Media Dabali

राधा पोख्रेलको पत्र कुसुम बहिनी ! अर्चना पनेरु बनाउलान् !

पत्रिकाको ब्लोअपमा भन्दा तरकारीको भारी नै बेस

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२८ गते
८५१ पटक
radha-pokharelकाठमाडौँ

प्रिय बहिनी कुसुम ! मैले पनि थाहा पाएँ, तिमी  ११ मा पढ्दै गरेकी गोरखाको एउटा सामान्य किसानकी छोरी हौ ।  केही हप्ता अघिसम्म यो समाजका लागि गुमनाम थियौ तिमी । चर्चाको शिखरमा छौ अहिले । तिमी चर्चाको चुलीमा पुग्नको कारण यौवन फक्रदैं गरेको तिम्रो तस्बीर कसैले तिमीलाई पत्तै नदिई आफ्नो मिडियामा ब्यापार गर्नाले हो ।

तिम्रो तस्बीर छापिनु राम्रो हो । अनि तिम्रो पेसाको परिचर्चा हुनु झनै राम्रो हो । खुसी छु म पनि । तर, रातारात तिम्रो परिचय नै बदलिनुचाहिँ सायद राम्रो होइन । साँच्चै, पन्ध्र दिन नबित्दै तिम्रो परिचय बदलिएको छ । कुसुमबाट तरकारीवाली,तरकारिवालीबाट मोडल, हिरोइन खै के के ?

आफ्नो पौरखमा परिचय बन्नु र अर्काको कारण परिचय बदलिनुमा धेरै फरक हुन्छ । आफ्नो पौरखमा बनेको परिचय आफ्नो हो, अर्काको कारण बदलिएको परिचय अर्कैको हो । यति कुरा तिमी हामीले बुझ्न जरूरी छ ।

kusum-shrestha

                                                                               तस्वीर स्रोतः साप्ताहिक

कुसुम ! तिमीलाई एउटा कुरा सोध्छु है त । एउटा शुक्रबारे पत्रिकाले तिम्रो तस्बीर छापेर तिम्रो श्रमलाई सम्मान गरेको हो कि तिम्रो शारीरिक सुन्दरताको ब्यापार ? श्रमले पाएको सम्मान हो भने तरकारीको भारी बोकेको तस्बीर किन नछापेको ?त्यसको ठाउँमा  किन छापेको रंगिचंगी अर्धनग्न तस्बीर ? बहिनी ! के यो तिमीप्रतिको न्याय हो ? तिम्रो श्रमलाई गरेको सम्मान हो ?  कि तिमीमाथि हुन थालेको शोषणको सुरूवात ?तिमी नारी हुनु र राम्री हुनु तिम्रो अपराध हो ?

तीखो आवाजमा सुन्दैछु म आजकल- यो सबै कुसुमप्रति मिडियाको सहयोग हो । मिडियाले कुसुमलाई विज्ञापनको साधन बनाएको होइन । खै कसरी पत्याउँ म यस्ता जाली कुरा ? हेर बहिनी ! नारीप्रतिको शोषण आज पनि बिभिन्न प्रकृति र स्वरूपमा आ-आफ्नै शैलीसहित समाजमा प्रकट भइरहेका छन् । यो समाजमा आज पनि कसैको चित्कारमा मान्छेहरू मनोरन्जन लिइरहेका हुन्छन् ।

हाम्रो देशका कतिपय मिडियाहरू श्रमको सम्मानमा होइन, नारीको शारीरिक सुन्दरताको विज्ञापनमा लागिरहेका छन् । तिमीलाई थाहा होला नि, यस संसारमा सबभन्दा सुन्दर वस्तु भनेकै श्रम हो । श्रमको सौन्दर्यता अनुपम हुन्छ । अझ त्यसमा श्रम र शारीरिक सौन्दर्य घुलन भयो भने अतुलनीय हुन्छ । तिमीले तरकारीको भारी बोक्दै गरेको तस्बीर त्यसैको एउटा नमुना हो । कति सुन्दर देखिएकी छौ तिमी तरकारीको भारीसँग । वाह ! मसँग तिम्रो सुन्दरता वर्णनको लागि कुनै शब्दहरू छैन ।

