताको हितका लागि आफूहरु संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको प्रष्टिकरण पनि दिए। महासचिव पोखरेलले संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र भइरहेको आरोप पनि लगाए।

    उनले संविधान बन्न नदिने शक्तिहरुले नै संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र गरिरहेको जिकिर गरे। उनले निर्वाचन बाहेकका कुनै पनि विषयमा छलफल गर्न नसकिने अडान पनि दोहोर्‍याए।

    संविधान कार्यान्वयनका लागि सत्तारुढ दलहरु तयार भए आवश्यक छलफलमा बस्न सकिने बताए। महासचिव पोखरेलले सरकारले देश, जनता र संविधान विपरित संशोधन प्रस्ताव ल्याएकाले त्यसको विरोधमा २२ गते काठमाडौमा विरोध प्रर्दशन गर्न लागिएको पनि उल्लेख गरे।

    एमाले सहितका विपक्ष दलहरुले संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै सदन र सडक दुवै संघर्षलाई तीव्र बनाउँदै आएका छन्। सत्तारुढ नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच शुक्रबार विधेयक अघि बढाउने सहमति भएको थियो भने प्रधानमन्त्री र मोर्चाका नेताबीच शनिबार भएको बैठक पनि विधेयक अघि बढाउने निष्कर्षमा पुगेको थियो।

    संसद बैठक सोमबार बस्दैछ। एमालेले संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै महिना दिनदेखि सदन अवरुद्ध गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्