कुसुम ! म पनि एउटी नारी हूँ । उमेरले तिमीभन्दा केही बर्ष जेठी । नारी सुन्दरताको ब्यापार कतिपय मिडियाहरूले कसरी गर्छन्, राम्रोसँग थाहा छ मलाई । तस्बीरको विज्ञापनबाट सुरूवात भएको सहयोग शरीरको ब्यापारमा लगेर टुंग्याउँछन् । भावुकता जीवनको एउटा पाटो हो, तर जीवनको यथार्थता अर्कै हुन्छ । र, त्यो निकै कठोर पनि हुन्छ । हामी नारीहरूले पनि यो सत्य स्वीकार गर्न सक्नु पर्छ बहिनी !

मैले सुनें अनुसार तिमी भविश्यमा नर्स बनेर बिरामीको सेवा गर्न चाहन्छौ । बाहिर चर्चा चले जस्तो न कि मोडल वा हिरोइन । आ-आफ्नो ठाउँमा सबै पेशा सम्मानित हुन्छ । मैले मोडल वा हिरोइन बन्नु नराम्रो भन्न खोजेकी होइन ।

कुसुम ! मान्छे आफ्नो मालिक आफैँ हो ।  कुन बाटो हिँड्ने ?आफ्नो बाटो हिँड्न मान्छे पूर्ण स्वतन्त्र छ र हुनु पर्छ । बस् मैले भन्न खोजेको त्यतिमात्रै हो । यात्रामा मान्छेलाई पक्कै पनि अरूको सहयोगको आवश्यकता पर्दछ । यात्रा आफूले गर्ने भए पनि एक्लै हिँड्नभने कठीन हुन्छ ।  तिमीलाई पनि सहयोगको जरूरत छ । तिमी नर्स पढ्न चाहन्छौ । अहिले जे भइरहेको छ, के यो तिम्रो हितमा छ ? यसले नर्स पढ्ने तिम्रो सपनालाई सहयोग पुर्याउँछ ? यदि म गलत छैनभने तिमीलाई सही बाटोमा हिँडाउनु भन्दा गलत बाटोमा कुद्न उक्साउनेहरूकै जमात पो बलियों देख्छु त ।

radha-pokharel

संयोग नै भनौं अहिले हाम्रो देशमा राष्ट्रपति, सभामुख र प्रधानन्यायधीस महिला हुनुहुन्छ । यो सबै नेपाली महिलाहरूका लागि गौरवको बिषय हो । उहाँहरूकै हाराहारीमा तिमी पनि चर्चामा आउनु राम्रो हो । तर चर्चा केका लागि ? सम्मानको लागि या विज्ञापनको  लागि ? तिमीलाई चर्चामा ल्याउनेहरूको नियत पनि सायद राम्रै थियोहोला । कसैको नियतमाथि शंका नगरौं । तर परिणाम कस्तो आइरहेको छ ? दुनियाँले बुझ्ने परिणाम हो, नियत होइन । परिणामले तिम्रो सुन्दरताको ब्यापार भएकै कुराको पुष्टि गर्छ । तै पनि यो बुज्रुक समाज किन बोल्दैन ? हाम्रा राष्ट्रपति, सभामुख र प्रधानन्यायधीस किन बोल्नुहुन्न ? कसैको सुन्दरताको ब्यापार गर्नु उसको मानवअधिकारको हनन होइन ?खोई कहाँ गए हाम्रो देशका मानवअधिकारवादीहरू ?

थोरै सामाजिक सन्जालको पनि कुरा गरौं । सूचना संचारको क्षेत्रमा सामाजिक सन्जाल एउटा अभूतपूर्व क्रान्ति हो । मान्छेलाई रातारात नायक र खलनायक बनाउन सामाजिक सन्जालको झन्नै निर्णायक भूमिका रहँदै आएको छ । तिम्रो सन्दर्भमा पनि यो कुरा लागू भयो । सामाजिक सन्जालमा एकाएक तिमी भाइरल बन्यौ । तिम्रो पुर्ख्यौली पेशा, तिमीले गर्दै आएको श्रम र तिम्रो भविश्यको सपनाप्रति मान्छेको खासै ध्यान गएन । उही तिम्रो शारीरिक सुन्दरतामा नै सबैको ध्यान केन्द्रीत भयो ।

आफ्ना फेसबुक पेजहरूमा मान्छेहरूले मोडल बन, हिरोइन बन जस्ता स्वार्थमिश्रित उपदेशहरू तिमीलाई दिए र दिइरहेकै छन् । पुरूषहरूले त यस्ता उपदेश दिए दिए, बिडम्बना महिलाहरूले पनि पुरूषकै हाराहारीमा उभिएर उपदेश दिइरहेका छन् । अझ पुरूषभन्दा एककदम अघि बढेर शरीरको विज्ञापन गरिदिएकोमा नारीहरूले गर्व गरिरहेका छन् । यो हामी नारीहरूको अज्ञानता हो कि, पुरूषको खेलौना हौं भन्ने मानसिकता ?

कुसुम बहिनी ! साँच्चै, के हामी पुरूषका खेलौना नै हौं त ? यदि होइनौं भने हामी जुनसुकै उद्देश्यले होस् पुरूषको मुखबाट नारी सौंन्दर्य वर्णनमा ब्यक्त गरिएका सुललित शब्दहरूमा किन लट्ठिन्छौं ? यो कमजोरीबाट हामी नारी कहिले मुक्त हुने ? तिम्रो तस्बीर खिच्ने मान्छे के नारी थिए ? सबैलाई थाहा छ उनी पुरूष थिए । तिमी उनलाई राम्रो लाग्यो रे, तिम्रो अनुमति बेगर तस्बीर पनि खिचे रे । ल यतिसम्म त ठीकै छ, अनि तिम्रो अनुमति बेगरै तस्बीरको ब्यापार गर्न पाइन्छ ? यही कारण तिम्रो जीवनमा केही दुर्घटना भएको भए, वा भोलि भयो भने कसले जिम्मा लिन्छ ? के यो अपराध होइन ? फेरि पनि हामी नारीहरू, तिनै ब्यक्तिमाथि बधाई वाणी बर्साइरहेका छौं । दण्डित गर्नु पर्नेलाई पुरस्कृत गरिरहेका छौं । यो हामीभित्र भएको दासी मनोवृत्ति नै हो ।

कुसुम बहिनी ! तिमी श्रमशील र सुन्दर छौ । उमेरले २० कटेकी छैनौ । उच्च शिक्षाको पहिलो खुड्किलो मात्रै टेकेकी छौ । अर्थात तिम्रो जीवन बल्ल सुरूवात भएको छ । तिमीसँग भविश्यका आफ्नै योजनाहरू छन् । आफ्ना नीजि सुन्दर सपनाहरू पनि होलान् । साथै, यस समाजको एक सदस्य हुनाको नाताले तिमीमाथि सामाजिक जिम्मेवारीहरू पनि हुने नै भयो । अझ महिला पनि भएकाले अरू थप जिम्मेवारीहरू थपिने नै भयो । विश्वास छ, तिमीबाट यी सब जिम्मेवारी निर्वाह हुने नै छ ।

जीवन आफूले सोचे जस्तो सरल रेखामा कहिल्यै हिँड्दैन, सधैं बक्र रेखामा हिँड्ने गर्छ । जीवनको लामो यात्रामा तिम्रो सपनासँग सौदा गर्न आउने स्वार्थी मनहरू सर्बत्र भेटिन्छन् । तर अप्ठेरोमा सहयोग गर्ने निस्वार्थी हातहरू अपवादमा मात्रै भेटिन्छन् ।

अन्त्यमा, एउटा कुरा सधैं ख्याल राख कुसुम, हाम्रो समाज एउटा अबोध किशोरीलाई रातारात अर्चना पनेरु बनाएर आनन्द लिन पनि लाज नमान्ने समाज हो । तिमी तरकारीको भारीमा जति सुन्दर देखिएकी छौ, त्यति सायद पत्रिकाको ब्लोअपमा देखिन्नौ । कुसुम बहिनी ! मेरो यो तिमीलाई कुनै अर्ति उपदेश होइन,तिम्रो भविश्य उज्वल र सफल रहोस् भन्ने शुभकामना मात्रै हो ।

उही तिम्री अपरिचित दिदी राधा पोख्रेल

प्रतिकृया दिनुहोस्
Loading...